एक समय गाउँका युवाहरूलाई आफ्नो माटोसँग जोड़ेर राख्ने बलियो माध्यम बनेको थियो इस्कुस खेती। यही खेतीको आम्दानीले धेरै परिवारको जीवनस्तर उकास्यो, शिक्षा र रोजगारीका नयाँ ढोका खोल्यो। तर अहिले उत्पादन घट्दै जाँदा युवाहरूको आशा र ग्रामीण अर्थतन्त्र दुवैले चुनौतीको सामना गरिरहेका छन्।
इस्कुसले पहाड़का धेरै ठाउँहरूको ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउने काम गरेको छ। इस्कुसलाई हरियो सुन पनि भन्ने गरिन्छ। अस्सीको दशकभन्दा अघिदेखि नै मिरिक क्षेत्रमा नाम कमाइसकेको इस्कूस हाल बिजनबारी भेगको एक दर्जनभन्दा अधिक ग्राम पञ्चायतको विभिन्न गाउँहरूमा अर्थतन्त्रको मुलखाँबो बनेको छ। जसका कारण कयौं युवाहरू गाउँमै बसेर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। भनौं युवाहरूलाई पलायन हुनबाट रोक्न इस्कूस खेतीले केही हदसम्म रोक्न सफल भएको छ।
“अहिले ३० वर्षदेखि गरिँदै आएको इस्कूस खेती पनि यथोचित अनुसन्धान र संरक्षण नभए आगामी ५-७ वर्षभित्र यस क्षेत्रबाट पूर्ण रूपमा हराउनसक्ने खतरा देखिएको छ “
वर्षमा छ महिनाभन्दा बढ़ी फसल दिने यस नगदे सब्जीको सिजनको शुरुवातमा मुन्टा तथा फसलको सिजन सकिएपछि माटोमुनी खनेर हिउँदमा निकाल्ने जराको उतिक्कै महत्व छ। जो पहाड़ तथा मधेशका विभिन्न शहर-बजारहरूमा राम्रो मूल्यमा बिक्री हुने गर्दछ। यसैले यस खेतीले विभिन्न परिवर्तन ल्यायो। शुरुमा आफ्नै उपयोगमा कुनै एक रुख अथवा थाक्राको भरमा छोड़िने इस्कूसलाई समयको अन्तरालसँगै खेती गर्ने तौरतरिकामा निक्कै परिवर्तन गरियो।
यस्तै अस्सीको दशकतिर शिक्षक, वाममोर्चाका एक वरिष्ठ नेता तथा झेपी ग्राम पञ्चायतका भूतपूर्व प्रधान स्व. बी. एल. सुब्बाले बिजनबारी क्षेत्रमा इस्कूसलाई आधुनिकतातर्फ धकेल्न निक्कै मद्दत गरे। थाक्रा अथवा सानो-सानो मचानको भरमा प्रत्येक घरमा व्यक्तिगत व्यवहारको निम्ति प्रयोग गरिने यस सब्जी खेतीलाई तौरतरिका बदल्न सकेमा आय-आर्जनको राम्रो साधन बन्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरे। बिजनबारी क्षेत्रमा इस्कूसबाट हुनसक्ने सम्भावनाहरूको साथमा पहाड़मा हुने अन्न उत्पादन तथा नगदे फसलबीचको भिन्नताबारे जागरुक बनाउन थाले। ठूला-ठूला घोगा मकै फल्ने बारीका गराभरि मचान लगाएर इस्कूस खेती गर्न स्थानीयहरूलाई प्रेरित गरे।
स्व. बी. एल. सुब्बाले शुरु गरेको अभियान बिस्तारै क्षेत्रका विभिन्न गाउँहरूसम्म पुग्न थाल्यो। धान, मकै, कोदोलगायतका अन्न केवल औपचारिकता बन्न थालेको समयमा गाउँका अधिकांश मानिसहरूले इस्कूस खेती अप्नाउन थाले। उत्पादन बढ़ेपछि स्थानीय स्तरमा सीमित रहने इस्कूस मधेशका बजारसम्म पुग्न थाल्यो। गाउँ-गाउँबाट सिलगढ़ीसम्म पुर्याउने व्यापारीहरू निस्किन थाले। गाउँमै बिक्री हुन थालेपछि किसानहरू अझै यस खेतीप्रति आकर्षित भए। बिस्तारै धेरैको रोजीरोटी मात्रै होइन, आय-आर्जनको भरपर्दो विकल्प बन्न पुग्यो इस्कूस।
सिलगढ़ीका व्यापारीदेखि भरियासम्मको रोजगारको माध्यम बन्यो इस्कूस। सानोतिनो काठको घर देखिने गाउँहरूले इस्कूसकै भरमा काँचुली फेर्न थाले। गाउँ-गाउँमा मोटरबाटो पुगिसकेपछि त झन् दुर्गम क्षेत्रहरूमा समेत इस्कूस खेती बृहत् स्तरमा हुन थाल्यो। सरकारी विद्यालयहरूमा पढ़िरहेका गाउँले विद्यार्थी निजी विद्यालयसम्म पुग्न थाले। भनौं आर्थिकदेखि शैक्षिक स्तरसम्म इस्कूसले क्षेत्रभर ठूलो परिवर्तन ल्यायो, जुन हालसम्म निरन्तर चलिरहेको छ।
यद्यपि पछिल्ला केही वर्षयता इस्कूस उत्पादनमा आएको ह्रासले किसानहरू निक्कै चिन्तित छन्। दुई दशकभन्दा बढ़ी समय ग्रामीण अर्थतन्त्रको दह्रो खाँबो बनेको इस्कूस खेतीमा विभिन्न रोग देखा परेपछि किसानहरू थप मर्कामा परेका छन्।
यसबारे जानकारी गराउँदै बिजनबारी कृषि उत्पादक संगठनका सदस्य तथा पेशागत किसान कमल गिरी यसलाई ठूलो चुनौतीपूर्ण अवस्थाको रूपमा लिन्छन्। उनी भन्छन्, ‘‘लगभग ३० वर्षदेखि हाम्रो क्षेत्रमा इस्कूस खेती गरिँदै आएको छ। शुरुमा बाटोघाटोको समस्याले किसानहरूले उत्पादनअनुसार बजार पाएनन्। बीचको एक दशकमा इस्कूसले उत्पादनसँगै बजारीकरण पनि निक्कै राम्रो पायो। तर हाल सन् २०२० यता इस्कूस उत्पादनमा करिब ७५ प्रतिशतसम्म गिरावट आएको देखिन्छ।’’
उनका अनुसार, उत्पादनमा आएको यस्तो ठूलो ह्रास माटोमा रहेका आवश्यक सूक्ष्म तत्त्वहरूको कमी, जलवायु परिवर्तन तथा बढ़्दो ग्लोबल वार्मिङको प्रभावसँग सम्बन्धित हुनसक्छ। साथै हिमालयन कृषि प्रणालीमाथि अनुसन्धान गर्ने स्थानीय अनुसन्धान संस्था तथा कृषि विभागको प्रभावकारी अध्ययनको अभावले समस्या झन् गम्भीर बन्दै गएको छ।
कमल गिरी भन्छन्, ‘‘हाम्रो क्षेत्रमा यसअघि अलैँची मुख्य नगदेबाली थियो। तर विभिन्न रोगका कारण अलैँची खेती लगभग समाप्त भयो। त्यसअघि विश्वप्रसिद्ध दार्जीलिङ म्यान्डेरिन सुन्तलाको उत्पादन हुने गर्थ्यो। अनुसन्धान, रोग नियन्त्रण तथा विभागीय पहलको अभावका कारण सुन्तला खेती पनि लोप हुने अवस्थामा पुग्यो। त्यसपछि केही समय अदुवा खेती फस्टाए पनि रोगका कारण अदुवा उत्पादन पनि घट्दै गयो। अहिले ३० वर्षदेखि गरिँदै आएको इस्कूस खेती पनि यथोचित अनुसन्धान र संरक्षण नभए आगामी ५-७ वर्षभित्र यस क्षेत्रबाट पूर्ण रूपमा हराउनसक्ने खतरा देखिएको छ।’’
हाल बाहिरी क्षेत्रबाट आउने इस्कूसले स्थानीय बजारमा प्रतिस्पर्धा बढ़ाएको छ। फलस्वरूप स्थानीय कृषकहरूले उचित मूल्य पाउन सकेका छैनन्। उत्पादन घट्दै जानु, रोगको प्रकोप बढ़्नु तथा मूल्यमा गिरावट आउनुले कृषकहरूमा निराशा बढ़ाएको छ र धेरैले इस्कूस खेतीप्रति रुचि गुमाउँदै गएका छन्।
यसका साथै सन् २०२० यता जंगली जनावरहरू-बँदेल, मृग, खरायो, बाँदर तथा विभिन्न चराचुरुङ्गीहरूले इस्कूसको जरा, मुन्टा र फलमा व्यापक क्षति पुर्यारहेका छन्। कमल गिरी भन्छन्, ‘‘बाली पाक्ने समयमा हुने यस्तो क्षतिले कृषकहरूलाई थप आर्थिक मार परेको छ। जंगली जनावर नियन्त्रण तथा बाली संरक्षणका लागि प्रभावकारी विभागीय कार्यक्रमको अभावले कृषकहरू झन् समस्यामा परेका छन्।’’
उनले अझ भन्छन्, ‘‘हाम्रो क्षेत्रमा उत्पादन हुने इस्कूस अधिकांश रूपमा जैविक प्रकृतिको छ। यदि सरकारले यसलाई प्रमाणित गरी देशका प्रमुख शहरहरूमा बिक्री-वितरणको व्यवस्था मिलाइदिएको भए स्थानीय कृषकहरूले धेरै गुणा बढ़ी आम्दानी गर्नसक्थे। तर बजार व्यवस्थापनको अभावले कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउनसकेका छैनन्।’’
यसको साथमा बिजनबारी क्षेत्रको ग्रामीण भेगमा इस्कूसपछि वैकल्पिक जीविकोपार्जनको रूपमा पशुपालन र दूध उत्पादनलाई लिन सकिने अवस्था भए पनि दूधको मूल्य अत्यन्त न्यून छ। हाल कृषकबाट प्रतिलिटर करिब ३० रुपियाँमा दूध संकलन गरिने भएकाले उत्पादन लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको छ। यसले कृषकहरूलाई पशुपालनबाट पनि निरुत्साहित बनाएको छ।
त्यसैले सरकारले हिमालयन कृषि प्रणाली, इस्कूस खेती, रोग नियन्त्रण, माटो परीक्षण, बजार व्यवस्थापन, जंगली जनावर नियन्त्रण तथा दुग्ध उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तत्काल प्रभावकारी योजना लागू गर्नु आवश्यक छ। अन्यथा हिमालयन फार्मिङ प्रणाली क्रमशः समाप्त हुने जोखिम बढ़्दै जानेछ। उचित अनुसन्धान, प्राविधिक सहयोग र बजार व्यवस्थापन उपलब्ध गराइएमा यहाँका कृषकहरूले विगत ३० वर्षअघिको भन्दा पनि बढ़ी उत्पादन गर्नसक्ने क्षमता राख्छन् भन्ने विश्वास गर्न सकिन्छ।











