दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले विज्ञप्तिमा जनाए अनुसार हिज नबन्ना, कोलकातामा माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीको अध्यक्षतामा एउटा अति महत्त्वपूर्ण बैठकमा भाग लिए। यो पहिलो औपचारिक बैठक थियो जसमा पश्चिम बङ्गालका माननीय मुख्यमन्त्री, र पश्चिम बङ्गाल सरकारले हाम्रो क्षेत्रका लागि भारत सरकारका प्रतिनिधि एवम् इन्टरलोक्युटर श्री पंकज कुमार सिंहका साथ भेट गरे। यहाँ स्मरण गराइन्छ कि भारत सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रसँग सम्बन्धित वार्तालाई अगाड़ि बढ़ाउन इन्टरलोक्युटर नियुक्त गरेपछि पनि ममता ब्यानर्जीको नेतृत्ववादी टीएमसी सरकारले ठाड़ै प्रतिकूल अड़ान लियो अनि वार्ताको मार्गलाई अगाड़ि बढ़ाउन बारम्बार अस्वीकार गऱ्यो। मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीले आश्वस्त गर्नुभएको छ कि राज्यको बीजेपी सरकारले वार्ताको प्रक्रियामा पूर्ण सहयोग गर्नेछ, अनि हाम्रो क्षेत्रका लागि एउटा संवैधानिक समाधान खोज्नका लागि सकारात्मक ढङ्गले काम गर्नेछ। यससँगै, वार्तामा तीव्रता ल्याइनेछ, अनि मलाई पूर्ण विश्वास छ कि सबै स्टेकहोल्डरहरूले सहयोग गर्नेछन् र अगाड़ि बढ़्नका लागि एकबद्ध भएर काम गर्नेछन्। म, दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको तर्फबाट माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी, माननीय गृहमन्त्री श्री अमित शाहज्यू, माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारी, भारत सरकार अनि पश्चिम बङ्गाल सरकारले यस मुद्दालाई सर्वोच्च स्तरको प्राथमिकता दिँदै ध्यान केन्द्रित गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस बैठकमा पश्चिम बङ्गालका मुख्य सचिव श्री मनोज कुमार अगरवाल, माननीय मुख्यमन्त्रीका सल्लाहकार डा. सुब्रत गुप्ता, पश्चिम बङ्गालका गृह एवम् पर्वतीय मामिला सचिव अनि पुलिस महानिदेशकको उपस्थिति थियो।












