जोश र हौसलाले बनेका च्याम्पियन चन्द्रकुमार

Share this news

युवा दर्पण 

सञ्जय प्रधान

आर्म रेस्लिङ अर्थात पञ्जा लड़ाइँ केवल बलको होइन, संयम र कौशलको पनि खेल हो। यसको इतिहास करिब दुई हजार वर्ष पुरानो मानिन्छ। इजिप्टमा करिब २००० ईसा पूर्वका गुफा चित्रहरूमा यस खेलको प्रारम्भिक रूप देखिन्छ, जसले मानव सभ्यताकै आरम्भदेखि शक्ति र प्रतिस्पर्धाको प्रतीक बनेको संकेत दिन्छ। विश्‍वका धेरै देशमा यो खेल विकसित हुँदै आज आधुनिक प्रतिस्पर्धाको स्वरूप लिएको छ। सिक्किम, दार्जीलिङ हिमाली भेकमा भने यो खेलले प्रतियोगिताको रुपमा भर्खरै मात्रै उचाइ लिन थालेको छ। यही यात्रामा एउटा नाम विशेष रूपमा उभिएको छ-चन्द्रकुमार छेत्री। ५८ वर्षको उमेरमा पनि सिक्किमका लागि राष्ट्रिय मञ्चमा पदक जितिरहेका उनी इच्छाशक्ति र प्रेरणाको प्रतीक बनेका छन्।

‘‘खेलकुदले व्यक्तित्व विकास गर्छ, यसैलाई करियर बनाउन पनि सकिन्छ। खेलकुदले आफूलाई राम्रो बनाउँछ’’

स्व. सागरनन्द छेत्री र स्व. गंगामाया छेत्रीका छोरा चन्द्रकुमार अहिले राष्ट्रिय स्तरका आर्म रेस्लिङ खेलाड़ी हुन्। उनी सानो हुँदा खेलकुदमा खासै सक्रिय थिएनन्, हाई जम्प, लङ्ग जम्पहरू भने गर्थे। सानो केटौले हुँदा आफ्नै जन्मथलो दक्षिण सिक्किमको नाम्ची सिङ्गीथाङस्थित गाउँ डम्बु डाँड़ामा साथीहरूसित पञ्जा लड़ाई खेल्थे। नाम्ची सिनियर सेकेन्डरी हाई स्कूलमा पढ़्दा पनि साथीहरूबीच यस्तै खेल हुन्थ्यो। त्यतिबेला कुनै दिन यसै खेलको राष्ट्रिय स्तरमा मेडल जित्छु भन्ने कल्पना गरेका थिएनन्।

आर्म रेस्लर चन्द्रबहादुर छेत्री।

आफ्नो अध्ययन सकेर दिल्लीमा निजी कम्पनीमा काम गरे। सन् १९८६ मा सिक्किम पुलिसमा नोकरी पाएपछि सिक्किम नै उनको कर्मथलो बन्यो। संगीतमा पनि सक्रिय भएका हुनाले पुलिस ब्याण्डमा उनले ट्रोम्बोन बजाउँथे। हालमा उनी पुलिस रिजर्व लाइनमा सब-इन्स्पेक्टर हुन्। व्यस्त कार्यको बीचमा पनि खेलकुदका लागि समय निकाल्छन्। ४३ वर्षको उमेरदेखि जिम जान थाले। पञ्जा लड़ाइँ खेलाड़ी बन्नुअघि उनी स्ट्रेन्थ, वेट र पावर लिफ्टिङका खेलाड़ी हुन्। स्ट्रेन्थ लिफ्टिङमा उनले अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरेका छन्।

सन् २०१७ मा गान्तोकमा आर्म रेस्लिङ प्रतियोगिता हुँदैछ भन्ने सुनेर चन्द्रकुमार पनि पहिलोपटक भाग लिन पुगे। त्यतिबेला उनलाई यस खेलको खासै ज्ञान थिएन। तर खेलेरै गोल्ड मेडल र पाँच हजार रुपियाँको पुरस्कार जिते। सन् २०१८ मा पनि राज्यस्तरमा गोल्ड मेडल जिते। यस जितले उनलाई उर्जा दियो। त्यसपछि उनी राष्ट्रिय प्रतियोगिताका लागि दिल्ली पुगे। मेडल त पाएनन्, तर छैटौं स्थानमा आए। सन् २०२३ मा पश्‍चिम सिक्किमको गेजिङमा भएको राष्ट्रिय प्रतियोगितामा काँस्य पदक जिते। यसमा ११ राज्यले सहभागिता जनाएको थियो।  ५८ वर्षको उमेरमा पनि उनी शारीरिक रूपमा गठिला, खँदिला छन्। ६० वर्षमा नजिकिँदै गर्दा पनि सिक्किमका लागि मेडल भित्र्याइरहेका छन्। यही वर्ष २९ जुलाईदेखि १ अगस्तसम्म गुवाहाटीमा भएको ‘४२औं नेशनल आर्म रेस्लिङ च्याम्पियनशिप २०२५’ मा उनले रजत पदक जिते।

पञ्जा लड़ाईको खेल उनले सन् २०१७ देखि शुरु गरेका हुन्। तर स्ट्रेन्थ लिफ्टिङमा भने उनी अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी हुन्। सन् २०२० मा ब्याङ्ककमा भएको स्ट्रेन्थ लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईवटा स्वर्ण पदक जिते भने सन् २०२३ मा काठमाड़ौंमा भएको प्रतियोगितामा रजत पदक जिते। राष्ट्रिय प्रतियोगिताहरूमा उनले महाराष्ट्र, उत्तर प्रदेशलगायत राज्यहरूबाट पनि पदकहरू जितेका छन्। उनी नियमित जिम जान्छन्, शरीरलाई सुगठित र दिमागलाई ताजा राख्छन्। पञ्जा लड़ाईमा मणिपुर, असमका प्रतियोगीहरू कड़ा प्रतिद्वन्दी हुने उनी बताउँछन्। आफूभन्दा १० वर्ष कान्छा बलिया युवाहरूलाई पनि उनले पराजित गरेका छन्। यो खेल बढ़ीमा चार मिनेट लामो हुन्छ, र यसमा शरीरको सम्पूर्ण शक्ति लगाउनुपर्छ। प्रतियोगितामा एक दिनमा यस्तै तीनदेखि चारजनासित खेल्नुपर्छ।

चन्द्रकुमार भन्छन्, ‘‘अहिले सिक्किममा आर्म रेस्लरहरू राम्रा हुँदै गइरहेका छन्। अहिले यो खेल बुझ्न थालेपछि धेरै अघि आएका छन्। यो अहिले स्पोर्ट्समा गाभिएको छ’’, उनी भन्छन्, ‘‘पञ्जा लड़ाईका लागि ठूलो शरीर मात्र पर्याप्त हुँदैन। हातमा ताकत हुनुपर्छ, शरीरको शक्ति हातमा लगाउनुपर्छ र टेक्निक चाहिन्छ।’’ उनी आर्म रेस्लिङका नेशनल रेफ्री पनि हुन्।  उनी भन्छन्, ‘‘आर्म रेस्लिङ अहिले नयाँ खेल हो। सरकारले यसमा चासो लिँदैछ। वर्तमान मुख्यमन्त्रीले खेलकुदमा विशेष ध्यान दिइरहेका छन्। भारतका धेरै राज्यहरूमा यो खेल लोकप्रिय बन्दै गएको छ।’’ स्ट्रेन्थ लिफ्टिङसँगै आर्म रेस्लिङमा उनको रुचि बढ़्दै गएको हो। इण्डियन आर्म रेस्लिङ फेडरेसनबाट सम्मानित चन्द्रकुमारले आफ्ना प्रशिक्षक पेमा भोटियाबाट दुवै खेलमा प्रेरणा र मार्गदर्शन पाएको बताउँछन्।

५८ वर्षको उमेरमा पनि २५-३० वर्षकै युवाजस्ता जोशिला छन्। पुलिस विभागबाट सिक्किमका डीजीपी अक्षय सचदेवको बाहुलीबाट सम्मानित र पुरस्कृत भइसकेका छन्। उनी स्ट्रेन्थ लिफ्टर र पञ्जा लड़ाकु मात्र होइनन्, असफलताले निराश भएका युवाहरूका लागि हौसला हुन्। उनी भन्छन्, ‘‘धेरैले पढ़्छन्, पढ़िसकेपछि काम पाउँदैनन्-डिप्रेशनमा जान्छन्। कुनै खेलकुदमा सहभागी बने वा जिम जान थाले राम्रो हुन्छ, अनि डिप्रेशन हुँदैन।’’

उनी अझ भन्छन्, ‘‘खेलकुदले व्यक्तित्व विकास गर्छ, यसैलाई करियर बनाउन पनि सकिन्छ। खेलकुदले आफूलाई राम्रो बनाउँछ, राज्यको नाम पनि हुन्छ र सरकारबाट सहुलियत पनि पाइन्छ।’’ आर्म रेस्लिङ, स्ट्रेन्थ लिफ्टिङ, वेट लिफ्टिङ खेल्ने उनी अझै पूर्ण जोश र उर्जामा छन्। उनी भन्छन्, ‘‘राम्रो टेक्निक र बल भए ७० वर्षकाले पनि पञ्जा लड़्न सक्छन्।’’ खेलकुदमा योगदानको कदर गर्दै यस वर्ष मार्चमा गुवाहाटीमा उनलाई नेशनल स्पोर्ट्स अवार्डले सम्मानित गरिएको छ।

यी खेलहरूलाई युवा पुस्तामा प्रचलित बनाउन पनि उनी लागिरहेका छन्। ५८ वर्षको उमेरमा पनि चन्द्रकुमार छेत्रीले देखाएका छन्-उमेर होइन, इच्छाशक्ति ठूलो कुरा हो। उनी पदकभन्दा बढ़ी प्रेरणा हुन्।


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ