काठमाडौँ — फिल्म घोषणा हुँदै प्रदर्शन मिति तोक्नु नेपाली फिल्मको पछिल्लो परिचय नै बनिसक्यो । फिल्म बन्नुअगाडि नै प्रदर्शन तय गर्दा निर्माणमा हतारिने थुप्रै उदाहरण छन् । तर, नेपाली फिल्मकर्मीलाई हतारोको के पर्वाह ? उनीहरू प्रदर्शन मिति तोक्न तँछाडमछाड नै गरिरहेका हुन्छन् ।
रोचक कुरा त यसरी निर्माण घोषणा हुँदै प्रदर्शन तय भएका एउटै मितिमा २-३ फिल्म हलमा सो पाउनका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।
नयाँ वर्षको अवसरमा एक हुल फिल्मकर्मीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । कतिपयले प्रदर्शन मिति पनि तोकिसकेका छन् । निर्देशक अशोक शर्माको ‘डबल ट्रिपल’ फागुन १ मा प्रदर्शनमा आउने घोषणा भएको छ ।
निर्देशक उपेन्द्र सुब्बाले पनि ‘जारी २’को घोषणा गरेका छन् । राजबहादुर सानेको निर्देशनमा तयार ‘सिटामोल’ टिमले पनि फिल्मको प्रदर्शन मिति तय गरेको छ । यो फिल्म साउन २३ देखि प्रदर्शनमा आउने बताइएको छ ।
त्यस्तै, तुलसी घिमिरेको निर्देशनमा हालै छायांकन सकिएको ‘पहाड’ले पनि फिल्म प्रदर्शनका लागि कात्तिक ७ को मितिलाई पक्का गरेको छ । नयाँ वर्ष ०८२ कै अवसरमा ओम प्रतिकले नयाँ फिल्म ‘ढुकढुकी’ बनाउने घोषणा गरेको हो । सुनिल निउरेले पनि ‘पुष्प लता’ बनाउने घोषणा गरेको हो । यम शेर्पाले पनि यही अवसरमा ‘मिरमिरे’ भन्ने शीर्षकको फिल्म घोषणा गर्दै ०८२ भित्रमा प्रदर्शन गर्ने योजना सार्वजनिक गरेको छ ।
अब यी फिल्महरू तोकिएको मिति र समयमै बनेर प्रदर्शनमा आउलान् या नआउलान् त्यो भने हेर्न बाँकी छ ।