तीनधारे, (निसं): गोपाल योञ्जन संगीत सम्मान यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा 2023 देखि शुरु गरिएको वाङ्गेयकार गोपाल योञ्जन संगीत पुरस्कार यसपाली तीनधारे क्षेत्रका संगीतकार एंव संगीतमा गुरुजी बरुण रसाइली र तीनधारे चियाबारी निवासी गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कार गौरव मञ्च तीनधारेको आयोजनामा आगामी 30 अगस्तमा आयोजना गरिने भएको छ। उक्त दिन नै स्थानीय तीनधारेका संगीतकार र गीतकारलाई पुरस्कार प्रदान गरिने भएको जानकारी गौरव मञ्च तीनधारेको संयोजक सुप्रेम छेत्री र सदस्ता युवराज सुन्दासले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार गौरव मञ्च तीनधारेले 2023 देखि स्थानीय संगीतकार र कलाकारहरुलाई सम्मान जनाउने क्रम शुरु गरेका थिए। यस अन्तर्गत पहिलोपटक 2023 मा संगीतकार सुरेन बम्जनलाई यो सम्मान प्रदान गरिएको थियो। त्यसपछि गत वर्ष 2024 मा गायक संगीतकारहरु क्रमैले गोपाल गजमेर, गौतम मोक्तान र चन्दु भुसाललाई प्रदान गरिएको थियो। यसपाली यो सम्मान तीनधारेकै संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिने भएको छ।
