Amit Pandey innovation
Amit Pandey innovation

प्रविधिमा नयाँ आयाम थप्दै अमित पाण्डे

Authored By: डा० कमल भुजेल

Share this news

भारतीय प्रौद्योगिकी संस्थान- धनबाद (आईआईटी-धनबाद) मा शोधरत प्रतिभाशाली युवा अनुसन्धानकर्ता अमित पाण्डे आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा उदाउँदै गरेका एक प्रेरणादायी नाम हुन्। असमको डिमा हसाओ जिल्लाको सुन्दर पहाड़ी शहर हाफलङबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका उनले कठोर परिश्रम, अनुशासन र नवप्रवर्तनप्रतिको समर्पणका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरेका छन्। इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका अमितले विशेषगरी आधुनिक वायरलेस सञ्चार प्रणालीका लागि उन्नत एन्टेना प्रविधिमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उनको जीवनयात्रा केवल व्यक्तिगत उपलब्धिहरू मात्र होइन, समर्पण, अनुसन्धानप्रतिको लगाव र समाजप्रति उत्तरदायित्वको उत्कृष्ट उदाहरण पनि हो। एक साधारण पहाड़ी शहरबाट शुरु भएको उनको यात्रा आज अन्तर्राष्ट्रिय जर्नल, पेटेन्ट र अत्याधुनिक प्रविधि विकाससम्म पुग्नु वास्तवमै प्रेरणादायी छ।

अमित पाण्डे हाल भारतीय प्रौद्योगिकी संस्थान- धनबादमा (आईआईटी-धनबाद) शोध गरिरहेका शोधार्थी हुन्। उनी एक प्रतिभाशाली अनुसन्धानकर्ता तथा इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियर हुन्। पिताम्बर पाण्डे र लक्ष्मी पाण्डेका छोरा अमित पाण्डेले बाल्यकालदेखि नै परिवारबाट प्राप्त प्रेरणा, अनुशासन र शिक्षाप्रतिको लगावद्वारा आफ्नो जीवनयात्रालाई सुदृढ़ बनाएका छन्।

उनले आफ्नो प्रारम्भिक शिक्षा हाफलङस्थित डन बस्को हाई स्कूलबाट पूरा गरे, जहाँबाट विज्ञान र प्रविधिप्रति गहिरो रुचि विकास भयो। त्यसपछि उनले केन्द्रीय विद्यालय हाफलङबाट विज्ञानमा १२ कक्षा उत्तीर्ण गरे। उच्च शिक्षाप्रति गहिरो समर्पणका साथ उनले इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङमा बी.टेक र त्यसपछि एनआईटी नागाल्याण्डबाट (एनआईटी-नागाल्याण्ड) एम.टेक गरे। जहाँ आफ्नो विभागमा उत्कृष्ट प्रदर्शनका लागि स्वर्ण पदक प्राप्त गरे। हाल उनले इण्डियन इन्स्टिच्युट अफ् टेक्नोलोजी (आईआईटी) धनबादबाट पीएचडीको थेसिस पेश गरिसकेका छन्।

अमितको अनुसन्धान क्षेत्र आधुनिक वायरलेस सञ्चारका लागि एन्टेना प्रणालीको डिजाइन र विश्‍लेषण हो, जसमा इन्टरनेट अफ् थिङ्स (आईओटी) सम्बन्धी अनुप्रयोगहरू समावेश छन्। आफ्नो पीएचडी अवधिमा उनले उच्च प्रभावकारिता भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरू जस्तै आईईई साथै स्प्रिङ्गर, एल्सेभियर, वाइली आदि जस्ता अग्रणी प्रकाशनहरूमा थुप्रै शोधपत्रहरू प्रकाशित गरेका छन्।

अमितको कार्यक्षेत्रमा अत्यन्त साना आकारका मल्टिब्यान्ड एन्टेना, द्वि-ध्रुवीकृत डुअल पोलराइज्ड एन्टेना तथा मल्टिपल इनपुट मल्टिपल आउटपुत (एमआईएमओ) एन्टेना समावेश छन्, जसले डाटा दर सुधार गर्न र उच्च गतिको सञ्चार सक्षम बनाउन मद्दत गर्छन्। यसका साथै उन्नत वायरलेस प्रणालीहरूका लागि उच्च गेन प्राप्त गर्ने एन्टेना एरेहरूको डिजाइन, सिमुलेसन, निर्माण तथा परीक्षण पनि समावेश छन्।

अमितको शोधको एक महत्वपूर्ण उपलब्धि भनेको उनले आफ्नो एक अनुसन्धान कार्यका लागि हालै प्राप्त गरेको भारतीय पेटेन्ट हो। उनले आफ्नो विद्यावारिधि पूरा गर्नु अघि नै आफ्नो अनुसन्धानबाट पेटेन्ट पञ्जिकृत गराउन सफल हुनु अति नै गौरवपूर्ण विषय रहेको छ। उनले प्राप्त गरेको पेटेन्टको शीर्षक शिल्डेड हाफ-मोड सब्स्ट्रेट इन्टिग्रेटेड वेभगाइड-बेस्ड सेल्फ-डिप्लेक्सिङ एन्टेना एरे एण्ड मेथड अफ् म्यानुफ्याक्चरिङ देअरअफहो। यो प्रविधिले एउटै सानो आकारको एन्टेनाबाट भेहिकल-टु-भेहिकल सञ्चार र सार्वजनिक सुरक्षा प्रणाली दुवैलाई समर्थन गर्नसक्ने क्षमता प्रदान गर्दछ। यसमा विभिन्न फ्रिक्वेन्सी ब्याण्डहरूबीच स्वतः अलगाव इनहेरन्ट आइसोलेसन हुने भएकाले अतिरिक्त सर्किटको आवश्यकता पर्दैन। यसले लागत घटाउनुका साथै प्रणालीलाई सरल बनाउँछ र साना आकारका उपकरणहरूमा पनि सजिलै समावेश गर्न सकिन्छ।

यो प्रविधि विशेषगरी एम्बुलेन्स, दमकल सवारी साधन आदि जस्ता आपतकालीन सेवामा प्रयोगका लागि अत्यन्त उपयोगी मानिन्छ। यो प्रविधि वास्तविक सवारी साधनमा जड़ान गरी वास्तविक परिस्थितिमा परीक्षण गरिएको छ, जसले यसको प्रभावकारिता प्रमाणित गरेको छ। यसले सवारी सुरक्षा अभिवृद्धि गर्न, दैनिक तथा आपतकालीन दुवै प्रकारका संचालनलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ र सवारी सञ्चार प्रविधिमा यो एक परिवर्तनकारी प्रविधि बन्नसक्ने सम्भावना राख्दछ।

उनले डीआरडीओ परियोजनामा १.५ वर्ष सिनियर प्रोजेक्ट एसोसिएटका रूपमा काम गरे। जहाँ उनले मिलिमिटर-वेभ प्लानर एन्टेनाको डिजाइन, विश्‍लेषण तथा अनुकूलनमा योगदान दिए। विशेषगरी डब्ल्यू-ब्याण्डमा उच्च गेन भएको एन्टेना विकाससम्बन्धी उनको कार्यले भविष्यका सिक्स-जी प्रविधिका लागि महत्वपूर्ण आधार स्थापना गर्न सहयोग गरेको छ।

उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आफ्नो अनुसन्धान प्रस्तुत गरेका छन्। यसका साथै उनले भारत सरकारको एनएनआरएफबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय यात्रा अनुदान प्राप्त गरी बाली, इन्डोनेसियामा आयोजित एक शीर्ष अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका छन्।

उनका प्रमुख उपलब्धिहरूमा जीएटीई परीक्षा उत्तीर्ण गर्नु, एम.टेकमा स्वर्ण पदक प्राप्त गर्नु तथा भारत सरकारबाट एमएचआरडी फेलोशिप प्राप्त गर्नु समावेश छन्। यसका साथै उनले २०२४२०२५ अवधिमा आईआईटी (आईएसएम) धनबादमा आईईईई एपीएस/एमटीटी-एस स्टुडेन्ट ब्रान्च च्याप्टरका च्याप्टर चेयरको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरे।

आफ्नो अनुसन्धानसँगै उनले आफ्नो फुर्सदको समयमा गोर्खा समुदायका विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै उनीहरूलाई वैज्ञानिक अवधारणाहरू बुझाउन र विज्ञानप्रतिको रुचि विकास गर्न सहयोग गरेका छन्।

अमित पाण्डेको जीवन यात्राले आफ्नो गोर्खा जातिलाई गौरवान्वित बनाएको छ साथै उनको समर्पण, मेहनत र नवप्रवर्तनको उत्कृष्ट उदाहरण हो। आधुनिक सञ्चार प्रविधिको विकासमा उनको योगदानले भविष्यमा स्मार्ट, सुरक्षित र आपसमा जड़ित संसार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अन्ततः अमित पाण्डेको यात्रा केवल व्यक्तिगत सफलता होइन, सपनालाई यथार्थमा रूपान्तरण गर्ने अदम्य साहस र निरन्तर प्रयासको प्रतीक हो। एउटा सानो पहाड़ी शहरबाट शुरु भएको उनको संघर्षपूर्ण यात्रा आज विश्‍वस्तरको अनुसन्धान, नवप्रवर्तन र प्रविधिगत योगदानसम्म आइपुगेको छ, जसले हरेक युवालाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्न प्रेरित गर्छ।

साँचो सफलता केवल व्यक्तिगत उन्नतिमा सीमित हुँदैन, बरु समाजलाई अघि बढ़ाउने योगदानमा निहित हुन्छ भन्ने उनको समर्पण, अनुशासन र समाजप्रतिको जिम्मेवारीले देखाउँछ। भविष्यमा पनि उनले आधुनिक सञ्चार प्रविधिमा अझ नवीन आयाम थप्दै विश्‍वलाई अझ स्मार्ट, सुरक्षित र आपसमा जोड़िएको बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्‍वास गर्न सकिन्छ।

अमित पाण्डेजस्ता प्रतिभाशाली युवाहरू नै राष्ट्रका वास्तविक सम्पत्ति हुन्-जसले न केवल आफ्नो समुदायलाई गर्व गराउँछन्, तर समग्र मानवताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने मार्ग पनि प्रशस्त गर्छन्।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ