आज हामीले भारतीय गोर्खा परिसंघ, असम राज्य समिति (२०२३–२०२६) का पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको रूपमा सफल कार्यकालका तीन गौरवशाली वर्ष पूरा गरेका छौं। रजत जयन्ती समितिको सर्वसम्मत चयन ४ – ५ फेब्रुअरी २०२३ मा अनुसूचित जाति नेपाली जनजाति विद्यालय, औगुरी, टियोक, जोरहाट जिल्लामा सम्पन्न भएको थियो र १२ मार्च २०२३ मा मणी कुमार सुब्बा भवन, गुवाहाटी मा गोर्खा नागरिक समाज संगठनहरू (सीएसओ) का नेताहरू तथा गोर्खा उन्नयन परिषद (जीडीसी) का अध्यक्ष र सदस्यहरूको गरिमामय उपस्थितिमा शपथ ग्रहण गरिएको थियो।
आजको यस महत्वपूर्ण अवसरमा हामीले समर्पण र निष्ठाका साथ सेवा गरेका तीन वर्ष पूरा गर्दा अत्यन्त गर्व र सन्तोषको अनुभूति भएको छ। यस अवसरमा म मेरा सम्पूर्ण सहकर्मीहरूलाई उनीहरूको निरन्तर प्रतिबद्धता र सामूहिक प्रयासका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
यस कार्यकालमा हाम्रो समितिले भारतीय गोर्खा परिसंघ को इतिहासमा धेरै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। डी भोटर, आधार बायोमेट्रिक्स जस्ता संवेदनशील मुद्दाहरू समाधान गर्ने प्रयासदेखि लिएर वन अधिकार ऐन अन्तर्गत गोर्खाहरूलाई अन्य परम्परागत वनवासीहरू (ओटीएफडी) का रूपमा मान्यता दिलाउने पहलसम्म, साथै वनमा निर्भर चरवाहा र कृषक समुदायको रूपमा हाम्रो वैधानिक पहिचान सुनिश्चित गर्न हामीले सार्थक कदम चालेका छौं। त्यसैगरी, सीमा निर्धारण प्रक्रियाको क्रममा निर्वाचन आयोगका मुख्य आयुक्तसँग भेटघाट गरी गोर्खा बहुल विधानसभा क्षेत्रहरूलाई आरक्षणबाट सुरक्षित राख्ने विषयमा आवाज उठाइएको थियो, ताकि लोकतान्त्रिक सहभागिता निष्पक्ष र सुदृढ रहोस्।
यस अवधिमा देवकोटा नगर, मालिगाउँ मा स्थापित “हरी प्रसाद ‘गोर्खा’ राई भवन” भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको कार्यालय हाम्रो समितिले हासिल गरेको एक ऐतिहासिक उपलब्धिको स्थायी प्रतीक बनेको छ।
मैले हाम्रो गतिविधिहरूका झलकहरू राष्ट्रिय कार्यकारिणी सभा, राष्ट्रिय परिषद् सभा तथा हालै सम्पन्न आगरा, उत्तर प्रदेश महा अधिवेसन मा प्रस्तुत सचिवीय प्रतिवेदनहरू मार्फत साझा गरिसकेको छु। ती प्रतिवेदनहरूले हाम्रो कार्यकालमा प्राप्त समर्पण र प्रगतिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेका छन्।
हाम्रो गतिविधिहरूको विस्तृत प्रतिवेदन चाँडै नै हाम्रो मुखपत्र-स्मारिका “रैथाने” को रजत जयन्ती विशेषांक मा संकलन गरी प्रकाशित गरिनेछ, जुन २५ अगस्त २०२६ मा बलिदान दिवस को अवसरमा प्रस्तावित ७ औं त्रैवार्षिक अधिवेसनको खुला सत्र सँगै विमोचन गरिनेछ।
हाम्रो संविधानको प्रावधान अनुसार, केही बाँकी जिम्मेवारीहरू पूरा गर्नका लागि पछिल्लो बर्धित कार्यकरिनी।सभा मा हामीले छ ( ६) महिनाको समयावधि विस्तारको माग गरेका छौं। त्यसैले, म सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई २०२६–२०२९ को नयाँ समितिमा वा अन्य उच्च जिम्मेवारीमा अघि बढ्नु अघि पुनः नयाँ ऊर्जा र उत्साहका साथ आफ्नो कर्तव्यप्रति समर्पित हुन हार्दिक अनुरोध गर्दछु।
यो सन्देश समापन गर्नु अघि म हाम्रो अध्यक्ष श्री अमर अधिकारी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु हात्तीको जस्तो विशाल हृदय र गैंडाको जस्तो दृढ संकल्प भएका एक धरातलीय र प्रेरणादायी व्यक्तित्व हुन । उहाँले केवल नेतृत्व मात्र प्रदान गर्नुभएको छैन, बरु हाम्रो सामूहिक लक्ष्यहरू प्राप्त गर्न एक विश्वासिलो साथीको रूपमा सधैं साथ दिनुभएको छ। समाज सेवामा उहाँको व्यक्तित्वप्रति म गहिरो सम्मान र प्रशंसा व्यक्त गर्दछु। उहाँ साँच्चै एक विनम्र र आदर्श सज्जन हुनुहुन्छ।
त्यसैगरी, सलाहकार तथा प्रमुख प्रवक्ता श्री प्रकाश दाहाल प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। उहाँ पूर्व प्रदेश अध्यक्ष, तत्कालीन राष्ट्रिय संयुक्त महासचिव तथा हालका राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। उहाँ र अन्य परिसंघ परिवारकै प्रेरणा र आग्रहले मैले भारतीय गोर्खा परिसंघमा प्रवेश गरेको हुँ र त्यसयता उहाँले निरन्तर मार्गदर्शन गर्दैआउनुभएको छ।
म कार्यालय सचिव श्री कमल प्रधान लाई विशेष धन्यवाद दिन चाहन्छु, जसले आफ्नो कार्यालय प्रसाशन जिम्मेवारी अत्यन्त समर्पणका साथ निर्वाह गर्नुभय रहेको छ। साथै सहायक मूलसचिव डा. राजु सुब्बा ले मेरो अनुपस्थितिमा जिम्मेवारी सम्हाल्दै सबै भर्चुअल बैठकहरू व्यवस्थित रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। सक्रिय अध्यक्षसँग काम गर्दा यी दुवै साथीहरू मेरो दुई हातझैँ बनेर साथ दिनुभएको छ। अधिकांश पदाधिकारीहरूबाट मैले सहयोग पाएको भए पनि केही साथीहरूबाट भने लामो समयदेखि कुनै प्रतिक्रिया प्राप्त भएको छैन, जसले सम्भवतः आफ्नो मार्ग परिवर्तन गरेका छन्।
यस सन्दर्भमा ठण्डी नेवार दाजु, लक्ष्मी सुबेदी दिदी, तरुण बाला उपाध्याय दिदी, डा. सुकमाया लामा, अमर लामा दाजु, गोपाल थापा, धन प्रसाद लिम्बू दाजु, सिद्धान्त अधिकारी भाइ, तथा रमेश बस्तोला ले आवश्यक परेको बेला प्रत्यक्ष वा टेलिफोनमार्फत अमूल्य सुझाव र सहयोग प्रदान गर्नुभएकोमा विशेष आभार व्यक्त गर्दछु।
त्यसैगरी सबै जिल्ला समितिहरू, विशेष गरी अध्यक्ष, कार्यकारीअध्यक्ष तथा मूल सचिव सचिवहरू लाई निरन्तर सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। माथि उल्लिखित सबै विषयहरू असम राज्य समिति सम्बन्धी मात्र हुन तेसैले यहाँ राष्ट्रीय समिति अथवा उत्तर पूर्व जोनको विषय राखिएको छैन।
हामी सबैको सामूहिक प्रयासले भारतीय गोर्खा परिसंघ को आधारलाई असममा अझ सुदृढ बनाएको छ। आउँदा दिनहरूमा पनि हामी सबैले एकता, समर्पण र प्रतिबद्धताका साथ जातिको ठूलो हितका लागि निरन्तर कार्य गरिरहौं– नन्द किराती देवान, मूलसचिव
भारतीय गोर्खा परिसंघ, असम राज्य समिति।












