नेपाली चलचित्रकी ब्लकबस्टर नायिका “मिनाक्षी आनन्द”

Share this news

नेपालबाट निर्मित नेपाली चलचित्रका नायिकाहरूको बारेमा कुरा गर्ने हो भने ब्लकबस्टर नायिका “मिनाक्षी आनन्द” को बारेमा केही कुरा गर्नै पर्छ। यीनले जम्मा तीनवटा नेपाली चलचित्रमा नायिकाको रुपमा अभिनय गरिन, अनि तीमध्ये दुइवटाले अभूतपूर्ब सफलता पाएको थियो भने एउटाले ठिकैमात्र व्यापार गर्यो। जहिले पनि नेपाली चलचित्र उद्योगमा सफल नायिकाहरुको कुरा गरिन्छ त्योबेला छुटाउनै नहुने अग्रणी स्थानमा रहेको नाम हो

“मिनाक्षी आनन्द”को। जतिबेला मिनाक्षी आनन्दले नेपाली चलचित्रमा अभिनय गरिन् त्यति बेला नेपाली चलचित्रले उद्योगले ब्यापारिक रुप पाइसकेको थिएन र पाउँछ भन्ने बिश्वाश पनि थिएन।

नेपालसँग नजिकको नाता भएकी मिनाक्षीका बुवा भारतीय भए तापनि उनकी आमा भने नेपाली थिइन्। नेपालमा शाही नेपाल संस्थानले नयाँ नेपाली चलचित्रको लागि नायिका खोज्दैछ भन्ने थाहा पाएपछि उक्त चलचित्रमा अडिसन दिनको लागि उनी भारतबाट नेपाल आएकी थिइन्। कक्षा १० सम्म जावलाखेलको सेन्ट मेरिजमा अध्ययन गरेकी मिनाक्षीलाई नेपाली चलचित्रमा पर्दापरण गराउने श्रेय भने सम्वाद लेखक चेतन कार्कीलाई जान्छ। चेतन कार्कीले कुनै समयमा मिनाक्षीलाई सेन्ट मेरिजमा बिज्ञान बिषय पढाएका थिए।

मिनाक्षीको प्रतिभालाई राम्ररी चिनेका चेतनको प्रयासबाट नै शाही नेपाल चलचित्र संस्थानबाट बनेका दुई चलचित्रहरु सिन्दूर र जीवन रेखामा उनले अभिनय गर्ने मौका पाइन्। भनिन्छ, उनी अडिसनमा सामेल भएर नै आएकी हुन्।

२०३३ सालमा निर्माण शुरु भए तापनि २०३६ साल मङ्सिर १० गते मात्र प्रदर्शनमा आउन सफल चलचित्र “सिन्दुर” मिनाक्षी आनन्दको पहिलो नेपाली चलचित्र हो। यो चलचित्रका अन्य कलाकारहरुको कुरा गर्दा यसमा नायकको भूमिकामा विश्व बस्नेत थिए भने अन्य कलाकारहरुमा नीर शाह, हरिहर शर्मा, गोपाल राज मैनाली, बसुन्धरा भुसाल लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन्। यो चलचित्रमा भएका गोपाल राज मैनाली र बसुन्धरा भुसालको जोडी- चङ्खे र नक्कलीको रुपमा यति लोकप्रिय भयो कि सिन्दुरपछि बनेका प्राय: हरेक चलचित्रहरुमा यो जोडी दोहोरिन थालेको थियो।

चलचित्र सिन्दुरको निर्देशन प्रकाश थापाले गरेका थिए भने यस्को कथा र सम्वाद लेखन क्रमश: दौलत बिक्रम बिष्ट र चेतक कार्कीले गरेका थिए। लगातार ५२ हप्तासम्म चलचित्रहलहरूमा चलेको यो चलचित्रको रेकर्ड आजसम्म कुनै पनि नेपाली चलचित्रले तोड्न सकेका छैनन्। यो चलचित्रलाई चिनिया भाषामा सबटाइटल राखी चिनमा प्रदर्शन गरिनुले पनि चलचित्र सिन्दुरको लोकप्रियताको अन्दाजा लागाउन सकिन्छ।

सिन्दुरले यति धेरै सफलता पाएपछि जताततै मिनाक्षीको चर्चा हुन थाल्यो। अब चलचित्रमा नायकको भूमिकामा कसलाई राख्ने, त्यो विषयले भन्दा पनि नायिका चाहिँ मिनाक्षी नै हुनुपर्छ भन्ने भावना बिकसित पनि हुन थाल्यो।

सिन्दुरपछि मिनाक्षीले दोस्रो चलचित्रको रुपमा चलचित्र “जीवन रेखा”मा नायिकाको रुपमा अभिनय गरिन्। नेपाली चलचित्रको इतिहासमा जीवन रेखाको नाम अत्यन्त सम्मानपूर्बक लिइन्छ। यही चलचित्रबाट नै एक्सन किङ्ग शिव श्रेष्ठले डेब्यु गरेका थिए। भनिन्छ, यो चलचित्रमा नायक बन्नको लागि भुवन केसी र शिव श्रेष्ठबीच कडा प्रतिस्पर्धा भएको थियो। अन्त्यमा यस प्रतिस्पर्धामा भने शिव छानिए। चलचित्रका अर्का होनहार कलाकार अर्जुनजङ्ग शाहीले पनि जीवन रेखाबाट नै खलनायकको रुपमा डेब्यु गरेका हुन्।

नेपाली चलचित्र जीवन रेखाबाट नै मिनाक्षीले नेपाली चलचित्र उद्योगमा अर्को इतिहास रचिन्। त्यो इतिहास हो, कुनै पनि नायकभन्दा नायिकाले करिब डबल रकम पारिश्रमिक लिनु। यहींबाट नै उनी त्यो बेलाको सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार बनिन्। उनको अर्को चलचित्र “जीवन रेखा” पनि दर्शकहरुले खुबै मन पराए। यो चलचित्र करिब ६ महिनासम्म हलहरुमा हाउसफुल चल्यो। आजकल रिलिज भएका चलचित्रहरुलाई हलमा २ दिन पनि टिक्न गारो हुने स्थितिमा “जीवन रेखा”, “सिन्दुर” जस्ता चलचित्रहरु यसरी चल्नु भनेको, चलचित्र राम्रो बनेमा दर्शकले राम्रो साथ दिन्छन् भन्ने पनि हो।

२०३९ साल कार्तिक ११ गते रिलिज भएको “जीवन रेखा”को सम्वाद लेखन तथा निर्देशन चलचित्र सिन्दुरकै जोडीले गरेको थियो अर्थात् यसको सम्वाद लेखन चेतन कार्कीले गरेका थिए भने निर्देशन प्रकाश थापाले नै गरेका थिए। यसको कथा भने बरिष्ठ लेखक केशबराज पिडालीले लेखेका थिए।

त्यस्तै मिनाक्षीले नायिकाको रुपमा अभिनय गरेको अर्को वा तेस्रो चलचित्र भने “जुनी” हो। यसको निर्माण मिनाक्षी आफैले मन्जु राणासंग मिलेर गरेकी थिइन्। यो चलचित्रको कथा अनिल मेहताले लेखेका थिए भने यसको निर्देशन शरद पालेकरले गरेका थिए। जुनी अर्को हिसाबले पनि नेपाली चलचित्रमा एक्दमै धेरै महत्वपूर्ण स्थान राख्ने चलचित्र हो। किनभने चलचित्र जीवन रेखामा नायक बन्न नसकेका भुवन केसीले यही चलचित्रबाट नायकको रुपमा “डेब्यु” गरेका थिए। भनिन्छ, भुवन केसीको अडिशन शरद पालेकर अनि मन्जु राणाको साथमा मिनाक्षी स्वयंले नै लिएको थिइन्। अडिशनमा आएका करिब ७०० जनाबाट भुवन केसी नायकको रुपमा छानिनु, पक्कै पनि चान्चुने कुरा भने थिएन।

२०४० साल बैसाख १ देखि प्रदर्शनमा आयेको चलचित्र जुनीले पनि राम्रै व्यापार गर्यो। यो चलचित्र रिलिज भएपछि भुवन केसीले पनि पछाडी फर्केर हेर्न परेन। भुवन केसी नेपाली चलचित्रको इतिहासमा सबैभन्दा बढी सफल चलचित्र दिने नायकमा पर्छन्।

मिनाक्षीले अभिनय गरेका सबै चलचित्रहरूले राम्रो व्यापार गरे तापनि, रेकर्डमाथि रेकर्ड बनाए तापनि, अभिनेत्री मिनाक्षी भने बिस्तारै बिस्तारै चलचित्रबाट हराइन्। चलचित्र जुनीपछि आएका कैयन चलचित्रहरुमा नायिकाको अफर आए तापनि उनले भने चलचित्र साइन गर्न मानिनन्। उनले किन अरु चलचित्रहरुमा काम गर्न मानिनन् भन्ने कुरा चाहिँ कतै भेटिँदैन।

पुनश्च :- मिनाक्षीले पाकिस्तान, बङ्गलादेश, नेपालबाट संयुक्त रुपमा बनेका केही चलचित्रमा अभिनय पनि गरेकी छिन, जसको उदाहरण स्वरूप चलचित्र “जीवन ज्योति”को नाम लिन सकिन्छ। तर यी चलचित्रहरु पुर्णतः नेपाली चलचित्र नभएको हुँदा यी चलचित्रहरुलाई यहाँ नराखिएको हो।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ