जयगाउँ, (निसं): निराशाको कालो बादललाई चिर्दै दलसिंहपाड़ा चियाबगान श्रमि कहरूको समूहमा खुशीको प्रकाश प्रवेश गरेको छ। यो बगान लामो तीन वर्षको अन्तरालपछि खुल्दैछ। बगानमा फेरि साइरन बज्नेछ। फेरि बगान व्यस्त हुनेछ। कारखानाका मेसिनहरू चल्नेछन्। बगान काँचो चियापातको सुगन्धले भरिनेछ। डुवर्समा एकपछि अर्को चियाबगान बन्द हुँदै गर्दा दलसिंहपाडा भने फ रि खुल्दैछ। नयाँ वर्षको यो उपहारले श्रमिकहरूमा खुसीको लहर छाएको छ। जानकारी अनुसार, श्रम विभागले मंगलवार अलिपुरद्वारमा त्रिपक्षीय बैठक बोलाएको थियो।
लामो बैठकपछि मालिकहरू अन्ततः बगान फेरि खोल्न सहमत भए। २०२३ मा पूजाअघि बोनस लिएर श्रमिकहरूको असन्तुष्टिका कारण दलसिंहपाडा चियाबगान बन्द भएको थियो। बगान लगातार तीन वर्षसम्म बन्द रह्यो, जसले गर्दा श्रमिकहरूको परिवारमा सन्नाटा छायो। बगानका लगभग ७० प्रतिशत श्रमिकहरू आफ्नो परिवारको पालनपोषण गर्न अन्य राज्यहरूका साथै भुटानमा पनि काम गर्न गए। बाँकी रहेकाहरूको मनमा एउटै आशा थियो, बगान एकदिन अवश्य खुल्नेछ। तर, समय लम्बिदै जाँदा श्रमिकहरूले आन्दोलन शुरु गरे।
तृणमूल र भाजपा श्रमिक संगठनहरूले एकत्रित भएर आन्दोलन गरे। श्रमि कहरूले एसियाली राजमार्ग पनि अवरुद्ध गरे। जिल्ला मेजिस्ट्रेट र श्रम विभागका कार्यालयहरू बाहिर बिरोध प्रदर्शन गरे।
अब लामो प्रतिक्षापछि चियाबगान खोलिने भएपछि श्रमि कहरूलाई यो कुनै चाडपर्व आएको अनुभूत भइरहेको छ। उनीहरू तीन वर्षदेखि कुनै पनि चाडपर्वमा खुशीले रमाएका थिएनन् ।
रीना गुरुङ नामकी एक श्रमिकले भनिन्, चाडपर्वमा अरूको घरमा बत्ती बल्दा, हाम्रो घर अध्यारो हुन्थ्यो। हामीले नानीहरूलाई नयाँ लुगाफाटा दिन सक्दैन थियौ। हामीले यसबीच नानीहरूलाई राम्रो केही खुवाउन सकेनौं। हामीले के भोग्यौ, त्यो हामीलाई मात्र थाहा छ। नयाँ वर्षले हामीलाई अमूल्य उपहार दिएको छ।
लामो समयदेखि चलिरहेको श्रमिक आन्दोलनपछि नयाँ वर्षको शुरुवातमा बगान खुल्दैछ उनीहरूको बहु मागहरू स्वीकार गर्दै। बगान बन्द भएका कारण पछिल्ला केही वर्षहरूमा धेरै श्रमि कहरू कामको खोजीमा अन्य राज्यहरूमा पलायन भएका छन्। श्रम विभागका अनुसार बगानमा श्रमिकहरूको संख्या हाल १२०० छ। तर उनीहरू बगान बन्द हुँदा अन्य राज्यहरूमा गएका श्रमिकहरू अब फेरि बगान फर्कने आशामा छन्।
बगान बन्द भएकाले श्रमिकहरूको आर्थिक अवस्था यति कमजोर भएको थियो कि उनीहरूले पर्याप्त खान पनि पाउँदैनथे। उनीहरूले जङ्गलबाट टिपेर ल्याएको सागपात उमालेर भातसँग खाने गर्थे। रुम्सा बीबी नाम गरेकी एक श्रमिकले भनिन्, हामी आफूले जे-जस्तो रूखा-सुखा खायौं, हाम्रा नानीहरूलाई पनि त्यही खुवायौं। यिनीहरूले धेरै दुःख भोगे। अब हामी नानीहरूलाई उनीहरूले चाहेको र आवश्यक सबै दिन सक्नेछौं।
चियाबगानका श्रमिक नेता मोहम्मद साजुले भने, मालिकहरूले नयाँ वर्षको पूजा अघि श्रमिकहरूको बाँकी बोनस रकम र होली अघि उनीहरूको बाँकी ज्याला भुक्तान गर्ने आश्वासन दिएका छन्। श्रमिकहरूको पैसा खेरो जाने छैन। श्रम अधिकृत गोपाल विश्वासले भने, हामीले लामो समयदेखि बगान खोल्न प्रयास गरिरहेका थियौं । अन्ततः यो खुल्दैछ। हामी पनि श्रमिकहरूसँगै खुसी छौं।












