पेदोङ : भागोप्रमो कालेबुङ जिल्ला समितिको आयोजनामा ४० नम्बर समष्टिको विभिन्न बुथहरूलाई लिएर बुथ स्तरीय सर्वेक्षण सभा यहाँको सार्वजनिक भवनमा सुक्रबार सम्पन्न गरियो। भागोप्रमो कालेबुङ जिल्ला समितिका अध्यक्ष विनय घिसिङको अध्यक्षतामा सम्पन्न गरिएको उक्त सभामा जीटीए ४० नम्बर समष्टि कार्यकारी सभासद कमल सुब्बा, भागोप्रमो कालेबुङ जिल्ला समितिका महासचिव बारूद थापा, प्रवक्ता केशर थापा, कार्यालय सचिव सागर खवास, नारी शक्ति कालेबुङ जिल्ला समिति अध्यक्ष सुनिता भुजेल, उपाध्यक्ष अर्चना लोहार, सह-सचिव लम्हुछिरिङ भोटिया, सांगठनिक सचिव रन्त पाख्रिन, पेदोङ पञ्चायत समिति सहकारी सभापति सुकमीत लेप्चा, साक्योङ ग्राम पञ्चतायत प्रधान निर्यमित लेप्चा, कास्योङ ग्राम पञ्चायत प्रधान सपना तामाङलगायत पञ्चायत समिति साथै ग्राम पञ्चायतका सदस्यहरू अनि विभिन्न बुथस्तरीय प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जीटीए ४० नम्बर समष्टि सभासद कमल सुब्बाले क्षेत्रको विभिन्न बुथस्तरीय कमिटीहरू गठन भइसकेको साथै ६ वटा बुथहरूको बुथ लेभल कमिटी केही समय पछि गठन गरिने पनि बताए।
उनले समष्टिको चौतर्फी विकासको निम्ति कार्यहरू गरिरहेको साथै समष्टिका विभिन्न गाउँहरूलाई जोड़ने ७५ प्रतिशत बाटो बनिसकेको र अन्य रहेको बाटो घाटो पनि आफ्नो कार्यकाल अवधि निर्माण गरेर लाने पनि उनले बताए। सभासद सुब्बाले राज्य सरकारसित मिलेर कार्य गरेको कारण पहाड़मा शान्ति स्थापना सितै उन्नति भएर गएको विश्वास पनि व्यक्त गरेका उनले सम्पूर्ण समष्टिको बुथहरूबाट आगामी विधानसभा चुनाउमा भागोप्रमोको प्रार्थीलाई विजय गराउन पर्ने आह्वान पनि गरे। सभामा भागोप्रमो जिल्ला समिति प्रवक्ता केशर थापाले हाल भागोप्रमोले विभिन्न क्षेत्रमा बुथहरूलाई लिएर सर्वेक्षण सभाहरू आयोजना गर्दै आइरहेको साथै कुन बुथहरू सक्रिय अनि निसक्रिय रहेका छन् ती बुथहरूबारे जायजा लिन यस सर्वेक्षण सभाको आयोजना गरेको पनि बताए। प्रवक्ता थापाले यस भागोप्रमो पार्टी क्याडर बेस अनि अर्गनाइजेसन भएको पार्टी रहेकोले चुनाउमा सांगठनिक रूपमा अझ दहिलो बनाएर लाने उद्देश्य लिएर बुथ स्तर कमिटीलाई सक्रिय बनाउन पर्ने विषयमा पनि विशेष जोड़ दिए। उनले पहाड़मा लामो समय पछि पञ्चायत अनि पञ्चायत समितिको चुनाउ भएकोले शक्ति बिकेन्द्रीकरण भएर गएको अनि पञ्चायत समिति र ग्राम पञ्चायत मार्फत पनि ग्रामीम क्षेत्रमा आधारभूत विकासहरू भएर गइरहेको विकास पनि व्यक्त गरे। सभामा भागोप्रमो जिल्ला महासचिव बारूद थापाले पनि विधानसभा चुनाउ नदिकिदै आइरहेको जसलाई लिएर पार्टीले सांगठनिक रूपमा विभिन्न सभाहरूको आयोजना गर्दै अघि बढ्ने पनि बताए। उनले विभिन्न बुथहरूमा अन्तर कलह हुन सक्छ ती अन्तर कलह अनि मतभेदलाई भुलेर भागोप्रमोलाई पुनः यस चोटी पनि विजय बनाउन पर्ने अपील पनि गरे।
उनले भागोप्रमो पहाड़मा आएदेखि शान्ति स्थापित भएको बताउँदै जसको कारण यहाँ धेरै विकासहरू भएर गइरहेको पनि बताए। उनले विगत १७ वर्ष अगिदेखि पहाड़ले भाजपालाई भोटमा विजय बनाउँदै आइरहेको भएतापनि हालसम्म भाजपाले कुनै कार्य गर्न नसकेको गुनासो गर्दै देशमा कंग्रेस सरकार रहेको समयमा नै दागोपाप अनि जीटीए जस्ता क्षेत्रीय व्यवस्था प्रदान गरिएको पनि बताए। उनले पनि पुनः यस चोटी भागोप्रमोलाई नै जनताले साथ दिएर चुनाउमा विजय बनाउन पर्ने आह्वान गरे। सभामा भागोप्रमो जिल्ला अध्यक्ष विनय घिसिङले पनि पार्टीको सांगठनिक गतिविधिहरू के कस्तो रहेको छ ती विषयहरूबारे जान्न अनि बुझ्न यस सभाको आयोजना गरेको बताए। उनले पनि आगामी विधानसभा चुनाउमा पुनः रूदेन सादा लेप्चालाई नै उम्मेद्वारको रूपमा चुनाउमा खड़ा हुने पनि संकेत दिँदै पुनः बहुमतको साथमा उनले गरेको कार्यहरूलाई जनताले याद गरेर विजय बनाउन पर्ने पनि बताए।
भागोप्रमो पार्टीले जनहितको निम्ति धेरै कार्यहरू गरिरहेको बताउँदै यस पार्टीले जनतालाई भावनामा बगाएर झुठको राजनीति कहिले पनि नगरेको बताउँदै जनतालाई जे सत्य छ त्यही अवगत गराउँदै आइरहेको बताए। उनले आगामी दिनमा पनि भागोप्रमो केन्द्रिय समितिको निर्देशनमा जिल्ला समितिले विधानसभा चुनाउलाई लिएर विभिन्न कार्यहरू गर्दै अघि बढ़ने अनि बुथस्तरीय कमिटीलाई दहिलो बनाएर लाने विषयमा पनि विशेष जोड़ दिए। भागोप्रमो कालेबुङ जिल्ला समितिका सदस्य दिलिप प्रधानद्वारा सञ्चालित उक्त सभामा स्वागत वक्तव्य भागोप्रमो ४० नम्बर समष्टि संयोजक समितिका सदस्य विनोद राईले राखेका थिए।












