खरसाङ, (निसं)ः आज खरसाङ नगरपालिको वार्ड नम्बर 7 स्थित लोवर शेर्पा बस्तीमा सर्वोदय संध भवनमा शनिवारदेखि बालविकास कक्षा आरम्भ गरिएको छ। सर्वोदय सङ्घका शिक्षित युवतीहरूको समहूले गाउँका बाल-बालिकाहरूलाई सुमार्गमा डोऱ्याउने उद्देश्यले उक्त बालविकास कक्षा खरसाङ साई समितिको सहयोगमा आरम्भ गरेको हो। शनिवार बालबाकिस कक्षा आरम्भ मुख्य अतिथि खरसाङ चिम्नी देवराली समष्टि सभासद् श्याम शेर्पाको बहुलीबाट दियो बालेर गरियो। उक्त कार्यक्रममा बाल-बालिकाहरूको साथमा अभिभावक अनि गाउँका वरिष्ठ नागरिकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा खरसाङ साई समितिबाट गुरुमा जयन्ती आले, गीता प्रधान अनि राखी प्रधानले बालविकास कक्ष कसरी सञ्चालन गरिन्छ भनी प्रशिक्षण प्रदान गरे। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै सभासद् श्याम शेर्पाले सर्वोदय सङ्घका ती सचेत र शिक्षित युवतीहरूप्रति आभार प्रकट गरे, जसको सोचले लोवर शेर्पा बस्तीमा बालविकास कक्षाको शुरुआत भयो भनी बताउदै तिनले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण गाउँवासीलाई पनि धन्यवाद दिए। सभासद्ले बालविकास सञ्चालन गर्नुको निम्ति कुनै सहयोगको अवश्कता परे सदैव सहयोग गरिदिने वचन दिए। उक्त कार्यक्रममा वरिष्ठ नागरिक पासाङ लामा अनि फुरलमू शेर्पाले पनि वक्तव्य राखेका थिए, कार्यक्रमलाई सुचारु ढङ्गमा आयोजना गर्नको निम्ति नम्रता खातीले सहयोग पुऱ्याएका थिए।
