खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १९ स्थित उजेरी बस्तीका ६६ घरधुरीलाई समेटेर गठित ग्राम सुधार समितिका प्रतिनिधिहरूले शुक्रबार नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेट गरी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा हाउसिङ फर अल योजनाको रकममा देखिएको अनियमितता, स्वच्छ पेयजल उपलब्धताको अभाव, सडकको मरम्मति, ग्रामवासी धिरज पहरीको घर छेउको पैह्रोको जोखिम, क्याच ड्रेनको निर्माण आवश्यकताजस्ता विषयहरू स्पष्ट रूपमा उठाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै स्ट्रीट लाइटको संख्या वृद्धि गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ। भेटपछि ग्राम सुधार समितिका पदाधिकारी लाक्पा लामा र सन्तोष पहरीले नगरपालिकाको तर्फबाट सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिएका छन्।
