चौरस्ताको घोडा अस्तवल परिसरको भ्रमणमा पुगेका जीटीए मुख्य कार्यपाल अनित थापाले त्यहाँको फोहोर देखेर भने, “यहाँ मैला फ्याँक्ने हामी नै हौं भनेर स्वीकार गर्नुपर्छ। तब मात्र परिसर सफा रहन्छ। जतासुकै मैला फ्याँक्ने मान्छेको बानी पुरानो हो। बिस्तारै यो हट्नेछ।” आज जीटीए मुख्य कार्यपाल अनित थापा अनि दार्जीलिङ्ग नगरपालिकाका नगर अध्यक्ष दिपेन ठकुरीले चौरस्ता परिसरको सफाइमाथि नियन्त्रण गर्न परिसरको भ्रमण गरेका थिए। भ्रमण समय घोडा अस्तवल छेउछाउ प्रशस्त मात्रामा फोहोरमैला फ्याँकिएको पाए। उनीहरूले स्थानीय मानिसहरू, व्यापारीहरूसँग परिसरलाई सफा राख्ने अनुरोध गरे। दिपेन ठकुरीले अनित थापाको भ्रमणलाई महत्वपूर्ण मान्दै भने, “आज हामीले अस्तवल छेउको भ्याट (फोहोरदानी) हटाएका छौं । त्यस ठाउँको फोहोरमैला उठाउन दार्जीलिङ्ग नगरपालिकाले अब उसो समय अनुसार नै फोहोरमैला उठाउने गाडी पठाउने छ । मैला गाडी आउने समय बिहान 7 देखि 8 बजेसम्म अनि साँझ 6 देखि 7 बजेसम्म रहनेछ।”
