दार्जीलिङ, 12 फरवरी (निसं):दार्जीलिङको नर्सिङ स्कूलकी एउटी छात्रामाथि दुष्कर्मको प्रयास भएको घटना प्रकाशमा आएपछि निकै सनसनी मच्चिएको छ। गत केही दिनअघि दार्जीलिङ जिल्ला नर्सिङ स्कूलमा भएको यस प्रकारको घटनाले गम्भीर प्रश्नहरू जन्माएका छन् । दार्जीलिङ जिल्ला अस्पतालकै वार्ड मास्टर उत्तम राय नामक युवकले यस्तो दुष्कर्मको प्रयास गरेपछि पीड़ित नर्सिङ छात्राले स्थानीय दार्जीलिङ सदर थानामा एक प्राथमिकी दर्ता गरेकी थिइन्, जसको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको थियो।आरोपी उत्तम रायलाई बिहीवार दार्जीलिङ जिल्ला अदालतमा पेश गरिने भएको दार्जीलिङ जिल्ला अदालतका एपीपी (एसिस्टेण्ट पब्लिक प्रोसिक्यूटर) पङ्कज प्रसादले जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार, गत केही दिनअघि उक्त नर्सिङ छात्रा अचानक अस्वस्थ भएकी थिइन् । उनले त्यस दिन ९-१० पल्ट उल्टी गरिसकेकी थिइन् । उसै पनि छात्रा अघिबाटै एन्जाइटीबाट पीड़ित थिइन् । उक्त छात्रा अस्वस्थ भएको फाइदा उठाएर वार्ड मास्टर
उत्तम रायले उक्त छात्रालाई छात्राकै कोठामा लगेर सुताइदिएका थिए। पछिबाट उक्त छात्रा होशमा आउँदा वार्ड मास्टर आफ्नो छेवैमा सुतिरहेका थिए अनि उनको हात आफ्नो निजी अङ्गमा राखिरहेको छात्राले थाहा पाइन्। त्यसपछि उक्त छात्रा ओछ्यानबाट हतार-हत्तार उठिन् अनि रिसाउँदै वार्ड मास्टरलाई हकारिन् । त्यसको केही समयपछि फेरि उक्त वार्ड मास्टर उक्त नर्सिङ छात्राको कोठामा आए अनि उनलाई जबर्जस्ती ४-५ पल्ट चुम्बन पनि गरे। त्यसमा पनि छात्रालेआपत्ति जनाइन्। तर डरको कारण छात्राले यो कुरा कसैलाई भन्न सकिरहेकी थिइनन् । यद्यपि, साथीहरूसित कुरा गर्दा यस घट्नाबारे पनि कुरा उठ्यो, त्यसपछि अन्य साथीहरूले दिएको आँटमा उक्त पीड़ित छात्राले उत्तम राय नामक वार्ड मास्टर विरूद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरिन् । जसको आधारमा ‘पुलिसले तत्कालै उत्तम रायलाई पक्राउ गरेको थियो।
एपीपी प्रसादले जानकारी गराए अनुसार, उत्तम कुमार रायले यसअघि पनि अर्को एक नर्सिङ छात्रासित दुष्कर्म गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। जसलाई दार्जीलिङ जिल्ला अदालतमा पेश गरिएपछि न्यायिक हिरासतमा पठाइएको थियो, जसलाई भोलि १२ फरवरीको दिन पुनः अदालतमा पेश गरिने भएको एपीपी पयज प्रसादले जानकारी गराएका छन्।












