मिजोरमका प्रख्यात गीतकार डा. किंग गुनु घर्तीको हिन्दी र नेपाली गरेर एकैसाथ २५ वटा गीति संगालोको भव्य लोकार्पण आइतबार सिलगढ़ी गोर्खे हाटमा सम्पन्न भयो। डा. किंग गुनु घर्ती इन्टरनेशनल फाउन्डेशनद्वारा आयोजित समारोहमा सिक्किम सरकारको हर्टिकल्चर विभागका सह-निर्देशक एस.टी. लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। आफ्नो जिन्दगी नै संगीत साहित्य सिर्जनामा खर्चेर आइरहेका डा. किंग घर्तीले यसपालि एकैचोटि २५ वटा गीतहरूको लोकार्पण गरेर शायदै एउटा इतिहास लेख्न सक्षम भएको संगीतज्ञहरूको भनाइ रहेको छ।
मिरिक र मिजोरमको संयुक्त पहलमा तिनको हिन्दी र नेपाली गीतहरूलाई संगीतकार डुपछेन लामाले संगीत दिएका छन् भने सबै गीतहरू मिरिकमा रेकर्डिङ गरिएको छ। उक्त सबै गीतहरू चर्चित गायक गायिकाहरूले गाएका छन् जसमा इन्द्रजित मिझार, बिक्रम कालिकोटे, रञ्जीता सुनार, बीरेन्द्र प्रधान, सुमित खाती, डोल्मा लामा, सुधीर घले, सुस्मिता शर्मा, इनुङमा राई प्रार्थना गुरुङ, मुना बराल, हरि नेवार कुमारी छेत्री आदि सामेल छन्।
अतिथि लेप्चाले गुनु घर्तीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संगीतप्रतिको लगनशीलताको प्रशंसा गर्दै सम्पूर्ण टोलीलाई शुभकामना दिएका थिए। समारोहमा विशेष व्यक्तित्वहरूलाई सम्मान पनि जनाइएको थियो। धेरैजना चर्चित गायकहरूले गीत प्रस्तुत गरेको उक्त कार्यक्रमलाई खेम सापकोटा अनि गुनु घर्ती स्वयंले संचालन गरेका थिए।
स्मरण रहोस् डा. किङ्ग गुनु घर्ती भन्नेसाथ उत्तर-पूर्वी क्षेत्रको सुन्दर अनि सानो राज्य मिजोरमको सम्झना आउँछ। यदि कसैले मिजोरमको बारेमा व्याख्या गर्दा गोर्खा समुदायबाट जाति, समाज र देशलाई कलाको माध्यमबाट योगदान दिने डा. किङ्ग गुनु घर्तीको नाउँ नलिए, त्यो व्याख्या अधुरो हुनेछ। किनकि अहिलेसम्म डा. किङ्ग गुनु घर्तीले आठसय नेपाली गीत अनि सात सय हिन्दी गीतहरू लेखिसकेका छन्। त्यति मात्र नभई उनले गुन्गुनाएर गीतहरूमा सङ्गीत पनि हाल्ने गरेका छन्। यसका साथै उनले दशवटा पुस्तकहरू पनि लेखेका छन्। अभिनयमा पनि उतिकै चासो राख्ने डा. किङ्ग गुनु घर्तीले नेपाली फीचर फिल्म गोरेमा खलनायकको भूमिका निभाएका छन्। भर्खरे लोकार्पण गरिएको ‘‘वन म्यान आर्मी’’ चलचित्रमा लेखन, निर्देशन, गायन, सङ्गीत सबै उनी स्वयंको रहेको छ। यी बाहेक उनले मिजो बाषामा पनि थुप्रै चलचित्रमा अभिनय गरेका छन्।












