राजगञ्जकी पराजित तृणमूल कांग्रेस उम्मेदवार तथा एशियाली खेलकुदकी स्वर्ण पदक विजेता खेलाडी स्वपना बर्मणको घरमा आगलागी भएको घटनाले घोषपाडा क्षेत्रमा सनसनी मच्चिएको छ। जानकारीअनुसार, स्वप्ना बर्मनको जलपाइगढीको पाटकाटा ग्राम पञ्चायत अन्तर्गत घोषपाडामा दुईवटा घर छन्। एउटा घरमा उनी आफ्नो परिवारसँग बस्छिन् भने अर्को पुरानो घरमा कोही बस्दैनथे। शुक्रबार राति करिब ८:३० बजे उक्त पुरानो घरमा आगलागी भएको खबर बाहिर आएको हो। स्वप्नाले आफ्नै फेसबुक अकाउन्टमार्फत घरमा आगलागी भएको जानकारी सार्वजनिक गरेपछि क्षेत्रमा त्रास फैलिएको थियो।
खबर पाएलगत्तै प्रहरी र दमकल टोली घटनास्थल पुगेका थिए। त्यस समयमा भारी वर्षा भइरहेकाले आगो घर बाहिर धेरै फैलिन पाएन। दमकलकर्मीहरूले छिट्टै आगो नियन्त्रणमा लिएका थिए। पुलीसका अनुसार, आगलागी भएको घरमा कोही बस्दैनथे। घरभित्र केही दाउरा र कागजपत्र राखिएको थियो, जसमा आगो लागेको बताइएको छ। अहिले आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
स्वप्ना बर्मनले भने यो घटना योजनाबद्ध रूपमा गराइएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। उनले चुनावमा पराजित भएपछि आफ्ना दुई दाजुलाई लगातार धम्की आइरहेको र आफूलाई समेत कहिलेकाहीँ बलात्कारको धम्की आएको आरोप लगाएकी छन्। उनले भावुक हुँदै भनिन्, “राजनीतिमा आउनु नै गल्ती भयो।” साथै, चुनावपछि आफ्नै समर्थकहरू पनि बदलिएको महसुस भएको उनले बताएकी छन्। स्वप्नाले यस घटनापछि एफआईआर दर्ता गर्ने जानकारी पनि दिएकी छन्।












