विदेशबाट फर्किएर ‘सानेन’ बाख्रा विस्तार गर्ने उद्यमी

Share this news

युवा दर्पण 

सञ्जय निरौला  

एकातिर रोजगारको अवसर नभएकाले पहाड़का अधिकांश युवाहरू परदेशिनु नौलो कुरा होइन। अर्कोतिर स्वरोजगार अप्नाउँदै स्वलम्बी बनेर आफू र परिवारको जीवन धान्नेमात्र होइन, सम्मानजनक जीवन जिउनसक्ने उदाहरण दार्जीलिङमा छन्। रोजगार खोज्ने युवाहरूबीच गाउँमै बसेर ठोस् इलम गरी केही गरौँ भन्ने उदाहरण हुन् बुद्ध लक्सम। जसले गाउँमै बाख्रा पालन गरेर सरकारी नोकरी सरह जीवन चल्नसक्छ भन्ने प्रमाण दिएका छन्।

बाखा पालनलाई आत्मनिर्भरताको उदाहरण बनाएका बुद्ध लक्सम।

दार्जीलिङ पुलबजार खण्ड अधीन झेपी ग्रामको कांकेबुङ निवासी बुद्ध लक्सम अंग्रेजी विषयका स्नातक हुन्। तथापि उनले शिक्षालाई सरकारी नोकरीतर्फ नलगाई पशुपालन रोजे। सन् २००५ मा स्नातक सकेर सन् २०१२ सम्म वैदेशिक रोजगारमा सिंगापुर बसेका लक्समले पैसा कमाए पनि सन्तोष पाएनन्। फरक सोच राख्दै, आधुनिक तरिकामा काम गर्नुपर्ने विचारले घर फर्केपछि शुरु गरे पशुपालन।

सुँगुर पालनबाट शुरु गरेका बुद्धले सन् २०१७ को आन्दोलनसम्म आइपुग्दा सुँगुर तथा पशुपालनबारे पर्याप्त जानकारी बटुलीसकेका थिए। तर आन्दोलनको बन्दका कारण सुँगुरको खाद्यान्न अभाव हुँदा कबाड़ीकै मूल्यमा सुँगुर बेच्नुपर्‍यो। अन्य सुँगुर बचाउनकै लागि कतिपय सुँगुर काट्नुपरेको अवस्थासमेत आयो। सबै सुँगुर सस्तोमा बेचेपछि उनी केही दिन अलमल्ल परे। आर्थिक घाटा बेहोर्नुपरे पनि त्यसले उनको पशुपालनप्रतिको लगाव घटेन। बरु उनी अझ उत्साहका साथ लागिरहे। सुँगुर नपाल्ने निर्णय गरेपछि उनले गौपालन र बाख्रा पालनतर्फ ध्यान दिए। बजारीकरणलगायतका जानकारी बटुलेर अन्ततः पहाड़बाट हराउँदै गएको ‘सानेन’ प्रजातिको बाख्रा पाल्ने सोच बनाए- मासुका लागि होइन, सन्तान विस्तारका लागि माउपालन। सन् २०१८ देखि पाँचवटा माउ बाख्राबाट शुरु गरेका उनीसँग अहिले ५० भन्दा बढ़ी माउ र करिब १५० बाख्रा छन्, जससँगै उनको दिनचर्या बित्छ। यसैलाई उनी आफ्नो विशेषता ठान्छन्। समयअनुसार आधुनिक शिक्षा लिएका बुद्धले अंग्रेजीको शिक्षालाई बाख्रा पालनको आधुनिकिकरणमा प्रयोग गर्ने लक्ष्य राखेका छन्।

‘‘आफ्नो क्षेत्रमा केही गरौं भन्ने सोचमा कुनै जोखिम लिन चाहँदैनौं। यसैले हामी हाल परजीवी बनेका छौं’’

‘‘हामीले शिक्षा लिएपछि हाम्रो प्रकृतिसँग रमाउने किसिमका कामहरू गर्न लजाउँछौं। डोको र नाम्लोसँगै कुटो-कोदालोबाट शुरु भएको हाम्रो इतिहासलाई लत्याउन खोज्छौं। देश-विदेशको महानगरहरूमा अरुको अधीनमा काम गर्न रुचाउँछौं’’, उनी भन्छन्, ‘‘आफ्नो क्षेत्रमा केही गरौं भन्ने सोचमा कुनै जोखिम लिन चाहँदैनौं। यसैले हामी हाल परजीवी बनेका छौं। हामी दैनिक रूपमा रिमोटले चल्ने गुड़िया सरह बनिरहेका छौं। यसैले पहिले ‘म किसान हुँ’ भन्न सक्नुपर्छ। हुनसक्ने काम गरे कुनै असम्भव भन्ने कदापि हुँदैन।’’

अरुभन्दा भिन्न काम गर्ने र समयको पाबन्धीमा नबस्ने बुद्धले बाख्रा पालनबाट जिविका निर्वाह गर्दै आएका छन्। यही आयबाट उनको परिवार राम्रोसँग चल्दै आएको छ। स्थानीय स्तरमा बिक्रीलाई प्राथमिकता दिने उनको लक्ष्य दार्जीलिङ पहाड़बाट सानेन प्रजातिका बाख्राहरू विलुप्त नहोस् भन्ने र आफ्नो क्षेत्रलाई सानेन बाख्राबाट चिनाउने रहेको छ। नश्‍ल सुधारका लागि उनी पहाड़का विभिन्न स्थानबाट सानेन बाख्राहरू संकलन गर्ने योजनामा छन्। उनका खोरका वस्यक बाख्राहरू महाराष्ट्र र पाठा-पाठीहरू उत्तराखण्ड तथा पञ्जबसम्म बिक्री हुन्छन्। परिश्रम भावी सन्तानले देख्नुपर्छ भन्ने सोचका बुद्धले शुरूवाती दिनहरूमा खण्ड प्राणी सम्पदा विभागको सहयोगलाई आफ्नो आधार मान्छन्, र मिङमा सर, केशाङ सरको सहयोग भुल्दैनन्।

गाउँमै बसेर आत्मनिर्भर बन्नुपर्ने सोच राख्ने उनले विदेशमा कमाएको सम्पत्तिले परिवारको सहारा बन्न नसक्ने तर्क गर्छन्। भावी पुस्तालाई गाउँमै बस्ने आधार बनाउने लक्ष्यले बाख्रा पालन थालेका उनले युवाहरूलाई समयअनुसारको शिक्षा लिने र सरकारी नोकरीको लागि कोशिश गर्ने सुझाव दिन्छन्। तर नोकरी नपाए सानो कामका लागि महानगर र विदेशतिर नजाने, बरु कृषि वा पशुपालनलाई नोकरीको विकल्पका रूपमा अघि लैजान युवाहरूलाई आह्वान गर्छन्।

कृषि क्षेत्रको निम्ति युवाहरूको ठूलो आवश्यकता महसुस गर्ने उनले स्थानीय स्तरमा रहेको प्राकृतिक उत्पादनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन काम गर्नुपर्ने सबैलाई सुझाव राख्छन्। उनी अझ भन्छन्, ‘‘कृषि क्षेत्रमा काम गर्नेहरूको निम्ति मैदान फराकिलो छ। सरकारको निकायहरु कृषि वागवानी पशुपालनलगायतमा काम गर्न चहानेहरूको निम्ति सदैव तत्पर छ। यसैले काम गर्ने दृढ़ संकल्प राखेकाहरू निस्फिक्री आउनुहोस्। तर सम्बन्धित क्षेत्रमा उत्पादन व्यवस्थापन बजारीकरणलगायतको क्षेत्रमा भने उचित ज्ञान राख्नुहोस्।’’

आफ्नो उत्पादनमा उचित बजारीकरणको ज्ञान राखेका बुद्धले डिमान्ड एण्ड सप्लाईलाई राम्रोसँग बुझेका छन्। बाख्राको दूध र दूधजन्य वस्तुमा भविष्यमा काम गर्ने सोच भए पनि हालसम्म स्थानीय माग नै पूरा गर्न नसकेको उनी बताउँछन्।

लगभग पाँच ऐकर जमिनमा विभिन्न प्रजातिका नेपियरलगायतका घाँसको सहायतामा बाख्रा पालन गर्ने बुद्धले मलबाट भविष्यमा भर्मी कम्पोस्ट बनाउने योजना तयार गरेका छन्। हाल उत्पादन भएको ८० प्रतिशत मल बारीमै प्रयोग हुनेगर्छ भने बाँकी थोरै मात्रा गाउँमै बिक्री गर्छन्। परिवारका सदस्यहरूको सहयोगमा संचालन हुँदै आएको फार्ममा प्रत्यक्ष रूपमा कम मानिस संलग्न भए पनि भविष्यमा खण्डस्तरीय ठूलो झुन्ड तयार गरी सानेन प्रजातिको बाख्रामा काम गर्न चाहनेलाई सहयोग गर्ने योजना लिएर अघि बढ़ेको उनी बताउँछन्। आफ्नो लगनशीलताका कारण उनी सन् २०२० मा खण्ड स्तरीय पुरस्कार र सन् २०२१ मा जिल्ला स्तरीय उद्यमी पुरस्कारले सम्मानित भइसकेका छन्। उनको फार्ममा समय समयमा खण्ड स्तरीय ट्रेनिङहरू आयोजना हुनेगर्छ भने साथमा व्यवहारिक शिक्षाको लागि सिक्किमका विभिन्न टोलीहरू पनि आउने गर्छन्।

कृषि, वागवानी र पशुपालन दैनिक रूपमा घट्दै गरेको बेला करिब एक दशकदेखि व्यावसायिक रूपमा पशुपालनमा लागेका बुद्ध लक्सम क्षेत्रका मात्रै होइन, पहाड़कै एक उदाहरण हुन्। जसले शिक्षित युवाहरूलाई रोजगारका लागि देश-विदेश भौतारिनु भन्दा स्थानीय प्राकृतिक स्रोत प्रयोग गरी स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश समाजलाई दिएका छन्।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ