इन्जिनियरिङ र अध्यात्मको बीचबाट सृजनाको संगीत यात्रा

Share this news

सञ्जय प्रधान–

इन्जिनियरिङ, संगीत र आध्यात्मिकता- तीन फरक पाटाहरूलाई समान गति र लयमा डोर्‍याएर अगाड़ि बढ़िरहेकी एक कलाकार हुन् सृजना सिलाल। उनको जीवन विविध स्वरले भरिएको संगीतजस्तै छ- प्राविधिक ज्ञान, आत्माको शान्तिमा बगेका भजन र लोक तथा आधुनिक धुनको संगम।

सृजनाले आफ्नो सांगीतिक यात्रा तीन कक्षामा हुँदा कलिलो उमेरमै दार्जीलिङबाट निस्किएको भजन एल्बम ‘साई अनुग्रह’बाट शुरु गरिन्। सो एल्बममा सुपरिचित गायिका हिरा रसाइली र गायक अजनिश राईले भजनहरू गएका छन्। कलिलो स्वरमै आत्मिक गहिराइ बोकेको सृजनाको गायनले धेरैको ध्यान तान्न सक्यो। आधुनिक गीत, भजन र टेलिफिल्मका गीतहरूसमेतमा सक्रिय रहेकी सृजना सिलाल नेपाली लोकगीतप्रति गहिरो रुचि राख्छिन्। उनका ३० भन्दा बढ़ी गीतहरू रेकर्ड भइसकेका छन्, जसमा लोक र आधुनिक दुवै स्वाद पाइन्छ। सुरिलो स्वरका साथ र आत्मीय प्रस्तुतीकरण उनका गायनमा विशेषता देखिन्छ। संगीतको क्षेत्रमा उनी केवल स्टुडियो र मञ्चसम्म मात्र सीमित छैनन्, धार्मिक तथा सामाजिक समारोहहरूमा पनि सहभागी हुँदै आएकी छिन्।

म थाक्छु, सक्दिनँ भोलि गर्छु पर्सि गर्छु भन्ने हुँदैन। म टाइम चाहिँ म्यानेज गर्छु

गान्तोकदेखि केही मुनि जालीपूल, सरमसाको मन्दिर गाउँ निवासी एन. डी. सिलाल र हिरा थापा सिलालकी छोरी सृजना पेशाले सिक्किम सरकारको ग्रामीण विकास विभागमा जुनियर इन्जिनियर हुन्। परिवारमा बाबुले पनि गाउने हुँदा घरको परिवेश संगीतमय रहेको छ। बाबु-आमा दुवै सृजनाको निम्ति दह्रो उर्जा र प्रेरणाका स्रोत हुन्। यिनै पारिवारिक पृष्ठभूमिबाट प्रेरणा लिँदै सृजनाले सानैदेखि साई समितिमा भजन गाउँदै आएकी हुन्। गायनमा उनले इलाहाबाद युनिभर्सिटीअन्तर्गतको सिक्किम संगीतालयमा गुरुजी विमल राईसँग शास्त्रीय गायनको प्रशिक्षण लिएर डिप्लोमा गरिन्। शास्त्रीय संगीतको यो आधारले उनका स्वरमा अझ माधुर्य थपेको छ।

सृजना सिलाल आज केवल एक कलाकार मात्र होइनन्, उनी युवा अवस्थामै प्रेरणास्रोत बनेकी छिन्। यदि मनमा समर्पण, आत्माभित्र संगीत र दृष्टिमा सेवा भाव छ भने जीवनका फरक पाटाहरूलाई एकैसाथ सम्हाल्न सकिन्छ भन्ने जसले देखाउँछ। सरमसाकै बहाई स्कूलमा पढ़िन् अनि चेन्नईबाट सिभिल इन्जिनियरिङ पास गरिन्। सानैदेखि भजन गाउँदा निखारिएकी सृजना स्कूलका कार्यक्रमहरूमा गीत गाउन अघि हुन्थिन्। सानोमा निक्कै नाँच्थिन्, र प्रतियोगिताहरूमा जितिन् पनि। कक्षा सातमा हुँदा दार्जीलिङबाटै निस्किएको बालगीतको म्यूजिक भिडियो ‘घामपानी’मा दुईवटा गीत गइन्। सन् २०१७ मा सिक्किमकी सुपरिचित अभिनेत्री उमा गिरीको निर्माणमा बनेको चलचित्र ‘कहीं कतै’मा पहिलो पटक गीत गाइन्। यो चलचित्रमा सुपरिचित संगीतकार-गायक सचिन सिंहसित गएको गीत ‘झ्वांय झान, छप्प छान’ निक्कै चलेको थियो। यसमा अर्को गीत ‘आँखाभित्र कोही..’ रवि गहतराजसित गएकी छिन्।

आफ्नो संगीतको यात्रामा उनले सिक्किमको कल्चरल अफेयर्स एण्ड हेरिटेज विभागबाट गीतहरू गएकी छिन्। वन विभागको पर्यावरणबारे जन जागरणमूलक टेलिफिल्महरूमा गीतहरू  गएकी छिन्। मञ्चमा विभिन्न कार्यक्रमहरूमा उनको प्रस्तुतिले दर्शकहरूलाई रमाइलो जमघटमा बाँध्नेगर्छ। सिक्किम प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा उनको लोकगीतको प्रस्तुतिले  माहोल रौसिलो बन्नेगर्छ। सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङको शब्दमा रहेको म्यूजिक भिडियोमा ‘बिर्सिदेउ भन्छु’ गीत गएकी छिन्। गान्तोकमा भएको दार्जीलिङको लोकप्रिय ब्याण्ड ‘कार्निभल’को कार्यक्रममा कक्षा नौमा हुँदा गीत गाएकी थिइन्। यसका संस्थापक सुपरिचित संगीतकार चन्दन लोम्जेललाई सम्झिँदै जोशिला र प्रेरणादायी व्यक्ति बताउँछिन्। युट्युबमा हेर्दै जाँदा एउटा हिन्दी गीतले ध्यान खिच्यो। सृजनाले गएकी यो हिन्दी गीत ‘चमकते सितारे भी क्या अंधेरा सा क्यों छा गया’ मन छुने र माधुर्य छ। तारा र जुनसितको कवितामय संवाद भएको यस गीतका गीतकार र संगीतकार विधान थापा हुन्। नेपाली आधुनिक गीत, भजन, हिन्दी गीतबाहेक सृजनाले लोकगीतहरू तीज, देउसी-भैलो, तामाङ सेलो पनि गएकी छिन्।

सृजना सानैदेखि बाल विकासमा जाँदा मानव मूल्य र अध्यात्मिकताबारे जान्ने अवसर पाइन्। आज उनी बाल विकासकै शिक्षिका बनेर बालबालिकाहरूलाई मानव मूल्य र आध्यात्मिक विषयहरू बुझाउँछिन्। संगीत र अध्यात्मभन्दा फरक छ उनको पेशा  इन्जिनियरिङ। विभागीय कार्यमा व्यस्त रहँदै उनले संगीत, बाल विकासको कक्षा, सामाजिक कार्यमा समय व्यवस्थापन गर्छिन्। कहिलेकाहीं पैह्रोले बाटो बन्द हुँदा विभागका टोलीसँगै कार्यमा व्यस्त हुनुपर्छ। यस्तो कार्य अचानक हुनेगर्छ। कहिले विभागीय काम, रेकर्डिङ र अन्य काम एकै दिन पर्दा समय मिलाएर धान्छिन्। आफ्नो अघिको चुनौतीलाई वास्ता गर्दिनन्, र उनी भन्छिन्, ‘‘म थाक्छु, सक्दिनँ भोलि गर्छु पर्सि गर्छु भन्ने हुँदैन। म टाइम चाहिँ म्यानेज गर्छु।’’ उनी भन्छिन्, ‘‘दिनभरिको व्यस्ततापछि साँझमा भजन गर्दा मन आनन्द र शान्ति हुन्छ।’’

सानैमा वन-जंगल, पर्यावरण संरक्षण सम्बन्धि गीतहरू गाउँदा पर्यावरणको महत्त्वलाई बुझिन्। उनी भन्छिन्, ‘‘मैले पर्यावरणसित खेल्ने, काम गर्ने मौका पाएँ।’’ वन-जंगल संरक्षणबारे उनी भन्छिन्, ‘‘एउटा रुख काटेपछि दशवटा भन्दा बढ़ी रुखहरु रोप्नुपर्छ। सिक्किममा पर्यावरणप्रति जागरुकता बढ़्दै गएको उनी बताउँछिन्।’’ नेपाली लोकगीतमा बढ़ी रुचि राख्ने सृजना यसलाई आध्यात्मिकसित गाँस्छिन्।  यसबारेमा उनी भन्छिन्, ‘‘लोकगीतमा पहिला बुढ़ापाकाहरूले भनेका कुराहरूमा आध्यात्मिक दर्शन झल्किएको पाउँछौं। जस्तै लोकगीतमा ‘माटीको काया, माटीमै मिल्छ…’ भन्दा यता आध्यात्मिकमा पनि पञ्चतत्व हुन्छ आकाश, वायु, अग्नि, जल, पृथ्वी, अन्त्यमा त्यसमै मिलेर जानुपर्छ। त्यसले गर्दा केको लोभ, केको अहंकार भन्ने कुरा यता आध्यात्मिकमा सिकाउँछ भने यता हाम्रो लोकगीतमा पनि ‘माटीको काया माटीमै मिल्छ..’ सबै माटोमै मिलेर जान्छ भन्ने कुरा मेल खाएको जस्तो लाग्छ मलाई।’’ उनी भन्छिन्, ‘‘संगीत मेरो साधना हो, र माया गर्छु। संगीतलाई अझ व्यापकता दिन चाहन्छु।’’

उनका अनुसार, कलाको क्षेत्रमा सिक्किम सरकारले सधैं हौसला प्रदान गरिरहेको छ। संगीतको यात्रामा शुभचिन्तकहरू, साथीसंगीहरू, दर्शक-श्रोताहरू सधैं प्रेरणा र उर्जा बनेको उनी बताउँछिन्। इन्जिनियरिङ, अध्यात्म र संगीतलाई सन्तुलनमा राख्दै उनले समर्पण र लगन भए जीवनका फरक पाटाहरूलाई पनि एकैसाथ सम्हाल्न सकिन्छ भन्ने दर्शाएकी छिन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ