Tenzing: The Struggling Silent Wood Artisan
Tenzing: The Struggling Silent Wood Artisan

रोङ्ली बजारका संघर्षशील मौन काष्ठकलाकार तेन्जिङ

Authored By: सञ्जय प्रधान

Share this news

पूर्व सिक्किमको रोङ्ली बजारको सामान्य दैनिक जीवनभित्र एक यस्ता व्यक्तित्व छन्, जसका हातले निर्जीव काठलाई जीवन्त कला बनाउँछ। उनी हुन् तेञ्जिङ शेर्पा- बौद्ध काष्ठकलाका समर्पित साधक। उनका हातबाट सिर्जना भएका कलाकृतिहरू केवल काठमा कुँदिएका आकृति होइनन्, ती धैर्य, साधना र जीवन संघर्षका जीवित अभिव्यक्ति हुन्। समयको परिवर्तनसँगै परम्परागत काष्ठकलालाई जोगाउने र नयाँ पुस्तासम्म पुर्‍याउने अभियानमा एक्लै निरन्तर लागिरहेका छन्। कठिन जीवनयात्राका अनेक मोड़ पार गर्दै उनले आफ्नो जीवन सिक्किममा काष्ठकलाको संरक्षणमा समर्पित गरेका छन्।

‘‘अरुले बनाएको देख्दा पहिला त जिन्दगीमा यस्तो बनाउन सक्दिनँ जस्तो लाग्थ्यो’’

तेञ्जिङको कलाकारितालाई हेर्ने हो भने कुनै जन्मजात कलाकारको हातले काठमा बेजोड़का कलाकृति कुँदेको स्पष्ट हुन्छ। उनी न त जन्मजात कलाकार हुन्, न त पारिवारिक विरासतमै पाएका हुन्। रोङ्ली बजारदेखि केही माथि सुबाने डाँड़ामा जन्मिएका तेञ्जिङको जीवन यात्राको पथ मखमलको जस्तो कोमल-नरम छैन। पाइताला पिल्सिने-घोंच्ने ढुङ्गा-रोड़ाको बाटोबाट उनी गुज्रिएका हुन्। बालखैमा आमा-बाबुको देहावसान भयो, यसकारण आमा-बाबु कस्ता थिए न त सम्झिन सक्छन्, न त कल्पना गर्न सक्छन्। धेरै पढ़्ने अवसर पाएनन्, रोङ्ली बजार नजिकै दोदाचेन स्कूलमा सानै कक्षा मात्र पढ़े।

आमाबाबुको देहावसान पछि एकजना आफन्त आनीले केही समय पालनपोषण गरेको तेञ्जिङ बताउँछन्। यसपछि जीवन यात्रा अघि बढ़ाउन नौ-दश वर्षको उमेर हुँदा मानेभञ्ज्याङदेखि सन्दकफूसम्म घोड़ा खेप्ने काम गरे। सन् १९९८ तिर यस्तै १२-१३ वर्षको हुँदा दिदीसित काठमाड़ौं पुगे। काठमाड़ौं पुगेपछि ग्यारेजमा एक वर्ष जति गाड़ी डेन्टिङ-पेन्टिङको काम गरे। उनको हातमा भएको सीप ग्यारेजको कामको लागि थिएन, थियो त काष्ठकलाको लागि आवश्यक हात।

काठमा खोपेर बनाइएका फर्निचरका सुन्दर डिजाइनहरूले तेञ्जिङको ध्यान आकर्षण गर्‍यो। फर्निचरको काम सिक्न काठमाड़ौंकै बौद्धमा स्थित पसलमा काम गर्न थाले। फर्निचर पसलमा टेबल, चौकी, पलङ, छेसुम (पूजावेदी अर्थात् मूर्ति राख्ने स्थान), ठी (रिम्पोछे वा गुरु बस्ने आसन), चोक्सी (पूजामा प्रयोग गरिने धार्मिक कलाकृति भएको टेबल) बनाइन्थ्यो। अरुले काठका टेबल, चौकी, पलङ, छेसुम,ठी, चोक्सीहरूमा खोपेर सुन्दर कलाकारिताको काम गरेको ध्यानपूर्वक हेरिरहन्थे। शुरु शुरुमा यसैमा स्याण्ड पेपर घस्ने र पलिश लगाउने काम गरे। उनी भन्छन्, ‘‘अरुले बनाएको देख्दा पहिला त जिन्दगीमा यस्तो बनाउन सक्दिनँ जस्तो लाग्थ्यो।’’ यहींबाट काष्ठकला सिक्ने दृढ़ संकल्प लिएर दिनहुँ बेलुकी तीन चार घण्टा गरेर दुई वर्ष ओभर टाइम काम गरे।

तिब्बतका एकजना काष्ठकलाका सिपालु कलाकार केसाङ बौद्धमा बस्थे। तेञ्जिङको कड़ा मेहनतलाई देखेर केसाङ उनका गुरु बने। उनीसितै तेञ्जिङले बौद्ध काष्ठकला, हस्तशिल्प सिके। यसमा पहिला उनलाई छेसुमको फ्रेमहरू बनाउन दिइन्थ्यो। ध्यान लगाएर काम गर्दै जाँदा हात बस्दै गयो। अलिक राम्रो हात बसेपछि चोक्सीको अगाड़िको ठूलो पिस बनाउन दिए। सानो हुँदा कुनै किसिमको साधारण चित्रहरू पनि नबनाउने तेञ्जिङ बिस्तारै काष्ठकलामा सिपालु बने।

नेपालमै हुँदा सन् २००५ मा हवाईजहाजमा चढ़ेर सोलुखुम्बुको लुक्ला हवाईअड्डामा ओर्लिए। जीवनमा पहिलोपटक हवाईजहाजमा चढ़ेको सम्झिएर हाँस्छन्। लुक्ला हवाईअड्डामा ओर्लिएर एक दिन हिँड़ेर नाम्चे बजारदेखि उभों थमुमा गुम्बाको लागि काष्ठकलाको काम गर्न पुगे। त्यहाँ एकजना रिम्पोछेले लगेको बताउँछन्। त्यहाँ गुम्बामा पहिलोपटक छेसुम बनाउने काम गरे। यो कामको लागि उनीसित अझ दुईजना कलाकार थिए। पाँच महिना बसेर पूर्ण रुपले कलाकारिताले भरिएको छेसुम तयार गरे। थमुमा हुँदा विश्‍वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्प पुग्नेे मौका गुमाएनन्। उनी भन्छन्, ‘‘सगरमाथाको बेस क्याम्पमा पुग्छु भन्ने सपनामा पनि सोंचेको थिइनँ।’’ त्यहाँ पुग्दा फरक किसिमको आनन्द महसुस गरेको उनी बताउँछन्।

थमुको गुम्बामा छेसुमको काम सकेपछि भारतमा हिमाचल प्रदेशको धर्मशाला स्थित मेकलोरगञ्जमा फर्निचर पसलमा काम गर्न पुगे। त्यहाँ मुख्य रुपमा छेसुम, ठी, चोक्सीहरू बनाइन्थ्यो। त्यहाँबाट नेपाल आउजाउ गर्थे। धर्मशालामा हुँदा तिब्बती धर्मगुरु दलाई लामाको दर्शन गर्ने अवसर निक्कैपल्ट पाएको उनी बताउँछन्। मेकलोरगञ्जमा करिब डेढ़ वर्ष जति काम गरेपछि नेपालमै पोखरामा फर्निचर पसलमा काम गरे। त्यहींबाट तीन सिजन मुस्ताङ गए अनि मुक्तिनाथमा नरसिंह गुम्बामा काष्ठकलाको काम गरे। यस गुम्बामा उनले पिलर र बिमहरूमा कलाकृतिहरूको काम गरे। उनका अनुसार, यो गुम्बा काठ, माटो र ढुङ्गाले मात्र बनिएको छ। नरसिंह गुम्बाको कामबारे उनी भन्छन्, ‘‘त्यहाँ हामीले एक हजार मूर्ति राख्ने फ्रेमहरू बनायौं।’’

उनले बौद्ध काष्ठकलाको साथमा यसमा चाहिने चित्र बनाउन पनि सिकेका छन्। हिमाचल प्रदेशमा हुँदा किन्नौरका दुई व्यक्तिले उनको काम देखेर घरमा छेसुम बनाउन बोलाए। किन्नौरमा दुईवटा घरको छेसुम छ महिनामा बनाए। छेसुम, चोक्सीबाहेक काठमा खोपेर सुन्दर मुर्तिहरू पनि बनाउँछन्। उनी भन्छन्, ‘‘कामको सिलसिलामा धेरै ठाउँमा पुगेँ।’’ नेपालमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा छ महिना बसेर बौद्ध कलाले भरिएका सुन्दर आकर्षक छेसुमहरू बनाए। लुम्बिनीमा ठेकेदारको माध्यमबाट पुगेको उनी बताउँछन्।

सन् 2016 मा तेञ्जिङ आफ्नो जन्मथलो सिक्किम फर्किए, र रोङ्लीमै बसेर अर्डर पाएअनुसार घर, गुम्बामा गएर काष्ठ्कलाको काम गरिरहेका छन्। उनले रोङ्ली, लिङ्ताम, छुजाचेन, गान्तोकमा कतिपय घरमा सुन्दर बौद्ध काष्ठकलाले भरिएको छेसुम, चोक्सीहरू बनाएका छन्। फदमचेनमा तीन तारे होटलमा पनि आफ्नो कला प्रस्तुत गरेका छन्। पश्‍चिम बंगालमा कालेबुङअन्तर्गत लिङ्सेको शेर्पा गुम्बामा नेपालबाट एकजना सहयोगी लिएर छेसुमकै काम गरे। उत्कृष्ट काष्ठकलाहरू बनाएर आफूसित पनि राखेका छन्।

काष्ठकलाको अर्डर आउँदा काम गर्न जान्छन्। कामको अर्डर निरन्तर आइरहँदैन, तर बेला बखतमा काम तुरन्तै आइ पनि हाल्छ। एउटा ठूलो राम्रो काष्ठकला भएको छेसुम बनाउन छ देखि आठ महिना लाग्ने तेञ्जिङ बताउँछन्। दुई छोराका बाबु तेञ्जिङ र उनका श्रीमती संगीता थापा मगर दुवै मिलेर रोङ्ली बजारमा एउटा सानो रेस्टुरेन्ट चलाउँछन्। एउटा छोरा 11 कक्षाबाट १२ मा पुग्दा बिमारी परेपछि उपचाराधीन छन् भने सानो छोरा लामा पढ़्दैछन्।

अति साधारण जीवन बिताइरहेका तेञ्जिङ सिक्किममा बौद्ध काष्ठकलाको संरक्षणसँगै विस्तार गर्न निरन्तर संघर्षरत छन्। नयाँ पुस्तालाई यो कला सिकाउने इच्छा हुँदाहुँदै पनि सिक्न चाहने व्यक्ति भेटाएका छैनन्।

मेहनत, धैर्य र समर्पण चाहिने यस कलालाई जोगाउन सरकारले प्रशिक्षण केन्द्र खोलिदिए उनी सिकाउन चाहन्छन्। आर्थिक अभावका कारण आफ्नै सानो काष्ठकला पसल खोल्ने सपना अझै अधुरै भए पनि तेञ्जिङको यात्रा संघर्ष, समर्पण र कलाप्रतिको अटल विश्‍वासको प्रेरणादायी उदाहरण बनेको छ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ