काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ ।
नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ । त्यति मात्र होइन, टोलीको प्रतियोगितामा अपराजित यात्राले पनि कीर्तिमान ९ खेल पुर्याएको छ ।
यसअघि नै क्वालिफायर–वानका लागि छनोट भइसकेको हुनाले ललितपुरसामु ढुक्क भएर खेल्ने अवसर थियो । यो नतिजापछि ललितपुर अंकतालिकाको शीर्षमा उक्लेको छ । टोलीको १२ अंक भएको छ । टोलीले गर्न नसकेको काम एउटै रह्यो, शीर्षस्थानमा रहने निश्चितता । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीले बिहीबार एफसी चितवनको सामना गर्दा ललितपुरलाई उछिन्ने अवसर हुनेछ । संयोगले क्वालिफायर–वानमा ललितपुरको प्रतिद्वन्द्वी धनगढी नै हो ।
पोस्टम्याच कन्फ्रेन्समा ग्रेसनले आफ्नो टिम साँच्चै अपराजित रहनुलाई ठूलै उपलब्धि माने । उनले भने, ‘समग्रमा हाम्रा खेलाडीले राम्रो प्रयास गरे । तीन जित र तीन बराबरीको अपराजित यात्रा राम्रै रह्यो ।’ उनले आफ्नो टिमको ध्यान त्यही क्वालिफायर–वानमा हुने बताए । यसपल्ट मिडियासामु प्रस्तुत हुने खेलाडी सनिश श्रेष्ठ रहे । उनको भनाइ थियो, ‘यो खेल सोचेजस्तै भयो । लिग यात्रा मिश्रित खालको रह्यो, सुरुमा गति लिन गाह्रो भयो । अपराजित रह्यौं, त्यसमा खुसी छौं ।’
फेरि असफल
दोस्रो सिजन एनएसएल खेलिरहेको झापा फेरि एकपल्ट असफल रह्यो । प्लेअफ नै पुग्न सकेन । गत सिजन प्लेअफ नजिक पुगेर त्यसलाई आत्मसात गर्न असफल झापा यसपल्ट त लिग चरणको आफ्नो अन्तिम खेल अगाडि नै प्रतियोगिता बाहिरिसकेको थियो । त्यसैले ललितपुरको सामना गर्दा झापा आफैं पनि तनावबाट मुक्त रहेको स्थिति थियो । झापाले एउटै खेल जित्न सकेन, पाँच खेल बराबरी खेलेर ५ अंकमै मात्र सीमित रह्यो ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरले नवीन लामाको गोलबाट ५५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि लाकेन लिम्बूले झापाका लागि ६५ औं मिनेटमा बराबरी गोल फर्काए । यो खेल आफैंमा ‘अर्गानिक’ रह्यो, किनभन्दा अन्तिम १० मिनेट दुवै टिमका सबै खेलाडी नेपाली रहे, कोही विदेशी रहेनन् । अझ लतिलपुरले दोस्रो हाफमै सबै नेपाली खेलाडी उतारेको थियो । विदेशी खेलाडीको बाहुल्य रहेको यो सिजन यो खेल यही कारणले पनि विशेष रह्यो ।
कटुवालले मागे माफी
झापाका प्रशिक्षक प्रवेश कटुवालले आफ्ना लागि यो प्रतियोगिता ठूलो शिक्षाका रूपमा रहेको बताए । उनले थपे, ‘हामी प्लेअफ पुग्न सकेनौं, त्यसैले निराश छौं । एक प्रकारले हाम्रो यात्रा पीडादायी नै रह्यो । त्यसैले म झापा टिमका सबै समर्थक, प्रशंसक र लगानीकर्तासँग माफी माग्न चाहन्छु । हामीले सबै खेलमा अवसर सिर्जना गर्न नसकेको पनि होइन, तर ती गोलमा परिणत भएन । मेरा लागि यसपल्टको प्रतियोगिता एकदम राम्रो सिकाइ रह्यो ।’
खेलपछि चर्चाको एउटा विषय एरोन थापा रहे । अन्तिम खेलमा उनले सुरुदेखि नै खेल्ने अवसर पाए । तर उनलाई पर्याप्त मौका नदिएकोमा भइरहेको आलोचनाबारे कटुवाल मात्र होइन, व्यवस्थापक विजेन पुडासैनीले पनि आफ्नो मत राखे । ‘हामीले एरोनलाई सक्दो बढी मौका दिएका नै हौं । उनी प्रतिशाली खेलाडी हुन्, त्यसैले उनलाई अनुबन्ध पनि गर्यौं,’ कटुवालले भने । व्यवस्थापक पुडासैनीले भने एरोनबारे जे जस्तो अनावश्यक चर्चा भइरहेको छ, त्यसमा कुनै प्रकारको सत्यता नभएको दाबी गरे ।