हत्केलाको स्क्रिनबाट रजतपटसम्म पदम तामाङ

Authored By: सञ्जय प्रधान 

Share this news

जीवनले बारम्बार परीक्षा लियो, तर पदम तामाङले हार मानेनन्। फूटबल मैदानमा सपना पछ्याउँदै दौड़िएका उनी समयको मोड़सँगै क्यामेराको अगाड़ि उभिए। गान्तोक, सिक्किमबाट गाउँघरको सरल जीवन, कमेडी र समाजका यथार्थलाई भिडियोमार्फत प्रस्तुत गर्दै उनले लाखौँ दर्शकको मन जिते। आज उनी सफल युट्युबरसँगै नेपाली चलचित्रका आशालाग्दा अभिनेता पनि हुन्।

‘‘मेरो बेस्ट समय भनेको बाबुलाई आफ्नो घर बनाएर राख्नसकेँ- यही नै हो मेरो खुशीको समय’’

मन्दिर जाँदा वा बाटोमा देवालय देख्दा पदम तामाङको एउटै प्रार्थना हुन्थ्यो, ‘‘हे भगवान, मलाई सबैले चिन्ने बनाइदिनुहोस्।’’ खुला स्वभावका पदम तामाङ हाँस्दै पुराना कुरा सम्झिन्छन्। श्रीमान तामाङ र स्व० पेमकित लेप्चाका चार छोरामध्ये कान्छा पदम अप्पर स्यारी र सिच्छे सिनियर सेकेण्डरी स्कूलमा कक्षा नौसम्म पढ़े। अहिले २९ वर्ष पुगेका पदमले सानै उमेरमा हातगोड़ा, पाइताला पिल्साउँदै कड़ा संघर्षबाट जीवनलाई गहिरोसित बुझेका छन्।

himalaya darpan today news

स्कूल पढ़्दा निखिल उप्रेतीको चलचित्र अग्निपथहेरेर स्टन्ट गर्दा लड़ेर टाउकोमा चोट लाग्दा तीन सिलाइ पर्‍यो। ‘‘नरियलको डोरीले बाँधेर स्टन्ट गर्दा ब्लड सर्कुलेट नभएर झन्डै मरे’’, सम्झिएर हाँस्छन्। फूटबल राम्रो खेल्थे, र स्कूल छोड़ेपछि फूटबलर बन्ने सपना लिएर ब्वाइज क्लबबाट खेल्न थाले। यसैबीच आमाको देहावसान हुँदा निक्कै कठिन परिस्थितिमा गुज्रिए, कारण आमालाई असाध्यै माया गर्थे। त्यसपछि उनको जीवनमा नयाँ मोड़ आयो- आफ्नै खुट्टामा उभिने सोच बनाए।

सन् २०१७ मा पदमले गोवाको होटलमा किचन हेल्परको काम गरे। हिउँदमा पर्यटक बाक्लिएको सिजनमा गोवा पुगेका थिए। होटलको काम निक्कै चर्को थियो, पदम यसमा नयाँ थिए। धेरथोर अंग्रेजी बोल्नसक्ने हुँदा उनलाई वेटरको काममा सारियो। तीन महिना काम गरेर बाबुलाई स्याहार्न गान्तोक फर्किए। गान्तोक आएर फेरि फूटबल खेलेर अघि बढ़्ने विचार गरे। उनले सिक्किम लिग खेले अनि सिक्किमबाट राष्ट्रिय स्तरमा अन्डर-१३, अन्डर-१७ र अन्डर-१९ प्रतियोगिता खेले। राष्ट्रिय स्तरका प्रतियोगिता दिल्ली, तामिलनाडु र उत्तर-पूर्वीय राज्यमा खेले।

बाबुले ७२ वर्षको उमेरमा पनि काम गर्ने हुँदा पदमले आफै काम गर्न र बाबुलाई घरमै राखेर हेरचाह गर्न फूटबललाई तिलाञ्जली दिए। सन् २०१८ मा पदम अञ्जली छेत्रीसित प्रणयसूत्रमा बाँधिएर जीवनको नयाँ गोरेटोमा लागे। औषधी कारखानामा नोकरी गर्न थाले। आफूलाई युट्युबमा पहिलादेखि नै कन्टेन्ट बनाउन इच्छा भएको पदम बताउँछन्। सो बेला युट्युबमा कन्टेन्ट बनाउने चलन खासै थिएन। उनी भन्छन्, ‘‘त्यति बेला भनेजस्तो फोन थिएन- ट्याक ट्याके फोन थियो।’’ फोन जोगाड़ गरेर दैनिक जीवनशैलीको १०१५ वटा भिडियो हालिसकेका थिए। पदमकी श्रीमतीले पनि भिडियोहरू बनाएर हाल्ने गर्थिन्।

औषधी कम्पनीकै कर्मचारी जसलाई पदमले मनोज दाभन्छन्, उनकै सुझावअनुसार कमेडी भिडियो बनाएर हाल्न थाले। भोजपुरीवाला नेपाली बोलीको कमेडी भिडियो बनाएर गरिमा इन्टरटेनमेन्टको नामबाट युट्युबमा हाले। अपलोड गरेको छोटो समयभित्र नै यो भिडियोले करिब दुई हजार भ्यूज पाउँदा थप उर्जा पाए। कहिले दैनिक जीवनशैली, कहिले ड्रग्स, कहिले ठगिने कारणहरूलाई कमेडीकै रूपमा सामाजिक सचेतनामूलक भिडियो बनाएर हाल्न थाले, मानिसहरूले मनोरञ्जनको रूपमा मन पराए।

सन् २०२० मा कोराना महामारीको लकडाउनमा बनाएको मासु काट्दैछ हैभन्ने भिडियो धेरै भाइरल भयो, एकै दिनमा सबस्क्राइबर हजारकै हाराहारीमा पुग्यो। बाटोमा सबैले पदमलाई मासु भाईभनेर बोलाए। उनी भन्छन्, ‘‘त्यति बेला हजार सबस्क्राइबर पुगेपछि युट्युबबाट पैसा आउँछ भन्ने हल्ला थियो। तर वाच टाइम पनि पुग्नु पर्दो रहेछ।’’ पूर्ण रूपमा युट्युबकै कन्टेन्ट बनाउन कम्पनीको काम छोड़ेर बिल्डिङ निर्माणमा मजदुरको काम गरे। यहाँ उनले भिडियो बनाउने केही समय पाउँथे। विभिन्न कन्टेन्ट अपलोड गर्दा उनको सबस्क्राइबर ३०-4० हजार हुँदै तेज गतिमा बढ़्यो। ‘‘अब तलाईं रिग्रेट भएन!’’ भन्ने भिडियो अझ बढ़ी भाइरल भयो। यसबाट उनको सबस्क्राइबर एक लाख पार गर्‍यो।

मजदुरी काम गर्दै भिडियो निरन्तर हालिरहे। सन् २०१७ को अन्तदेखि युट्युबमा भिडियो हाल्न थालेको तीन वर्ष बितिसक्दा सन् २०२० को अन्ततिर ब्यांकबाट फोनमार्फत बाहिरबाट पैसा आएको सूचना पाए। उनी भन्छन्, ‘‘पहिला मैले विदेशमा बस्ने नेपाली दाज्यु-भाईले माया गरेर पठाएको ठाने। ब्यांकमा म्यानेजरले भन्दा युट्युबबाट पैसा आएको थाहा पाएँ।’’ पैसा आएको दुई दिनमै उनले मजदुरको काम छोड़ेर पूरा समय युट्युबमा लगाए। एक लाख सब्स्क्राइबर पुग्दा युट्युबबाट सिल्भर बटनअनि दश लाख पुग्दा गोल्डन बटनपाए।

पदमले प्रायः गान्तोकको देवारालीस्थित ट्याक्सी स्ट्याण्डनजिक आफ्नै जन्मघर वरिपरि छायांकन गर्छन्। साधारण परिवारको संघर्ष र आकांक्षालाई हस्यौलीमा प्रस्तुत गरेर यथार्थ चित्रण गर्छन्। उनका कतिपय कन्टेन्ट गम्भीरतापूर्वक हेर्दा भूइँस्तरका मानिसको जीवन संघर्षबारे सोच्न बाध्य बनाउँछ। यस्तै यथार्थपरक कन्टेन्टहरूले युट्युबबाट पदम सिक्किम, दार्जीलिङ साथै छिमेकी मुलुक नेपालमा परिचित बने। उनको भिडियो हेरेर धेरै मानिसहरूले केही क्षण भए पनि दु:ख-पीड़ा बिर्सिएर मानसिक तनावबाट राहत पाउँछन्। पदमसित युट्युबमा उनकी श्रीमती अञ्जली, भ्लगर साथीहरू पाल्देन शेर्पा, दिपेश छेत्री, जोहन गुरुङ, अर्जुन छेत्री, आमोश सुन्दास देखिन्छन्। पदमकी श्रीमती अञ्जलीको पनि आफ्नै च्यानल भाउज्यूको किचनछ भने अरु साथीहरू पनि आ-आफ्नै च्यानल चलाउँछन्। अहिले पदमका साथमा दिपेश छेत्री छन्। पदमले बेलाबखत आफ्नो श्रीमती, बाबु, दुई सानी छोरी गरिमा र एमालाई पनि भिडियोमा प्रस्तुत गर्छन्।

पदम सफल युट्युबर हुन्। यसैको कमाइबाट उनले सिङताममा दुई तला सुन्दर घर बनाउन सक्षम बने। दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्भन्नेमा पर्छन् उनी। आवश्यक परेकाहरूलाई चुपचाप सहयोग गर्छन्, र यस्ता भिडियो-फोटो हालेर प्रचार गर्दैनन्।

युट्युबको लोकप्रियताबाट पदमले नेपालबाट चलचित्रहरूको प्रस्तावहरू पाए। तर उनको पहिलो चलचित्र खरसाङबाट विवेक राईद्वारा निर्देशित लिपस्टिक गोलाईबन्यो। ‘‘यो चलचित्रबाट धेरै सिक्ने अवसर पाएँ’’, उनी भन्छन्। यसपछि नेपालबाट होस्टेल-३को लागि प्रस्ताव पाए, यसमा अभिनयको दक्षताले नेपाली चलचित्रको संसारमा उदाए। नेपालकै चलचित्र गोबर गणेशमा अभिनय गरेका छन् भने अब ११ सेप्टेम्बर २०२६ मा उनीद्वारा अभिनीत चलचित्र बेहुलीरिलिज हुने तयारीमा छ। अझ प्राय: पाँचवटा चलचित्र आउन लागेको छ।

अचानक १4 लाख सब्स्क्राइबर पुगेको पदमको युट्युब च्यानल गरिमा इन्टरटेनमेन्टबन्द हुँदा निक्कै क्षति साथै चोट पर्‍यो। बेटिङ प्रोमोशनका कारण च्यानल बन्द भएको उनी बताउँछन्। अहिले नयाँ गरेर गरिमा इन्टरटेनमेन्टकै नाममा युट्युब च्यानल शुरु गरेका छन्।

आमाबाबुलाई असाध्यै माया गर्ने पदम भन्छन्, ‘‘आमाबाबुले हामीलाई संसार देखाइदिएर ठूलो गुण गरेका छन्, आफूले खाइनखाई छोराछोरीलाई स्याहार्छन्। यसैले आमाबाबुको हेरचाह गर्नु मान्छेको परम कर्तव्य हो।’’ उनी अझ भन्छन्, ‘‘मेरो बेस्ट समय भनेको बाबुलाई आफ्नो घर बनाएर राख्नसकेँ- यही नै हो मेरो खुशीको समय।’’ सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङबाट उनी सम्मानित भइसकेका छन्।

जीवनका अनेकौँ मोड़, संघर्ष र असफलतालाई अवसरमा बदल्दै पदम तामाङले प्रमाणित गरेका छन्- सपना ठूलो हुनुपर्छ, शुरुवात सानो भए पनि फरक पर्दैन। मैदानबाट क्यामेरासम्म र युट्युबबाट चलचित्रसम्मको उनको यात्रा निरन्तर मेहनत, धैर्य र पारिवारिक मूल्यको प्रेरणादायी उदाहरण हो।


Share this news
आजको रोजाइ
गोर्खा जनमुक्ति मोर्चाद्वारा सिप्चु बलिदान पार्क सरसफाइ, शहीदहरूको सम्मानमा संरक्षण अभियान

गोर्खा जनमुक्ति मोर्चाद्वारा सिप्चु बलिदान पार्क सरसफाइ, शहीदहरूको सम्मानमा संरक्षण अभियान

धर्मेन्द्र प्रधानको राजीनामा: विद्यार्थी आन्दोलनपछि शिक्षा मन्त्री पदबाट बाहिरिए

धर्मेन्द्र प्रधानको राजीनामा: विद्यार्थी आन्दोलनपछि शिक्षा मन्त्री पदबाट बाहिरिए

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि CJP संस्थापक अभिजीत दिपकको प्रतिक्रिया: ‘हामीले यो गरिसकेका छौं’

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि CJP संस्थापक अभिजीत दिपकको प्रतिक्रिया: ‘हामीले यो गरिसकेका छौं’

क्राइम थ्रिलर शैलीमा ‘मास्टर्नी’को नयाँ पोस्टर सार्वजनिक, अगस्ट २१ देखि प्रदर्शनमा आउने

क्राइम थ्रिलर शैलीमा ‘मास्टर्नी’को नयाँ पोस्टर सार्वजनिक, अगस्ट २१ देखि प्रदर्शनमा आउने

चलचित्र ‘बा : एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक, बाबुको संघर्षको कथा उजागर हुने

चलचित्र ‘बा : एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक, बाबुको संघर्षको कथा उजागर हुने

देशव्यापी विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

देशव्यापी विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

भारतमा ChatGPT डाउन: हजारौँ प्रयोगकर्ता अचानक सेवा अवरोधबाट प्रभावित

भारतमा ChatGPT डाउन: हजारौँ प्रयोगकर्ता अचानक सेवा अवरोधबाट प्रभावित

पेपर लिक विधेयकको व्याख्या: १० वर्षसम्मको जेल र १० करोड रुपैयाँ जरिवानाको प्रस्ताव

पेपर लिक विधेयकको व्याख्या: १० वर्षसम्मको जेल र १० करोड रुपैयाँ जरिवानाको प्रस्ताव

धर्मेन्द्र प्रधानले दिए भारतको केन्द्रीय शिक्षा मन्त्री पदबाट राजीनामा

धर्मेन्द्र प्रधानले दिए भारतको केन्द्रीय शिक्षा मन्त्री पदबाट राजीनामा

मुख्यमन्त्रीद्वारा सालघारीमा नवनिर्मित पेमा चोलिङ गुम्पाको उद्घाटन, महिला सशक्तिकरण र धार्मिक सम्पदाको संरक्षणमा जोड

मुख्यमन्त्रीद्वारा सालघारीमा नवनिर्मित पेमा चोलिङ गुम्पाको उद्घाटन, महिला सशक्तिकरण र धार्मिक सम्पदाको संरक्षणमा जोड

आजको रोजाइ