दार्जीलिङ पहाडका जनताले आजदेखि एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धिको अनुभूति गरेका छन्। लामो समयदेखि रोहिणी मार्ग प्रयोग गर्ने सर्वसाधारण, सवारी चालक, व्यापारी र यात्रुहरूले भोग्दै आएको टोल शुल्कको भार अन्ततः हटाइएको छ।
रोहिणी मार्ग दार्जिलिङ र तराईलाई जोड्ने प्रमुख सडक मार्ग हो। यस मार्गमा लाग्दै आएको टोल शुल्कका कारण स्थानीय बासिन्दा, दैनिक यात्रु, व्यवसायी तथा सवारी चालकहरू आर्थिक रूपमा प्रभावित हुँदै आएका थिए। आजदेखि उक्त टोल प्रणाली समाप्त भएसँगै जनताले ठूलो राहत महसुस गरेका छन् भनी खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले जनाएका छन्। यस उपलब्धिलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको नेतृत्वमा निरन्तर उठाइँदै आएको जनसरोकारको मुद्दाको सकारात्मक परिणामका रूप हो । जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसमक्ष विषयलाई प्रभावकारी रूपमा गोरामुमोले निरन्तर कार्य गरेका थिए।
त्यसैगरी, दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले पनि सडक पूर्वाधार, जनहितका विषय तथा क्षेत्रीय विकासका मुद्दाहरूमा निरन्तर पहल गर्दै आएका छन् र उनको प्रशासनिक पहलले पनि ट्याक्स बन्दको भएको भन्दै निमा लामाले जनाउदै सांसद राजु बिष्ट प्रति धन्यवाद दिदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट आभार व्यक्त गरेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार टोल शुल्क हटाइनुले दैनिक आवतजावत सहज हुनुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यस निर्णयलाई केवल प्रशासनिक परिवर्तन मात्र नभई जनभावनाको सम्मान र जनआवाजको जीतका रूपमा लिइएको छ।
दार्जीलिङ पहाडका नागरिकहरूले यस उपलब्धिलाई स्वागत गर्दै भविष्यमा पनि जनहितका यस्ता विषयहरू समाधानतर्फ उन्मुख हुने विश्वास व्यक्त गरेका छन्। “आफ्नो गाउँ, आफ्नो माटो, आफ्नो बाटो र आफ्नो अधिकारका लागि गरिएको प्रयासको सकारात्मक परिणाम आज जनताले अनुभूति गरेका छन्।”












