अरुणाचल प्रदेशको विशेष पोक्सो अदालतले गत वर्ष नाहरलगुनमा एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा ३८ वर्षीय एक व्यक्तिलाई १२ वर्ष कठोर कारावासको सजाय सुनाएको छ। विशेष न्यायाधीश (पोक्सो) डॉ हिरेंद्र कश्यपले असम निवासी तथा हाल नाहरलगुनको पोलो कोलोनीमा बसोबास गर्दै आएका साम्सुल अलीलाई भारतीय दण्ड संहिता (IPC) को धारा ३७६ र ३७७ अन्तर्गत दोषी ठहर गरेका हुन्। अदालतले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणहरूबाट आरोप शंकाभन्दा बाहिर प्रमाणित भएको उल्लेख गरेको छ।अभियोजन पक्षका अनुसार, जुन १५, २०२४ मा पीडिता आफ्नी फुपूको पोलो कोलोनीस्थित भाडाको घरमा एक्लै थिइन्। त्यही कम्पाउण्डमा बस्ने तथा कुखुरा व्यवसाय गर्ने अभियुक्त साम्सुल अली पानी लिन आएको बहानामा घरभित्र प्रवेश गरी किशोरीमाथि यौन दुर्व्यवहार गरेका थिए। घटनापछि पीडिताले आफ्नी फुपूलाई जानकारी दिएकी थिइन्, त्यसपछि प्रहरीमा एफआईआर दर्ता गरिएको थियो।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले पीडिता, उनकी फुपू, अनुसन्धान अधिकृत तथा चिकित्सकसहित पाँच जना साक्षी प्रस्तुत गरेको थियो। अदालतले एफआईआरदेखि मजिस्ट्रेटसमक्ष दिएको बयान र अदालतमा दिएको बयानसम्म पीडिताको भनाइ निरन्तर एकरूप रहेको उल्लेख गरेको छ।चिकित्सकीय परीक्षणमा शारीरिक चोटपटक नदेखिए पनि अदालतले शारीरिक चोट नदेखिनु मात्रले यौन दुर्व्यवहार नभएको भन्न नमिल्ने स्पष्ट पारेको छ। अदालतले पीडिताको बयान र अन्य प्रमाणका आधारमा अभियुक्तलाई दोषी ठहर गरेको हो। तर, ओसिफिकेशन परीक्षणमार्फत पीडिताको उमेर स्पष्ट रूपमा प्रमाणित गर्न नसकिएकाले पोक्सो ऐन अन्तर्गतको आरोप भने पुष्टि हुन नसकेको अदालतले जनाएको छ। त्यसैले अभियुक्तलाई पोक्सो ऐनअन्तर्गत सफाइ दिइए पनि आईपीसीका धाराअन्तर्गत दोषी ठहर गरिएको हो। मे १४ मा अदालतले साम्सुल अलीलाई १२ वर्ष कठोर कारावासको सजाय सुनाउँदै २० हजार रुपैयाँ जरिवाना पनि तोकेको छ। उक्त रकम पीडिताको पुनःस्थापनाका लागि उपलब्ध गराउन अदालतले निर्देशन दिएको छ। साथै, जिला विधिक सेवा प्राधिकरण लाई अरुणाचल प्रदेश पीडित क्षतिपूर्ति योजना अन्तर्गत पीडितालाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।












