गोर्खाल्याण्ड क्षेत्रीयप्रशासनका प्रमुख कार्यपाल अनित थापाले जीटीए क्षेत्रका लागि अनिवार्य क्षेत्रीय सिनेमा नीतिमा नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गर्दै पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई एउटा पत्र लेखेका छन्। पत्रमा उल्लेख गरिएको छ, देशका विभिन्न क्षेत्रका भाषा, संस्कृति र सिनेमा संरक्षण तथा प्रवर्द्धनको निम्ति पश्चिम बंगाल सरकारले गरेका प्रयासहरु स्वागतयोग्य छन्। यसै प्रसंगमा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत नेपालीभाषी समुदायको सांस्कृतिक पहिचान र समृद्धिको लागि सिनेमाघरहरुमा अनिवार्यरुपमा नेपाली भाषाका चलचित्र प्रदर्शन गराउने व्यवस्था आवश्यक छ भन्ने मेरो गम्भीर माग रहेको छ।
यदि हाम्रो मौलिक र स्थानीय फिल्म संस्कृतिको संरक्षण र समुचित प्रतिनिधित्व नहुने हो भने, “क्षेत्रीय सिनेमा” नीति अपूरो रहन्छ र जीटीए क्षेत्रका आवाज र कथाहरू विलुप्त हुन्छन्। यिनै पाटाहरूलाई सम्बोधन गर्दै, यस्तो नीति कार्यान्वयनले हाम्रो नयाँ पुस्ताका नेपाली फिल्मकर्मीहरूलाई जोश दिन्छ, नयाँ प्रतिभालाई अवसर सिर्जना गर्छ, र राज्यको समावेशी सांस्कृतिक दृष्टिकोणलाई अझ सबल बनाउँछ भन्ने अपेक्षा लिएको छु।
हाम्रो भाषिक र सांस्कृतिक पहिचानलाई राज्य स्तरीय नीति तथा कार्यान्वयनमा उचित स्थान मिलोस। आशा छ, पश्चिम बंगाल सरकारको सकारात्मक दृष्टिकोण रहनेछ।
