दार्जिलिङका युवा संगीतकार अंकिता छेत्री र बिपासना योञ्जनले स्वीडेनको डालार्ना काउन्टीस्थित राट्भिकमा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय लोक तथा परम्परागत संगीत शिविर ‘एथ्नो स्वीडेन–२०२६’ मा भारतको प्रतिनिधित्व गर्दै दार्जिलिङको समृद्ध सांगीतिक परम्परा विश्वमञ्चमा प्रस्तुत गरेका छन्। दशदिने उक्त कार्यक्रममा विभिन्न देशका युवा कलाकारहरू सहभागी भई लोक, परम्परागत तथा विश्व संगीतका विविध शैली, संस्कृति र सांगीतिक अनुभव आदानप्रदान गरेका थिए।
जेनेसेस म्युजिकल्स इन्टरनेसनल (JMI) सँग आबद्ध यस अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीहरूले केवल प्रस्तोता (परफर्मर) मात्र नभई प्रशिक्षक (इन्स्ट्रक्टर) को भूमिकासमेत निर्वाह गर्दै आफ्नो सांस्कृतिक सम्पदा र संगीत परम्परालाई अन्य देशका कलाकारहरूसँग साझा गरेका थिए। यसले विभिन्न संस्कृतिबीच आपसी समझदारी, सहकार्य र सांगीतिक आदानप्रदानलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
अंकिता र बिपासनाले दार्जिलिङको सांगीतिक पहिचान झल्काउने दुई चरणको विशेष प्रस्तुति दिएका थिए। पहिलो चरणमा प्रख्यात नेपाली गायिका अरुणा लामाको कालजयी गीत ‘पोहर साल’ प्रस्तुत गरिएको थियो, जसले संघर्ष, आशा र जीवनको निरन्तरताको भाव व्यक्त गर्छ। दोस्रो चरणमा भने दुवैले संयुक्त रूपमा सिर्जना गरेको मौलिक संगीत प्रस्तुत गरेका थिए, जसमा भारतीय शास्त्रीय संगीत र समकालीन संगीतको प्रभावलाई कलात्मक रूपमा समेटिएको थियो। दुवै कलाकार दार्जिलिङस्थित लोरेटो कन्भेन्टका पूर्वविद्यार्थी हुन् र आ–आफ्नो क्षेत्रमा उल्लेखनीय पहिचान बनाइसकेका छन्।
बिपासना योञ्जन हाल उत्तर बंगाल विश्वविद्यालयमा अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छिन् भने अंकिता छेत्री गुरुग्रामस्थित एक संस्थामा निर्देशकका रूपमा कार्यरत छिन्। कार्यक्रमकै क्रममा उनीहरू स्वीडेनको ऐतिहासिक अल्फभेनगार्डेन, लेक्सान्डमा आयोजित विशेष सांगीतिक प्रस्तुतिका लागि समेत छनोट भएका थिए। दुवै कलाकारले दार्जिलिङको समृद्ध सांस्कृतिक तथा सांगीतिक सम्पदालाई विश्वसामु चिनाउनु आफ्नो दायित्व भएको बताउँदै आफ्नो यात्राले विशेषगरी पहाडका युवा प्रतिभा र महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।












