Ambar Gurung Literature Research Nepal
Ambar Gurung Literature Research Nepal

लामिछानेको अम्बरप्रतिको आत्मीयता उनको प्रतिभा ‘विम्ब-प्रतिविम्ब’मा छ

Share this news

शङ्कर लामिछाने र अम्बर गुरुङबीचको सम्बन्ध बुझ्न लामिछानेको ‘विम्ब–प्रतिविम्ब’को अम्बर गुरुङ पढ्नुपर्छ। लामिछानेको गुरुङप्रतिको आत्मीयता र उनको प्रतिभा यसमा झल्केको छ।

‘म अम्बर हु तिमी धर्ती
लाखौँ चाहे पनि हाम्रो
मिलन कहिल्यै नहोला…….’

अम्बर गुरुङलाई चिन्नुभन्दा धेरै वर्षअघि नै शङ्कर लामिछानेको कानमा यो गीत गुन्जिएको थियो। उनीहरू एकअर्कामा भौतिक रूपले अपरिचित थिए। तर, यस गीतका शब्द, सङ्गीत र गायनकलाले लामिछानेको हृदयलाई स्पर्श गर्यो। न्यानो तरंग चलायो। उनका आँखामा आकाश र धर्तीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो, जसमा सूर्य डुब्दै थियो— यो सिद्ध गर्न मानौँ यो मिलनरेखा एक महाशून्य हो। ‘अम्बरको फ्यान म यसरी बनेँ ।’ शंकर लामिछानेले अम्बर गुरुङको कलाकारितालाई संक्षेपमा यसरी वर्णन गरेका छन्।

यो मान्छे कस्तो छ ? लामिछानेले कवि भूपि शेरचनसँग अम्बरका बारे सोधेका थिए। अनि कवि भूपिले भनेका थिए, ‘ऊ मान्छे सायद होइन— ऊ मित्र हो, र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो, र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन।

लामिछानेका भनाइमा उनलाई अम्बरसँग पहिलो पटक परिचय गराइदिएका थिए कवि भूपिले। भूपिले परिचय गराउन नै अम्बरलाई लामिछानेको छाउनीको घरमा लिएर आएका थिए। त्यतिबेला गुरुङको ‘नौ लाख तारा’ले नेपाल हल्लाएको थियो। तर त्यही गीत गाएका कारण भारतले भने अम्बरलाई दार्जिलिङबाट हल्लाउन खोज्दै थियो। भारतभरि यो गीत प्रतिबन्धित भयो। भारतविरोधी गीत गायो भनेर उनलाई सार्वजनिक स्थलमा गाउनसमेत प्रतिबन्ध लगाइयो। त्यसपछिको कुरा गरेका हुन् लामिछानेले। जुन कार्यक्रम बडो गोप्य रूपमा अगमसिंह गिरीको आयोजनामा दार्जीलिङमा गरिएको थियो। विशेष अतिथि लामिछानेलाई बनाएर अम्बरले त्यस रात आफ्ना पुराना र नयाँ गीत गाएर छर्लङ्ग बिहान बनाएका थिए।

त्यतिखेर तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा गरुङलाई गीत गाउन काठमाडौं झिकाइएको थियो। उनले फोहोरा दरबारमा ‘नौलाख तारा’ गाउँदा राजा महेन्द्रका पनि आँखा रसाएको कुरा गरेका थिए एक पटक गीतकार रत्नशमशेर थापाले यस पङ्क्तिकारसँग। हो त्यही बेला हो भूपिका माध्यमले शङ्कर लामिछाने र अम्बर गुरुङबीच पहिलो साक्षात्कार भएको । तर त्यस भेटमा न गुरुङले साहित्यकार लामिछाने चिनेका थिए, न लामिछानेले गुरुङभित्रको कलाकार (‘नौ लाख तारा’ र ‘म अम्बर हुँ तिमी धर्ती’बाहेक) बुझेका थिए। दार्जीलिङमा उनीहरूबीच दोस्रो भेट भयो। यस भेटले लामिछाने र गुरुङले एकअर्काले प्रतिभालाई नजिकबाट चिने। लामिछानेका तीनवटा गीतमा गुरुङले संगीत पनि गरे। यद्यपि ती गीतहरू प्रकाशमा आएनन् तर यी दुई प्रतिभाहरू प्रगाढ मित्रतामा बाँधिए। र त्यही भेटपछि अम्बर गुरुङले बिसाउन खोजेको सङ्गीत आरोहमा पुगेर गुन्जिन थाल्यो ।

लामिछाने दार्जिलिङ पुग्दा त्यहाँ गुरुङ थिएनन्। अकस्मात एक साँझ गुरुङ लामिछानेलाई खोज्दै आइपुग्छन्। गुरुङलाई पनि सार्वजनिक स्थलमा गाउन प्रतिबन्ध लगाइएको थियो। उनीहरू एउटा हलजस्तो एउटा साँघुरो कोठामा कवि अगमसिंह गिरीको पहलमा जम्मा हुन्छन् र झ्यालढोकामा चुकुल लगाएर कोठेगायन सुरु गर्छन्। त्यहीँ हो अम्बर गुरुङले शङ्कर लामिछानेको मन जितेको । ‘पहाड सुक्योजस्तो लाग्छ’ पहिलो पटक अम्बरले लामिछानेलाई सुनाएका थिए। त्यसपछि लामिछाने र गुरुङ बीचको सम्बन्ध यसरी झाँगियो कि यी दुई आ–आफ्ना क्षेत्रका हस्तीहरू वर्षौंअघि बिछोडिएर भेटिएका सङ्गातीजस्ता हुन पुगे। हुन त गुरुङ लामिछानेलाई दाइ नै भन्थे। तर एकअर्कालाई ‘ओल्ड म्यान’ भनेर सम्बोधन गर्थे। उनीहरूबीच गहिरो मित्रता थियो। यो मित्रता कति गहिरो थियो भन्ने कुरा एक पटक यस पङ्क्तिका लेखकसँग अम्बर गुरुङका चेला पिटर जे कार्थकले पनि बताएका थिए।

शङ्कर लामिछाने पारिश्रमिक नलिई कसैलाई आफ्ना निबन्ध दिँदैनथे। कसैले उनीसँग पत्रिकामा छपाउन निबन्ध माग्यो भने लामिछाने भन्थे, ‘कति (रुपियाँ) को निबन्ध लेखिदिऊँ ! आफ्ना सिर्जनाको मोल आफैँ तोक्ने लामिछानेले गुरुङको अनुरोधमा पिटरको ‘प्रत्येक ठाउँ : प्रत्येक मान्छे’ को भूमिका पनि लेखिदिएका थिए। तर पारिश्रमिकस्वरूप एक पैसा भने लिएरै छाडे। यो धेरैपछिको कुरा हो। अम्बर गुरुङ राजा महेन्द्रको आग्रहमा काठमाडौँ बसाइँ सरिसकेका थिए र तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभागका निर्देशक भइसकेका थिए।

योभन्दा धेरैअघिको कुरा। जतिखेर उनको ‘नौ लाख तारा’ प्रतिबन्धित भइसकेको थिएन तर उनी सङ्गीतबाटै निराश भएर तरकारी खेती गर्न कालिम्पोङमा थिए। गीत गाएर घरलाई कन्चो दाम सहयोग गर्न सकेका थिएनन्। बाबुबाजे भारतीय सेनामा काम गरेर निवृत्त भई ‘पेन्सन’ थाप्दै सुखजिलो, सुबिस्ताको जीवन बाँचिरहेका थिए। उनीहरूको मानसिकतामा छोरो भने सेनामा नगई आयआर्जन नहुने सङ्गीतको मरुभूमिमा पानी खन्याइरहेको थियो। ‘नौ लाख तारा’ ले मान, प्रतिष्ठा र नाम त दियो तर दाम थिएन। विवाह भइसकेको थियो । श्रीमती र दुइटा छोराहरूको जिम्मेवारी पनि उनको काँधमा थपिएको थियो। सङ्गीत गर्नु, गाउनु भनेको दामबिनाको मिहिनत, त्यसेबला यो कुनै ‘काम’ थिएन। बरालिनु मात्र ठहर्थ्यो। त्यसैले उनी सङ्गीतिक कर्मलाई खालि सोखका रूपमा कुनै चाडवाडहरूमा आयोजना हुने कार्यक्रममा मात्र गाउने निधो गरेर तरकारी खेतीमा लाग्ने निश्चयका साथ कालिम्पोङ झरेका थिए।

अम्बर गुरुङको यो सीमान्त उदासीमा एक दिन शङ्कर लामिछाने कालिम्पोङ झरे। लामिछाने कामविशेषले कोलकाता पुगेका थिए। त्यहीँबाट उनले गुरुङलाई तार पठाए– ‘तिम्रो मुड कस्तो छ ? फुर्सद भए म तिमीलाई भेट्न कालिम्पोङ आउँदै छु।’ अम्बरले प्रत्युत्तर पठाए, ‘म तपाईंलाई बसस्ट्यान्डमा पर्खिरहनेछु।’
एक दिन बिहानै यो पङ्क्तिकार अम्बर गुरुङको निवास महाराजञ्ज पुगेको थियो। माघ–फागुनको महिना थियो सायद। किनभने हामी बाहिर चउरमा कुर्सी राखेर घाम ताप्दै थियौं। कुरैकुरामा उनले भने, ‘साँचो अर्थमा भन्ने हो भने मलाई सङ्गीतमा फर्काएकै शङ्कर दाइले हो।’ त्यस दिन उनले पुराना स्मृतिलाई कोट्याएका थिए। ‘नौ लाख तारा’ को जताततै चर्चा थियो तर दाम शून्य। उनले भनेका थिए, ‘त्यसपछि म ठक्कर खान थालें। २६/२७ वर्षको थिएँ र दुइटा सन्तानको बाबु भइसकेको थिएँ। गलामा माला भिरेर र दर्शकको ताली खाएको भरमा परिवारको गुजारा हुनसक्ने अवस्था थिएन। अनि मैले सङ्गीतलाई एउटा सोखको रूपमा ‘साइड’ मा मात्र सीमित राख्ने र जीवनयापनका लागि तरकारी खेती गरेर होल सेल व्यापार गर्ने निश्चय गरिसकेको थिएँ।’

हो, त्यसैबेला शङ्कर लामिछानेको तार आयो र उनीहरू बूढाबूढी नै लामिछानेलाई लिन बसस्ट्यान्ड झरे। ‘म शङ्कर दाइलाई अत्यन्त आदर गर्थें,’ उनले भनेका थिए, ‘अनि हामीले उहाँलाई घर लिएर आयौं।’ घर पुग्नासाथ अम्बरलाई लामिछानेले सोधिहाले, ‘तिम्रो सङ्गीतको खबर के छ त ?’ अनि उनले पनि आफ्नो मनमा लागेको कुरा फ्याट्टै भनिदिए, ‘दाइ अब मैले सङ्गीतलाई सोखको रूपमा मात्र लिएर, यसो अवसर पर्दा मात्र गाउने, बजाउने निधो गरेको छु। व्यवसायका रूपमा चाहिँ अब तरकारी खेती गर्ने र त्यसैको व्यवसाय गरेर जीवन धान्ने निधो गरिसकें।’ गुरुङको कालिम्पोङमा चार–पाँच रोपनी जग्गा थियो। खेतीपातीका लागि यति जग्गा प्रशस्त हुन्थ्यो। तरकारी ढुवानी गर्ने आफ्नै एउटा जिप पनि थियो। यति भए उनलाई यो व्यपार गर्न कुनै कठिनाइ थिएन।

गुरुङको कुरा लामिछानेले बडो गम्भीरतापूर्वक सुने र यति मात्र भने, ‘तिम्रो कुराको उत्तर म एक–दुई दिनपछि दिन्छु।’ त्यसको भोलिपल्ट उनीहरू दुवै जना दार्जिलिङ उक्लिए। सुरापान र सङ्गीतका दुवै पारखी, दार्जिलिङ पुगेपछि एक–दुई दिन उनीहरू यसैमा रमाए। गुरुङले नयाँ–पुराना गीतहरू सुनाए लामिछानेलाई। दुवै प्रफुल्ल भए। त्यसवेला गुरुङलाई लागेको थियो शंकर लामिछानेले कालिम्पोङमा ‘यसको उत्तर म एक–दुई दिनमा दिन्छु’ भनेको कुरा नै बिर्सिए।
तर, होइन रहेछ। लामिछानेले कालिम्पोङमा थाँती राखेको कुरा त्यहाँ कोट्याए। ‘तिमीले भनेको कुरा तिम्रो अवस्था र वातावरणलाई मनन गर्दा एकदमै सही छ। नेपाली समाज सङ्गीतबाटै बाँच्न सक्ने अवस्थामा अझै पुगिसकेको छैन।

कलाबाट कलाकार बाँच्न सक्तैन। तर तिमी तरकारी खेतीमै सफल हुन्छौ भन्ने के ग्यारेन्टी छ ? तिमीलाई खेतीपातीबारे के थाहा छ ? कुन याममा कुन तरकारी लगाउँदा फाइदा हुन्छ ? कुन माटोमा कुन तरकारी फस्टाउँछ ? तिमीले त माटो पनि चिनेका छैनौ। बीउबिजनबारे केही थाहा छैन। अनि कुन माटोमा कुन जातको खेती राम्रो हुन्छ भनेर अध्ययन गर्नमै तिमीलाई वर्षौं लाग्छ। यी कुरा बुझ्दाबुझ्दै तिम्रो अर्को आधा आयु बितिसक्छ। अनि तिमी किन यता हामफाल्छौ ?’ अनि उनले अम्बर गुरुङको पिठ्युँ थपथपाउँदै भने, ‘तिमी सङ्गीत गर्न र गाउनका लागि नै जन्मिएका हौ। त्यसैले तिमीले सङ्गीतबाहेक अर्को पेसा अपनाउनु नै अफापसिद्ध हुन्छ। तिमी सङ्गीतमै लाग!’

त्यस बिहान अम्बर गुरुङले चियाको सुर्पी लिँदै भने, ‘शङ्कर दाइकै सुझावपछि हो, मैले पनि गहिरिएर सोचेँ— जसोतसो सङ्गीतमा लागिहालेँ। मानिसले यति धेरै सम्मान दिइरहेका पनि छन् अनि मैले त्यसउप्रान्त सङ्गीतलाई आफ्नो मुख्य धर्म ठानेँ, यसप्रति नै आफ्नो जिम्मेवारी बोध गरेँ र निष्ठाका साथ लागेँ। त्यस दिन शङ्कर दाइ कालिम्पोङ नआएका भए, उनीसँग आफ्नो भविष्यबारे कुरा नउठाएको भए, म सङ्गीतकार हुने थिइनँ । अरू नै केही हुन्थेँ होला तर म यो सङ्गीतकार गीतकार, गायक अम्बर गुरुङ भने सायद हुने थिइनँ।’


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ