१ जुलाई २०१५ मिरिक अनि टिङलिङबनसीले भूल्न नसक्ने दिन।१जुलाई २०१५ मा हात्तीसुडे पानीको साथमा आएको विनाशकारी पैह्रोले टिङलिङ लिम्बूधुराको नक्सा नै परिवर्तन गरिदिएको थियो। विहान पख लगभग तीन बजी टिङलिङ लिम्बूधुरामा गएको पैह्रोले १९ जनाको ज्यान लिएको थियो भने धेरै बेघर बनेका थिए। त्यस गाउँको सिरानबाट सोरिएर आएको पैह्रोले टिङलिङ लिम्बूधुरा क्षेत्रको अन्नवाली, प्रशुप्राणी, धन जनको धेरै क्षति गरेको थियो। त्यो पैह्रोले सुवेदी परिवारको ११ जनाको ज्यान लिएको थियो भने आजसम्म रामलाल सुवेदी, कुमारी सुवेदी अनि श्लोक सुवेदीको मृतदेहसम्म भेटिएको छैन। पैह्रोमा ज्यान गुमाउने १९ जनामध्ये सुवेदी परिवारका ११ सदस्य रहेका छन् भने मोहनलाल मगर, सुवास आलेको परिवार पनि पैह्रोको चपेटमा परेर ज्यान गुमाएका थिए। हाल पैह्रोमा घर क्षति हुनेहरूको पुनर्वास भएको छ भने पैह्रो पीडितहरूलाई टिङलिङ टौवा नजीग चियाकमानले जमीन प्रदान गरेपछि पुनर्वास गरिएको छ। पैह्रोबाट ज्यान बचाएका बीआर राणाले आज पनि आङ जिरिङ हुने बताए। त्यसपछि उनले सबै पीडितहरूको समस्या बताउँदै सरकार समक्ष सहयोगको माग गरे।











