घुँघरुको मधुर झंकारसँगै कथक नृत्यलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएकी सुमी राई आज सिक्किममा भारतीय शास्त्रीय नृत्यको एक परिचित नाम बनेकी छिन्। दुई दशकदेखि कथक नृत्यको प्रशिक्षण, प्रवर्द्धन र संरक्षणमा निरन्तर समर्पित छिन्। राष्ट्रिय मञ्चहरूमा आफ्नो कला प्रस्तुत गर्दै सुमीले सिक्किमका युवापुस्तालाई कथकसँग जोड़्दै आएकी छिन्।
‘‘भारतीय शास्त्रीय नृत्य नृत्यको जड़ हो। यो जीवनभर चलिरहने हो, र कहिले पनि पुरानो हुँदैन’’
स्व० जगबहादुर राई र स्व० देवीमाया राईका छोरी सुमी राईले सानैदेखि नाँच्न शुरु गरेकी हुन्। असमको सिलचरमा बाबु एघार गोर्खा राइफल्समा हुँदा सुमीको जन्म उतै भयो। बाबुले अवकाश पछि सिलगढ़ीको विशेष सुधार गृहमा पुलिसको नोकरी गर्थे भने आमा पनि त्यहीं पुलिसकै नोकरीमा थिइन्। सिलगढ़ीमा बसाई थियो सुभाष पल्लीमा- सिलगढ़ीमै नेताजी हाई स्कूलमा पढ़िन् र वुमेन्स कलेजबाट स्नातक गरिन्। सुभाष पल्लीमा बंगाली समाजको गीत-संगीतकै सामाजिक वातावरणमा हुर्किन्। साँझको बेला सो क्षेत्रका घरमा गुञ्जिने गीत-संगीतले सानी बालिका सुमीलाई आकर्षित पार्यो। त्यही आकर्षणले घरमा आफै नाँचिरहन्थिन्।
स्कूलका कार्यक्रमहरू साथै रवीन्द्र जयन्तीको कार्यक्रममा पाँच वर्षको उमेरदेखि नै सुमी रवीन्द्र नृत्यहरूमा सहभागी हुन्थिन्। यस्तै कार्यक्रमहरूमा अरुले गरेको कथक नृत्य देख्दा यसैमा प्रेरित भइन्। १० वर्षको उमेर हुँदा कथक नृत्यको उनको पहिलो गुरुजी बने कृष्ण राई। उनीसित दुई तीन वर्ष कथकको तालिम लिइन्। अझ औपचारिक तालिमको लागि अघि बढ़िन्। सो बेला सिलगढ़ीको जातीय युवा संघमा कथकको तालिम गराउन गुरुजी सन्तोष महाराज आउँथे, र उनीसित सिक्न शुरु गरिन्। केही समय पछि उनी आउन छोड़ेपछि कलकताका अर्का गुरुजी सन्तोष मल्लिकसित सिक्न थालिन्। सन्तोष मल्लिक आजसम्म पनि आफ्नो गुरुजी रहेको सुमी बताउँछिन्।
सन्तोष महाराजकै अधिनमा रहेर बंगीय संगीत परिषदबाट कथकको कोर्स पूरा गरिन्। यसपछि कथक नृत्यबारे गहन अध्ययनका लागि चण्डीगढ़को प्राचीन कला केन्द्रबाट पनि तालिम लिइन्। चण्डीगढ़को प्राचीन कला केन्द्र सर्व भारतीय स्तरमै चर्चित रहेको छ। कथकको तीनवटा घराना लखनउ घराना, जयपुर घराना र बनारस घराना मध्येमा सुमी लखनउ घरानाबाट हुन्। १३ वर्षको उमेरमा पहिलोपटक सिलगढ़ीको दिनबन्धु मञ्चमा कथक नृत्य प्रस्तुत गरेर सबैको ध्यान आकर्षण गर्न सफल भइन्। यसपछि विभिन्न कार्यक्रमहरूमा कथक नृत्यको लागि उनको माग बढ़्न थाल्यो।
सानै उमेरमा सुमीले विभिन्न ठाउँहरूमा हुने भारतीय शास्त्रीय नृत्यको उत्सवहरूमा नृत्य प्रस्तुत गरिन्। पश्चिम बंगालको शान्ति निकेतनमा हुने ‘सृजनी महोत्सव’मा तीनपटक सहभागी बनेर कथक नृत्य प्रस्तुत गरिसकेकी छिन्। यहाँ आफ्ना विद्यार्थीहरूलाई साथमा लिएर सहभागी भइसकेकी छिन्। ईस्टर्न जोनल कल्चरल सेन्टर (ईजेडसीसी) अन्तर्गतको ‘अक्टेभ महोत्सव’मा सहभागी भएकी छिन्। दिल्लीको कथक कला केन्द्रमा आयोजित ‘वसन्त उत्सव’मा उनले कथक नृत्य प्रस्तुत गरेकी छिन्। दिल्लीमा कथक सम्राट पद्म विभूषण प० बिर्जु महाराजको ‘कलाश्रम’द्वारा आयोजना गरिने ‘वसन्तोत्सव’मा पनि आफ्नो प्रस्तुति दिइसकेकी छिन्। दिल्लीमा हुने यी महोत्सवहरूमा भारतीय शास्त्रीय नृत्यहरू राष्ट्रिय स्तरमा हुने गर्दछ। हरेक वर्ष कलकताको सोनारपुरमा आफ्नो गुरुजी सन्दीप मल्लिकको केन्द्र ‘नदम’मा आयोजना हुने ‘प्रतिश्रुति महोत्वस’मा सिक्किमबाट आफ्ना विद्यार्थीहरूलई प्रस्तुतिको लागि लिएर जान्छिन्।
सिक्किममा भारतीय शास्त्रीय नृत्य प्रवर्द्धनका लागि सन् २००४ देखि सिङताममा सुमीले ‘नटराज कला केन्द्र’ शुरु गरिन्। यो केन्द्र सन् २००७ देखि कलकताको बंगीय संगीत परिषदसित आवद्ध भएको छ। सन् २०१७ मा सिक्किममा पंजीकरण भएको उनी बताउँछिन्। नटराज कला केन्द्रमा कथक नृत्य यसको मौलिक स्वरूपमा सिकाइन्छ। कालेबुङबाट सुपरिचित पखवाज वादक निशान्त सिंहले मार्गदर्शन गर्ने गरेको सुमी बताउँछिन्।
१० वर्षको उमेरदेखि कथक नृत्य गर्दै आएकी सुमी ५३ वर्षको उमेरमा पनि अझ बढ़ी यसमा सक्रिय छिन्। कथकमा चार दशक बढ़ी भइसक्दा पनि भन्छिन्, ‘‘अझ सिक्दैछु।’’ अझ के सिक्नु हुँदछ? जवाफमा उनी भन्छिन्, ‘‘भारतीय शास्त्रीय नृत्यमा डिप्लोमा गरेर मात्र हुँदैन- यसको सिक्ने कुनै सीमा छैन। कथकमा पनि दिनहुँ नयाँ नयाँ विविधता देखिन्छन्। नयाँ-नयाँ कुरा सिक्नका लागि हामीले गुरु-शिष्य परम्परालाई अनुसरण गर्नुपर्छ।’’
नृत्यको क्षेत्रमा पति अशोक दासबाट सुमीले धेरै हौसला पाउँछिन्। सिक्किमका कथक सिकिरहेका विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमै प्रस्तुत गराउन उनी नयाँ प्रयोगहरूबारे सिकाउन प्रतिबद्ध छिन्। दुई दशकमा उनले सयौंलाई कथक नृत्यको प्रशिक्षण दिएकी छिन्, जसमा कति यसैमा निरन्तर लागे। सिक्किममा भारतीय शास्त्रीय नृत्यको प्रशिक्षण केन्द्र खोल्न उनले आफ्ना विद्यार्थीहरूलाई बाटो देखाएकी छिन्। उनकै शिष्य अञ्जली राईले रवीन्द्र भारती विश्वविद्यालयबाट कथकमा स्नातकोत्तर गरेकी हुन्। अहिले उनी गान्तोकमा आफ्नै प्रशिक्षण केन्द्र खोलेर संचालन गरिरहेकी छिन्। अर्का शिष्य शिशिर राईले पनि प्रशिक्षण केन्द्र खोलेका छन्। सुमी भन्छिन्, ‘‘हामी पनि यहाँ हाम्रो स्थापना दिवसमा कथककै महोत्सव आयोजना गर्छौं।’’ नटराज कला निकेतन र अञ्जली राईको ‘नृत्याञ्जली डान्स एकाडेमी’ मिलेर कथकको कार्यक्रम आयोजना गर्ने गरेको उनी बताउँछिन्।
अहिलेको आधुनिक हिप-हप, कन्टेम्पोरेरी डान्सहरूबीच पहाड़ी भेकमा भारतीय शास्त्रीय नृत्य मौलिक स्वरुपमा गराउन चुनौतीपूर्ण रहेको छ। यस्तै चुनौतीबीच सिक्किममा भारतीय शास्त्रीय नृत्यलाई मलजल दिएर हुर्काउन उनले विशेष भूमिका निर्वाह गरेकी छिन्। उनको प्रशिक्षण केन्द्रबाट दुईजना विद्यार्थीले भारत सरकारको संस्कृति मन्त्रालयअन्तर्गत सीसीआरटी (सेन्टर फर कल्चरल रिसोर्सेस एण्ड ट्रेनिङ)बाट छात्रवृत्ति प्राप्त गरेका छन्। सीसीआरटीद्वारा प्रतिभाशाली युवा कलाकारहरूलाई विशेष छात्रवृत्ति प्रदान गरिन्छ। सुमीको प्रशिक्षण केन्द्रमा कथक मात्र होइन नेपाली लोकनृत्यहरूको कार्यशालाहरू र परीक्षा पनि आयोजना गरिन्छ। यस्ता कार्यशालाका निम्ति बाहिरबाट विशेषज्ञहरूलाई बोलाइन्छ। कतिपय ठाउँका कार्यक्रमहरूमा भारतीय शास्त्रीय नृत्यसित नेपाली लोकनृत्य मिसाएर नयाँ प्रयोगमा प्रस्तुत गरिन्छ।
करियरको रुपमा भारतीय शास्त्रीय नृत्य राम्रो हुने सुमीको धारणा छ। उनी भन्छिन्, ‘‘भारतीय शास्त्रीय नृत्य नृत्यको जड़ हो। यो जीवनभर चलिरहने हो, र कहिले पनि पुरानो हुँदैन। शास्त्रीय नृत्यको आफ्नो विधि छ- यसको स्थान एकदमै फरक छ।’’ अहिले अभिभावकहरूले शास्त्रीय नृत्यको महत्व बुझेर नानीहरू लिएर आउने गरेको बताउँछिन्। सुमीले विवाहित महिलाहरूलाई पनि छुट्टै रुपमा कथक नृत्य सिकाउँछिन्। उनीहरू निक्कै चासो लिएर आउने गरेको उनको भनाइ छ।
सुमीका अनुसार, सिक्किम विश्वविद्यालयमा संगीत विभाग छ- अनि यससँगै नृत्यको विभाग पनि खोलिदिए नानीहरूले मास्टर्स गर्ने ठाउँ पाउनेछन्। यसले गर्दा नानीहरूमा चासो बढ़्नसक्ने उनको भनाइ छ। अहिले सिक्किम सरकारबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले सहयोग गरिरहेको उनी बताउँछिन्। उनी सिक्किम कलाकार भरोसा सम्मेलन, नेपाली साहित्य परिषद सिक्किमबाट ‘नृत्य सेवाश्री’ सम्मानले सम्मानित भइसकेकी छिन्।
चार दशकभन्दा बढ़ी समयदेखि कथक साधनामा समर्पित सुमी राईले सिक्किममा भारतीय शास्त्रीय नृत्यको संरक्षण, प्रवर्द्धन र प्रशिक्षणमा उल्लेखनीय कार्य गर्दै आएकी छिन्। कथकप्रतिको उनको समर्पण, गुरु-शिष्य परम्पराप्रतिको आस्था र नयाँ पुस्तालाई संस्कृतिसँग जोड़्ने प्रतिबद्धताले उनलाई विशेष बनाएको छ।











