काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सरकार परिवर्तन हुने हल्ला आजबाट सकिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताप्रति इंगित गर्दै महासचिव पोखरेलले नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजदेखि अन्त्य भएको बताएका हुन् ।
महासचिव पोखरेलले लेखेका छन्, ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ ।’ उनले अब नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुनुपर्ने पनि बताएका छन् ।
वर्तमान गठबन्धन सरकारमा ‘समस्या’ आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे आशंका मेटाउने प्रयास भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भएको छलफलमा गठबन्धनभित्र देखिएका समस्याको समाधान र आशंका मेटाउनेबारे गम्भीर गृहकार्य गर्ने निधो भएको स्रोतको भनाइ छ ।
बालुवाटार स्रोतका अनुसार भेटमा ओलीले राजनीतिक संयन्त्रमा रहेका नेताहरूबाट सरकारको सार्वजनिक रूपमा आलोचना हुनु उचित नभएको बताएका थिए । पछिल्लो समय संयन्त्रमा रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारले काम गर्न नसकेको भन्दै कडा आलोचना गरिरहेका छन् ।