Chhayantal Heritage Homestay
Chhayantal Heritage Homestay

पश्चिम सिक्किममा पर्यटनको आकर्षण “छायाँताल हेरिटेज होमस्टे”

Share this news

पश्चिम सिक्किमको बर्मेक र देन्ताम क्षेत्रको बीचमा, हिमालको हृदयमा अडिएको एउटा सुन्दर गाउँ छ — छायाँताल। हावामा चिस्यानको मिठास छ, हावासँगै कंचनजंगाको रुपेरी झल्को पर्खालमा खेल्छ, अनि टाढाबाट आउने यात्रुहरू त्यसै मोहित हुन्छन्। यही छायाँतालको ढोकामा, एक सामान्य किसान परिवारको घर अहिले “छायाँताल हेरिटेज होमस्टे”को रूपमा पर्यटकहरूका लागि प्रेरणाको नयाँ गन्तव्य बनेको छ जसका संचालक हुन् आर.बी. बिष्ट। एक दशकअघि सम्म यो घर गाउँकै पुरानो धरोहर मात्रै थियो — पुर्खाको सम्झनामा बाँकी राखिएको पुरानो बनावट, ढुंगाको भित्तो र काठको चौतारो। तर आज यही घरले स्थानीय पर्यटन, आत्मनिर्भरता र जैविक जीवनशैलीको नक्सा फेरिदिएको छ।
घरबाटै हिमाल दर्शनको सौभाग्य, छायाँताल हेरिटेज होमस्टेमा बस्ने जो कोहीलाई बिहानको पहिलो उपहार नै कंचनजंगाको दर्शन। घरको कौसीबाट सीधा देखिने हिमालको रुपेरी शृङ्खला, बिहानको सुनौलो उज्यालोमा झल्किएको दृश्य, यात्रुको मनमस्तिष्कमा स्थायी सम्झना बनाइदिन्छ। बिष्ट भन्छन् — “यहाँ आउने धेरै पाहुना हिमालका लागि आउँछन्, तर फर्कंदा उनीहरू हाम्रो माटोको स्वाद लिएर जान्छन्।”
घरेलु स्वाद र जैविक आत्मनिर्भरता छायाँतालमा आर.बी. बिष्ट मात्र होमस्टे चलाउने व्यक्ति होइनन्, उनी आत्मनिर्भर जीवनको दर्शन बोकेका किसान हुन्। उनको घुर्यान बाँझो छैन — जहाँ जहाँ नजर पुग्छ, त्यहाँ उत्पादन देखिन्छ। कोठेबारीमा अलैंचीको बगान, किवी खेती, ट्राउट माछा पालन, घरेलु कुखुरा पालन, र जैविक तरकारी खेती — यी सबै मिलेर उनले आफ्नो जीवनलाई एक सानो संसार बनाएका छन्।
पर्यटकहरूलाई उनले स्थानीय अन्न तुलफुल, गाउँमा उत्पादन भएका अन्न, अचार, बायन, अनि आफ्नै हातले पकाएको जैविक परिकार खुवाउँछन्। यहाँको खाना केवल स्वादको कुरा होइन, यो परम्परा, श्रम र आत्मसम्मानको कथा हो। परिवारकै परिश्रम, पाहुनाको मुस्कान, छायाँताल हेरिटेज होमस्टेमा चार जनाको परिवारको संयुक्त परिश्रमको कथा लुकेको छ।
आर.बी. बिष्टका श्रीमती मीना बिष्ट घरको सम्हालक, पाककलाकी माहिर हुन्। उनले आफ्नै हातले बनाएको अचार, अन्न, बायन र परिकारले पर्यटकको मन जित्छ। छोरा पारस बिष्ट पढाइसँगै आमाबाबुको व्यवसायमा हातेमालो गर्छन् — पाहुनाको स्वागतदेखि अनलाइन बुकिङसम्म उनी नै हेर्छन्। छोरी प्रशान्ती बिष्ट पढाइमा व्यस्त भए पनि पाहुनाको आगमनले गर्दा घरमा रमाइलो थपिन्छ। बिष्ट परिवारको घरमा चुलोमा आगो फुकाएर बनाइने खानाको स्वादले पाहुनाको हृदय छुन्छ। यहाँ आउने पाहुना केवल हिमाल हेर्न मात्र होइन, “घरको माया” अनुभूत गर्न आउँछन्। पुरानो धरोहरमा नयाँ जीवन लुकेको छ।
छायाँताल हेरिटेज होमस्टे केवल आधुनिक सुविधा भएको निवास होइन। यो हो संस्कृति र आधुनिकताको मिलनबिन्दु। घरको बनावट अझै पनि पुर्खाले बनाएको ढुंगा–काठको संरचना नै हो — जसले सिक्किमको पुरानो वास्तुकला जोगाइराखेको छ। घर वरिपरि फुलबारी, बगैँचा र हरियालीले गर्दा यहाँको वातावरण शान्त र ताजा रहन्छ।
“हामीले नयाँ भवन बनाउने सोच्यौं, तर पछि लाग्यो — पुरानो घर नै हाम्रो सम्पत्ति हो,” आर.बी. बिष्ट सम्झिन्छन्। त्यसैले उनले घरलाई नतोडी, पुनः मर्मत गरी, स्थानीय ढुंगा र काठको सौन्दर्य जोगाएर पर्यटकका लागि उपयुक्त बनाएका छन्। जसमा पर्यटनसँगै कृषिको सम्मिश्रण छ।
छायाँतालको यो घर अहिले केवल बसोबासको स्थान होइन, सीप र श्रमको प्रदर्शन केन्द्र पनि बनेको छ। पर्यटकहरू यहाँ हिमाल हेर्न मात्र होइन, किवीको बगान हेर्न, ट्राउट माछा फार्ममा जान, अनि बिष्ट परिवारको जैविक खेती सिक्न पनि आउँछन्।
आर.बी. बिष्ट भन्छन् — “पर्यटन भनेको केवल पाहुनालाई कोठा दिनु होइन, हाम्रो जीवन देखाउने माध्यम हो।” त्यसैले उनी पाहुनालाई गाउँ घुमाउँछन्, यहाँको प्राकृति सौन्दर्यता वन अनि वन्यजन्तुको कथा सुनाउँछन्, अनि स्थानीय बोटबिरुवा चिनाउँछन्।
छायाँतालमा आत्मनिर्भरताको उज्यालो छ। आज छायाँताल केवल एउटा गाउँ होइन — यो आत्मनिर्भरता र सम्भावनाको जीवित उदाहरण हो। आर.बी. बिष्टले देखाएका छन् कि गाउँमै बस्दा पनि सफलता, सन्तुष्टि र स्वाभिमान आर्जन गर्न सकिन्छ। उनका जस्तै युवाहरू अहिले गाउँ फर्किन थालेका छन्, कृषि, होमस्टे र पर्यटनमा नयाँ सम्भावना खोज्दै। छायाँतालको बिष्ट परिवारले देखाएको बाटो गाउँका लागि दिशानिर्देश बनेको छ
जहाँ पाहुनाले कंचनजंगाको रूप मात्र होइन, माटोको सुगन्ध र श्रमको गरिमा पनि महसुस गर्छन्। आजबाट दशकौंपछि जब मानिसहरूले सिक्किमको ग्रामीण पर्यटनको इतिहास पढ्नेछन्, त्यहाँ एउटा नाम अवश्य रहनेछ —आर.बी. बिष्ट, जसले छायाँतालको बाँझो भूभागमा जीवनको नयाँ अध्याय लेखे। त्यो अध्यायको शीर्षक हो — “बदलियो सम्भावनाको मानचित्रमा — छायाँताल।”।
–केएन शर्मा, गेजिङ, पश्चिम सिक्किम।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ