शर्तमा कोरिएका हरफहरू-का सर्जक अर्जुन राईको बहानामा….कविताका केही कुराहरू
म जस्तो लेख्दा पनि कविता भइहाल्छ भन्ने भनाइलाई मान्यता नदिने मान्छे। कवितामा मान्छेले जिउन सक्नुपर्छ, जीवन कविता जस्तै कहिले कठोर र कहिले सम्यक अनि आहाल्दित हुनुपर्छ कि जस्तो लाग्छ। आफूलाई त थाह छ नि भारतका शफदर हाशमी सड़क-सड़कहरूतिर कविता कोरेरै मरे अनि अवतर सिंह पाशहरूलाई कविता लेखेकैमा अपराधका अरोपहरू लगाइएर मेटाइए। बर्तोल ब्रेख्तहरू पनि पढ़ियो तर आज कविताको नाममा जुन चर्चित हुने मनोआकाङ्क्षाको रेखा कोरिएको देखिन्छ, त्यो कविता हो के त भन्न लाग्छ। तर फेरि कहिलेकाहीँ मन-मनमा सोच्ने गर्छु-आफू पनि प्रारम्भमा यस्तै यस्तै के-के बगमफुसे लहरहरू लेखेर उभिने कोशिश गरिएकै हो। तर आज कविताको निम्ति गम्भिर हुन जरुरी छ भन्ने यो हरफकार वास्तवमा कविताबाट ओझेल भएको छ, त्यतिविधि कविता लेख्दैन। तर यसको अर्थ यो कदापि होइन कि यो हरफकारले कविता बुझ्दै बुझ्दैन। कविता बुझ्नका निम्ति पहिले संसारभित्र गोता लगाएर जीवनलाई नै कवितामा ढाल्नुपर्ने रहेछ भन्ने बोध भर्खर मात्र हुँदैछ।
आजभोलि कविताहरूको भीड़ छ। त्यो भीड़मा त्यो कवि मात्र चिनिनेछ, जहाँ केही हरफहरू कविता जस्ता लाग्ने छन्। आजकल धेरै कविताका पुस्तकहरू प्राप्त हुन्छन्, पोस्टमार्फत् आउँछन् पनि तर पढ्ने फुर्सद निकाल्न गाह्रो पर्ने हुन्छ। यो गाह्रो परिस्थिति केवल मेरो भागमा मात्र परेको भने होइन। सबैका पक्षमा बराबर भाग लागेको हुन्छ। यसै पनि युद्धलाई मनोरञ्जनको रूपमा हेराउने जुन संस्कार र प्रवृत्ति ठूला ठूला राष्ट्रहरूले हाम्रो देशमा भित्र्याएका छन्, कसले कविता पढ्ने, कवितामाथि को गम्भिर हुने जस्ता प्रश्नहरूमाझ हामी जेल्लिरहेका हुन्छौँ।
यस्तैमा आज एकाबिहानै सिक्किम निवासी युवा कवि प्रथम अवस्थामै आजभन्दा झण्डै 12 वर्षअघि रेभोल्युशन कथा सङ्ग्रह दिने अर्जुन राईको शर्तमा कोरिएका हरफहरू नामक कविता सङ्ग्रह हात पर्छ। यो पुस्तकको काम आफैले गरेको तर अन्य पुस्तकहरूले थिचेर धेरै तल पुगेको अवस्थामा हात लागेको हो।
जे होस् उनले आफ्नो कविता सङ्ग्रह आफ्नै हातले गान्तोकको एक मध्याह्न घाममा पाँच माइलस्थित सरस्वती मन्दिरको प्रेक्षागृहमा मन्दिर कमिटीको मातहतमा सम्पन्न मासिक साहित्यिक कार्यक्रममा उपहारस्वरूप दिएका हुन्।
अर्जुन राईले कविताहरूलाई निकै खिप्ति गरेका छन्। कवितामा उनी कति बाँचेका छन्, कति कविता उनले भोगेका छन् उनी स्वयं जानुन् तर कतिपय उनका कविता पढ्दा कता कता मन पोल्छ, टाउको दुखेर भनन.. भूवन नै घुम्छ। समाजका घटेका यावत कुराहरूले उनको टाउको दुखेकैले पाठकलाई पनि सोच्न बाध्य पारेका होलान्। डा. राजेन्द्र भण्डारीका विद्यार्थी रहेका अर्जुन राईको शर्तमा कोरिएका हरफहरूमा डा. भण्डारीको आशीर्वाद रहनु, वीरु बाङ्देल जस्ता सिद्धहस्त कविको भूमिका हुनु अनि श्रवणकुमार मुकारुङ जस्ताको शुभकामना हुनु नै कवितामा केही ओज छ भन्ने बुझ्न सकिन्छ। यो कविता पुस्तकलाई आम पाठकसामु ल्याइदिने नेपाली साहित्यकै एक गर्विलो प्रकाशन संस्था जनपक्ष प्रकाशन सबैभन्दा धेर बधाईको पात्र हो जस्तो लाग्छ। यसरी सर्जकका रचनाहरूलाई ओसिन नदिएर तापिलो घामको राप दिने प्रकाशन संस्थानहरू धेरै कम हुन्छन् त्यसकारण कविता सङ्ग्रहका सर्जक अर्जुन राई अनि जनपक्ष प्रकाशनका स्वामी पुण्यप्रसाद शर्माज्यू दुवैमा हार्दिक शुभकामनाका साथ वधाई।












