सिटोङ लाटपञ्चर समष्टि अन्तर्गत रहेको सेलपु उच्च माध्यमिक पाठशालामा सम्पन्न विद्यालय प्रबन्धन समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) ले ऐतिहासिक विजय हासिल गरेको छ। बिहीबार सम्पन्न चुनावमा बीजीपीएमका सबै छ जना उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
चुनावमा कुल ६२ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए। प्राप्त नतिजाअनुसार बीजीपीएमले ५२ प्रतिशत मत प्राप्त गर्दै विद्यालय प्रबन्धन समितिको सम्पूर्ण नेतृत्व हात पारेको छ। अब बीजीपीएमले नै विद्यालय प्रबन्धन समिति गठन गर्ने भएको छ।
