मिरिकको थुर्वु–डुप्टिन मण्डलस्थित भारतीय जनता पार्टीको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा भारतीय जनता युवा मोर्चा (भाजयुमो) मिरिक मण्डलको नयाँ कार्यसमिति गठन गरिएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न उक्त बैठकमा विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता थुर्वु–डुप्टिन मण्डल अध्यक्ष अमर रानाले गर्नुभएको थियो भने भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समिति सचिव एम.के. जिम्बा, मिरिक मण्डल सचिव समीर राई, सोरेनी मण्डल अध्यक्ष प्रवीण राई तथा सचिव दिपेश थापालगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो। बैठकमा युवा नेतृत्वलाई अगाडि बढाउने तथा संगठन विस्तारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको बताइएको छ। सभाबाट सर्वसम्मत रूपमा बिस्वास राईलाई भाजयुमो मिरिक मण्डलको अध्यक्ष चयन गरिएको छ। त्यसैगरी भवेश गुरुङ, अरुण तामाङ, दीप सिंह, उत्तम तामाङ, सन्दीप सुब्बा र सुशील राई उपाध्यक्षमा मनोनित भएका छन्। अनमोल गुरुङ र अभियंक मुखर्जीलाई महासचिवको जिम्मेवारी दिइएको छ भने प्रयास सुब्बा, ज्ञानेन्द्र सुब्बा, धिरेन प्रधान, नितेश सुब्बा, धिराज राई, सन्दीप देवान तथा लोकबहादुर राई सचिव पदमा चयन भएका छन्। अभियंक मुखर्जीलाई आईटी सेल प्रमुख र दीप सिंहलाई सामाजिक सञ्जाल संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। उपस्थित वक्ताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाहरूको सक्रिय सहभागिताले संगठनलाई थप गतिशील र जनकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै समाज र राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै संगठनात्मक गतिविधिमा सक्रिय रहन आह्वान समेत गरिएको थियो। नयाँ कार्यसमितिका पदाधिकारीहरूले पार्टीको विचार, नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, युवाहरूलाई संगठनसँग जोड्ने र संगठन विस्तारका अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।












