अनित थापाद्वारा बिमल गुरुङविरुद्ध प्रहरीमा उजुरी, दार्जिलिङको राजनीतिक तनाव चर्कियो दार्जिलिंगमा शुक्रबार राजनीतिक तनाव थप चर्किएको छ। जीटीए प्रमुख कार्यकारी तथा बीजीपीएम अध्यक्ष अनित थापा गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुंग विरुद्ध दार्जिलिङ सदर प्रहरी थानामा औपचारिक उजुरी दर्ता गरेका छन्। गुरुङले सार्वजनिक रूपमा आफूलाई भेटे थुक्न समर्थकहरूलाई उक्साएको आरोप थापाले लगाएका छन्। मे १६ मा दर्ता गरिएको उजुरीअनुसार, थापाले गुरुङमाथि “उत्तेजक, भड्काउने तथा उक्साहटपूर्ण” अभिव्यक्ति दिएको आरोप लगाएका छन्, जसले भीडको आक्रोश, डरत्रास तथा दार्जिलिङ पहाड क्षेत्रमा शान्ति भंग हुन सक्ने उल्लेख गरिएको छ। उजुरीमा मे १५ मा सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियो वक्तव्यको उल्लेख गरिएको छ, जसमा गुरुङले आफ्ना समर्थकहरूलाई जहाँ भेटे पनि अनित थापामाथि थुक्न भनेको आरोप लगाइएको छ। थापाले उक्त अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई आफूलाई सार्वजनिक रूपमा अपमानित, दुर्व्यवहार तथा हिंसात्मक व्यवहार गर्न उक्साउने योजनाबद्ध प्रयास भएको बताएका छन्।
दार्जिलिङ सदर प्रहरी थानाका इन्चार्जलाई सम्बोधन गरिएको पत्रमा थापाले यस्ता अभिव्यक्तिले गैरकानुनी गतिविधिलाई प्रोत्साहन गर्ने, सर्वसाधारणमा त्रास सिर्जना गर्ने तथा राजनीतिक रूपमा संवेदनशील दार्जिलिङ र कलिम्पोंग क्षेत्रमा तनाव बढाउन सक्ने उल्लेख गरेका छन्। उजुरीमा बारम्बार सार्वजनिक रूपमा दिइएका यस्ता अभिव्यक्तिले भारतीय न्याय संहिता (BNS), २०२३ अन्तर्गत आपराधिक धम्की, मानहानी तथा उक्साहटसम्बन्धी विभिन्न धाराहरू आकर्षित गर्ने दाबी गरिएको छ। थापाले तत्काल एफआईआर दर्ता गर्न तथा सामाजिक सञ्जालमा फैलिएको भिडियोसँग सम्बन्धित डिजिटल प्रमाण सुरक्षित राख्न पनि माग गरेका छन्। साथै, उनले यस्ता कथित भड्काउ सामग्रीको थप प्रसार रोक्न तथा पहाडमा कानून र शान्ति व्यवस्था कायम राख्न आवश्यक रोकथामका कदम चाल्न प्रशासनसँग आग्रह गरेका छन्।दार्जिलिङ सदर प्रहरी थानाले प्राप्त गरेको दस्तावेजमा “Received but contain not verified” अर्थात् “प्राप्त भयो तर सामग्री प्रमाणित गरिएको छैन” भन्ने हस्तलिखित टिप्पणीसमेत रहेको बताइएको छ।












