छुट्टै राज्य गोर्खाल्याण्डको चाहाना दार्जीलिङ कालेबुङका केहि नेताहरुको हुनसक्छ, तर यहाँका गरिखाने र खटिखाने जन-साधारण मानिसहरूको निम्ति अनि दार्जीलिङ कालेबुङदेखि बाहिर बस्ने गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड आवश्यकता हो। हामी गोर्खाल्याण्ड एक्टिभिस्ट समूह बारम्बार भन्ने गर्छौं गोर्खाल्याण्ड चाहाना मात्रमा सीमित छैन, गोर्खाल्याण्ड आवश्यकता भित्रको कुरा हो।
अब आवश्यकता कसको निम्ति त! जसले यो आफ्नै देशमा ठाउँ ठाउँमा परिचय सङ्कटको सामना गर्न परि रहेको छ, जसले प्रत्येक ठाउँमा “नेपालका है?” भन्ने प्रश्नको सामना गर्न परि रहेको छ, जसले आफ्नै ठाउँमा “बिदेशी” को उपनाम थाप्नु परि रहेको छ आवश्यकता उनीहरूको निम्ति हो। अब यो कुरा दार्जीलिङ-कालेबुङ़का मानिसहरूले मात्र भोग्नु परि रहेको कुरा होइन। देशको प्रत्येक प्रान्तमा बस्ने गोर्खा जातिले यो बिकट परिस्थितिको सामना गर्न परि रहेको छ। तर यो बुझ्शलाई दार्जीलिङ देखि बाहिर निस्किनु पऱ्यो। तर फेरि त्यतिले मात्र पनि पुग्दैन। वास्तवमै दार्जीलिङ देखि बाहिर बस्ने ती गोर्खा सन्तानहरुको पीड़ा र छटपटाहट महसुस गर्न सक्ने संवेदनशील हृदय पनि हुन पऱ्यो। दार्जीलिङ कालेबुङबाटै पनि धेरै मानिसहरू रोजगारको निम्ति दार्जीलिङदेखि बिहिर छन्। उनीहरूले गोर्खाल्याण्डको आवश्यकता महसुस गर्न सक्छन्।
यो जम्मै कुरा भन्नुको तात्पर्य के हो भने गोर्खाल्याण्डको मुद्दालाई दार्जीलिङ केन्द्रित मुद्दा बुझेर अघि बढ़्नु भनेको चाहिँ हामीले गोर्खाल्याण्डको मुद्दा भनेको दार्जीलिङ कालेबुङकै झोड़ा नाला बनाउने ठेका पाउँछौं भन्ने सोंच बनाउनु मात्रै हो। हामी अलिक बृहत किन सोंच्न सक्दैनौं। चाहे दार्जीलिङ बाहिर अन्य प्रान्तका गोर्खाहरु होस् चाहे दार्जीलिङ अथवा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रदेखिनै रोजगारको निम्ति बाहिर गएका गोर्खाहरुको निम्ति होस् हामीले अलिकति ठूलो हृदय लिएर सोंच्नु त पऱ्यो।
तर अचम्मको कुरा के छ भने हामी दार्जीलिङका नेता भनौदाहरू झोड़ा नालाको समस्यालाई पनि गोर्खाल्याण्ड सँग जोड़छ। हे भगवान! अनित थापाले भ्रष्टाचार गऱ्यो भनेर हामीले गोर्खाल्याण्ड मागेका हौं र! अनित थापाकै आह्रिस गरेर भोलीको दिनमा कुर्सीमा पुगेपछि हामी पनि त्यसरी नै कमाउँछौं भन्ने मानसिकता बोकेर गोर्खाल्याण्ड हुनपर्छ भन्ने नेताहरु छैन र!
यसर्थ, म व्यक्तिगतरुपमा सबै सचेत जन-समुदायलाई अपिल गर्छु गोर्खाल्याण्ड किन हुनपर्छ भन्ने कुरा अलिक ठूलो छाति बनाएर सोंच्ने गरौं। भारतभरि छरिएर बसेका गोर्खा सन्तानहरुलाई अँटाउन सक्ने बृहत गोर्खाल्याण्ड त बनाउन नसकिएला तर भारत भरि छरिएर बसेको गोर्खा सन्तानहरुको पीर र मर्काहरु बुझेर उनीहरू सबैलाई अँटाउन सक्ने अनि उनीहरूको पीर र मर्काहरू अँटाउन सक्ने बृहत हृदय त बनाउन सक्छौं नी। कम से कम कुनै पनि प्रान्तमा बस्ने गोर्खा सन्तानलाई आपत र बिपत पर्दा उनीहरूको घाउमा मल्हम लगाउन छटपटाउने संवेदनशील हृदय त बनाउन सक्छौं। यति बृहत सोंच र ठूलो हृदय लिएर अघि बढ्यौं भने गोर्खाल्याण्ड नहुने कुरा छैन।












