असम र अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र जागुनमा असम राइफल्सद्वारा वातावरणीय चेतना अभिवृद्धि तथा प्रकृति संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा असम राइफल्सका जवानहरू, स्थानीय बासिन्दा, भारतीय सेनाका भूतपूर्व सैनिक (Ex-Servicemen), वन विभागका अधिकारीहरू, अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) तिराप–जागुन अञ्चलिक समितिका सदस्यहरू, विद्यालयका विद्यार्थीहरू तथा अन्य स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा १५० जनाले उत्साहपूर्वक भाग लिएका थिए।
कार्यक्रममा आग्सु तिराप–जागुन अञ्चलिक समितिका सभापति एवं सम्पादक, पर्यावरण संरक्षक समितिका सभापति तथा प्रकृतिप्रेमी श्री लीलानाथ शर्माको विशेष उपस्थिति रहेको थियो। उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपणको महत्त्वबारे प्रकाश पार्दै प्रत्येक नागरिकले प्रकृतिप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम राख्न तथा वातावरण संरक्षणप्रति जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। स्थानीयवासीहरूले असम राइफल्सको यस पहलको प्रशंसा गर्दै यसलाई समाज र वातावरणको हितमा गरिएको सराहनीय कार्यको रूपमा लिएका छन्। यस कार्यक्रमले स्थानीय नागरिक र सुरक्षा निकायबीचको आपसी विश्वास, सहकार्य तथा सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन समेत योगदान पुर्याएको छ।












