गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तक्दाह टिस्टा भेल्ली समष्टिको एक महत्वपूर्ण सांङ्ठनिक सभा टिस्टा भेल्ली शाखा अन्तर्गत सजनी डाँडामा शाखा अध्यक्ष जे. के. सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टि अन्तर्गत विभिन्न शाखा तथा भ्रातृ संगठनका प्रतिनिधिबर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा समष्टिको संगठन विस्तार, पार्टीको भावी रणनीति तथा वर्तमान राजनैतिक परिस्थितिलाई लिएर व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ। सहभागी प्रतिनिधिबर्गले जाति र माटोको उन्मुक्तिको निम्ति एकजुट भएर गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ सशक्त बनाउँदै मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। यसैक्रममा समष्टि कमिटीको बैठक समेत बसेको थियो, जहाँ आगामी दिनमा अझ व्यापक राजनैतिक तथा जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव सभाले पारित गरेको बताइएको छ। उक्त सभामा समष्टि अध्यक्ष सुदेश राई, उपाध्यक्ष भुपेन्द्र लोप्चन, सचिव प्रनित राई, गोरानासं केन्द्रीय समिति सदस्या लिला देवी परियार, सह-सचिव योगेश गुरुङ, रोशन राई, पुबुङ शाखा अध्यक्ष श्याम थापा, पुरण राई, सि. के. लोप्चन लगायत विभिन्न भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिबर्गको उपस्थिति रहेको थियो। सभाले संगठनलाई अझ सशक्त र जनआधारित बनाउँदै आगामी दिनमा पार्टी गतिविधिलाई गाउँ-गाउँसम्म विस्तार गर्ने दृढ संकल्प व्यक्त गरेको छ।












