खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह शैक्षिक भवनको उद्घाटन समारोह आइतबार गरिएको थियो। महाविद्यालय सञ्चालन समितिका सभापति एवं वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको शुरुमा डा. प्यासी र जीटीएको प्रमुखको बाहुलीबाट रिबन काटेर खरसाङ महाविद्यालयको नयाँ भवनको उदघाटन गरिएको थियो। त्यसपछि कार्यक्रममा खरसाङ महाविद्यालयको संस्थापकहरु क्रमैले पीटी लामा, डीबी छेत्री र डीएन प्रधानको तस्वीरमा पुष्पार्पण साथै धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। प्राध्यापक डा सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्राध्यापक गंगाप्रसाद शर्माले राखेका थिए। कार्यक्रममा स्वागत नृत्यको रुपमा मारुनी नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले महाविद्यालयको वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको मुख्य सल्लाहकार अमर लामा, सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, डा. अनुराधा राई, वरिष्ठ पत्रकार केशव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।
