दार्जीलिङ पहाड़ चियाका लागि विश्वप्रसिद्ध छ। तर बदलिँदो समयसँगै अब यही पहाड़मा कफी पनि नयाँ आर्थिक सम्भावनाका रूपमा मौलाउन थालेको छ। हालसम्म सीमित प्रयोगमा रहेको कफी खेतीलाई व्यवस्थित रूपमा विस्तार गर्ने लक्ष्यसहित कालेबुङका उद्यमी युवा उमेश गुरुङले फरक अभियान शुरु गरेका छन्। कम्युनिटी प्रोजेक्टमार्फत अघि बढ़ाइएको यो अभियानको उद्देश्य भविष्यमा कफी खेतीलाई पहाड़को अर्को बलियो आर्थिक मेरुदण्डका रूपमा स्थापित गर्नु रहेको छ।
‘‘कफी खेतीबाट ग्रामीण साथै शहरी क्षेत्रका युवाहरूका निम्ति धेरै अवसरहरू सिर्जना हुनसक्छ’’
दार्जीलिङ-कालेबुङ भेगमा कफी नयाँ हो, भर्खरै आशा लाग्दो खेतीका रूपमा हुर्किरहेको छ। कालेबुङको सिन्देबुङ बरबोट निवासी उमेश गुरुङले कफी खेती र उत्पादनबारे प्रशिक्षण दिन्छन्। कफी खेती गर्नुअघि उनी बीएस्सी सकेर सरकारी नोकरीका लागि परीक्षाहरूमा बस्दै थिए। परिवारको मूल पेशा फूलखेती होे। कफी खेतीमा प्रवेशबारे उनी भन्छन्, ‘‘म एक्सिडेन्टली कफीमा आएको हो। मलाई कफी खेतीमा खासै चासो थिएन, पढ़ेर सरकारी नोकरी गर्ने इच्छा थियो।’’ कोरियाका योङ्गी सिओेसित भेट हुँदा उनले दार्जीलिङ-कालेबुङमा कफी राम्रो हुने र यसलाई कम्युनिटी प्रोजेक्टमार्फत गर्न सकिने बताएपछि उमेशको यात्रा कफी खेतीतर्फ बढ़्यो।

कफी खेतीबाट सिर्जना हुने अवसरबारे गाउँ-बस्तीका किसानलाई जागरुक गराउन ‘हिमालय कर्नरस्टोन कफी’ स्थापना गरेर ‘कम्युनिटी प्रोजेक्ट’ अभियानमा लागे उमेश र उनका साथीहरू। कफी खेतीको प्रशिक्षण गराउँदै किसानहरूलाई बिरुवा वितरण गरे। सन् २०१४ देखि कालेबुङबाट शुरु भएको कफी खेती अहिले निम्बोङ-दलपचन्द, तन्याङ, सन्तुक-मिरिक, पदोङ, गोरुबथानको फरेस्ट बस्ती, राई गाउँ, दालिमटार र तोदे-ताङ्तामा कम्युनिटी प्रोजेक्टमार्फत संचालन भइरहेको छ। यी क्षेत्रका किसानहरूले आफ्नै बारीमा कफी खेती गरिरहेका छन् र उनीहरूलाई कम्युनिटी प्रोजेक्टमा समावेश गरिएको छ। सबैले उत्पादन गरेका कफी कम्युनिटी प्रोजेक्टमार्फत खरिद गरिन्छ।
‘हिमालय कर्नरस्टोन कफी’मा उमेश, दक्षिण कोरियाली नागरिकद्वय योङ्गी-सिओ र मिस्टर चा तीनजना निर्देशक छन्। दुई कोरियाली नागरिकले प्राविधिक कार्यमा सहयोग गर्छन्। पहाड़ी क्षेत्रमा कफी उत्पादन नयाँ भएकाले भविष्य खासै नदेख्दा कतिले विश्वास गर्न गाह्रो माने। कफी खेती पुस्तौंसम्मका निम्ति दीर्घकालीन परियोजना रहेको उमेशको भनाइ छ।
उमेशका अनुसार, अहिले बिस्तारै मानिसहरूको चासो बढ़्दै गइरहेको छ। दार्जीलिङमा कम्युनिटीका प्रमुख सदस्यहरू छन्। ‘‘दार्जीलिङमा सिङ्गला, टकभर, भा-टकभर, लिम्बू बस्ती, लेप्चा खेती, बदमताम, हनुमान डाँड़ा, नगरी मुनि धजे बस्तीमा छिटो बढ़्यो अनि अहिले राम्रो भइरहेको छ’’, उनी भन्छन्।
आफूलाई कफी खेतीमा कफीका विशेषज्ञ योङ्गी-सिओले मार्गदर्शन गरेको उमेश बताउँछन्। उनी भन्छन्, ‘‘कफी रोपेर मात्र हुँदैन, योङ्गी-सिओले कफीलाई रोस्ट गर्नु, बनाउनु, उत्पादन गर्नु साथै अन्य धेरै कुरा सिकाए।’’ उमेशले कफी बोर्ड अफ् इण्डिया, बेंगलोरबाट सन् २०१८ मा सर्टिफिकेट कोर्स गरे। अहिले पनि उनी कफी खेती र उत्पादनबारे नयाँ विषयहरू अध्ययन गर्छन्। उनका अनुसार, स्नातक सकेकाहरूलाई त्यहाँ कफीबारे दुई वर्षको डिप्लोमा कोर्स गराइन्छ। उमेशले राष्ट्रिय कफी प्रतियोगितामा कालेबुङको कफी लिएर दिल्ली गएका थिए, र शीर्ष छैटौं स्थानमा चयन भएर बंगलोर पुगे।
उमेश भन्छन्, ‘‘कफी क्षेत्रीय मात्र होइन, यो ग्लोबल मार्केट हो। यसको लागि गुणस्तर सबैभन्दा मुख्य हो। यदि बजार स्तरको गुणस्तर छैन भने हामीले यो उद्योगलाई दिगो रूपमा संचालन गर्न सक्दैनौं। योङ्गी-सिओले यस्ता कुरा अघिबाटै बुझेका हुनाले मलाई सजिलो पर्यो।’’ उनी अझ भन्छन्, ‘‘सिलगढ़ीमा हाम्रो कफीको इन्स्टिच्युट पनि छ, जहाँ बरिस्टाको तालिम दिन्छौं। सचेतनामूलक कार्यक्रम गर्छौं, र इच्छुकहरूलाई कफी खेती र उत्पादनबारे तालिम दिन्छु।’’
उमेशका अनुसार, कफी जहाँसुकै उत्पादन हुँदैन, यसको एउटा म्याप छ। उनी भन्छन्, ‘‘वर्ल्ड कफी म्याप भनिन्छ-इक्वेटोरियल जोनमा कफी राम्रो हुन्छ। प्राकृतिक रूपमा कफी कहाँ उत्पादन गर्न सकिन्छ भन्ने म्यापले छुट्याएको हो। त्यो म्यापअनुसार ट्रपिक अफ् क्यान्सरदेखि ट्रपिक अफ् क्याप्रिकन इक्वेटोरियल बेल्टमा कफी हुन्छ भन्ने वैज्ञानिक भनाइ छ।’’
‘‘पहाड़मा कफी खुबै राम्रो हुन्छ’’, उमेश भन्छन्, ‘‘कफी खेती शुरु गरेको दश वर्ष भइसक्यो। यसलाई निरन्तर निगरानी गरिरहन्छौं। कफी रोप्न सजिलो छैन, प्राविधिक रूपमा राम्रोसित गर्यौँ भने एकदमै राम्रो हुन्छ। कफीलाई उमार्ने तरिका फरक छ। यसमा कतिवटा प्राविधिक कुरा हामीले हेर्नुपर्ने हुन्छ।’’
उनका अनुसार, अहिले कालेबुङ-दार्जीलिङमा कफीको खेती गर्ने एक हजारभन्दा बढ़ी परिवारहरू कम्युनिटी प्रोजेक्टमा जोड़िएका छन्। जसमा सबैले आ-आफ्नै हिसाबमा पचासदेखि पाँच हजारसम्म कफी रोपिरहेका छन्, र यो वर्षेनी बढ़िरहेको छ। कफीका साथमा ती किसानहरूले आफ्नो अन्य नगदेबालीको खेती पनि गरिरहेका छन्। अहिले कफीको खेती सानो रूपमा अघि बढ़िरहेको छ। सानै भए पनि ती किसानहरू आफै कफी खेतीका मालिक बनिरहेका छन्। उनीहरूले जति उमार्छन् त्यति नै कमाइ गर्नसक्छन्।
कम्युनिटी प्रोजेक्टका निम्ति दार्जीलिङ र कालेबुङमा क्षेत्रअनुसार कोर कमिटी गठन गरिएको छ। दार्जीलिङमा सामाजिक कार्यकर्ताद्वय सुनिल सुब्बा, नरेश राई (भूतपूर्व सैनिक) कोर कमिटीमा छन्। उनीहरूको दशजनाको सोसाइटीले देखरेख गर्दै युवाहरूलाई प्रेरित गराइरहेका छन्। उमेश भन्छन्, ‘‘अहिले सेवानिवृत्त सैनिक, शिक्षकहरूले चासो देखाइरहेका छन्। युवाहरूले यसलाई अप्नाउनसके अझ राम्रो हुनेछ।’’ युवाहरूले निक्कै चासो लिन थालेको उनको भनाइ छ।
उमेशका अनुसार, दार्जीलिङ-कालेबुङ हिमाली भेगमा अरबिका र चन्द्रगिरी प्रजातिको कफी उत्पादन हुन्छ। उनी भन्छन्, ‘‘संसारमा हेर्नु हो भने अरबिका, रोबस्टा, लिबेरिका र एक्सेल्सा चारवटा कफीको मूल प्रजाति हुन्छन्। अरबिका मात्र हेर्ने हो भने यसको पाँच हजारभन्दा बढ़ी प्रजातिहरू छन्, यसमा चन्द्रगिरी एउटा हो। भारतमा सबैभन्दा बढ़ी कफी उत्पादन कर्नाटकको चिकमङ्गलुरमा हुन्छ।’’
अहिले सय प्रतिशत कफी खेती नगरे पनि यताका किसानहरूलाई यसबाट अतिरिक्त आयआर्जन भइरहेको उमेश बताउँछन्। उनी भन्छन्, ‘‘लिम्बू बस्तीबाट १5 सय किलो कफी बिक्री भएको छ। त्यहाँ त्यति ठूलो किसिमले पनि लगाएको छैन।’’
‘हिमालय कर्नरस्टोन कफी’को कारखाना सिलगढ़ीस्थित देवी डाङ्गाको महेशमारीमा स्थापित गरिएको छ। हिमाली क्षेत्रको कफी भनेर सबैतिर परिचित गराउने काम भइरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘‘हिजोआज मानिसहरूले स्वास्थ्यको फाइदाको लागि कफी पिउन थालेका छन्। चिनी बिनाको ब्ल्याक कफी पिउनु राम्रो हो।’’ यसपाली दार्जीलिङ-कालेबुङबाट करिब ४० टन काँचो कफी उत्पादन भएको उनी बताउँछन्। यताबाट उत्पादित कफी अहिले विभिन्न अनलाइन बजार व्यवस्थाहरूबाट भारतव्यापी बजार व्यवस्थापन भइरहेको छ।
‘‘चिकमङ्गलुरमा शनिबार-आइतबार फार्मस्टे, होमस्टेहरू एउटा खाली हुँदैन- मानिसहरू कफी खेती हेर्न र कफी किन्नलाई बाहिरबाट आउँछन्’’, उमेश भन्छन्, ‘‘भोलिको दिनमा हाम्रो पहाड़का मानिसहरूले पनि कफी खेती गरे पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। पहाड़को कफीलाई पनि पर्यटनको आकर्षण बनाउन सकिन्छ।’’ कफी खेतीबाट ग्रामीण साथै शहरी क्षेत्रका युवाहरूका निम्ति धेरै अवसरहरू सिर्जना हुनसक्ने उनको भनाइ छ।
उमेश गुरुङ र उनको ‘कम्युनिटी प्रोजेक्ट’ले किसानहरू र युवालाई कफी खेतीसँग जोड़्दै स्थानीय रोजगारी र उद्यमशीलताको नयाँ आधार निर्माण गरिरहेको छ। लक्ष्य केवल कफी उत्पादन बढ़ाउनु होइन, ‘हिमालयन कफी’लाई विश्व बजारमा स्थापित गर्नु र पहाड़का युवालाई आफ्नै भूमिमा भविष्य देखाउनु हो।











