तीन दशकभन्दा बढ़ी समयदेखि दार्जीलिङ पहाड़को संगीत क्षेत्रमा सक्रिय ल्हमु छिरिङ भुटिया बहुभाषिक तथा भर्सटायल गायिकाका रूपमा परिचित छिन्। आधुनिक, लोक तथा विभिन्न भाषाका गीतमार्फत उनले पहाड़को सांगीतिक परम्परा र सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छिन्।
‘‘पहिला र अहिले आकाश-पातालको फरक छ…अहिले सोचमा धेरै परिवर्तन आएको छ’’
कालेबुङको रौसे बजार, डुङरा बस्तीमा जन्मिएकी ल्हमु छिरिङ कलाकारहरूले भरिएको परिवारमा संगीतमय वातावरणमा हुर्किएकी हुन्। सन् १९७०-८० को दशकमा दार्जीलिङ पहाड़मा सर्वाधिक चर्चित नाम थियो ‘किरा कान्छा’ (असल नाम पेम्बा छिरिङ भोटिया)- जसको नाम आज पनि पुराना मानिसहरूले लिन्छन्। गजबको मिमिक्री गर्ने हास्य कलाकार तथा उत्कृष्ट फुटबल-टेबल टेनिस खेलाड़ी ‘किरा कान्छा’की छोरी हुन् ल्हमु छिरिङ। आमा मालती भुटिया राम्रा गायिका थिइन् भने एकर्डियन राम्रो बजाउँथिन्। बोज्यू सितार वादक थिइन् भने दार्जीलिङ निवासी मामा नयन प्रकाश सुब्बा राम्रा संगीतकार थिए।

आमाले हार्मोनियम बजाउँदै छोरी ल्हमु छिरिङलाई सरस्वती वन्दना सिकाउँथिन्। कक्षा तीनदेखि नै ल्हमुले ठूलाहरूसित गीत गाउँथिन्। कालेबुङ गभर्मेन्ट हाई स्कूलमा पढ़्दा स्कूलका कार्यक्रममा गीत गाउन अघि हुन्थिन्। परिवारमा संगीतमय वातावरण भए पनि कड़ा अनुशासनमा हुर्किएकी हुन्। सो बेला छोरीहरूलाई संगीतको क्षेत्रमा बाहिर कार्यक्रम गर्न छुट थिएन, कारण गीत गाउने छोरीहरूलाई समाजमा हेर्ने दृष्टिकोण रुढ़ीवादी थियो। कक्षा नौमा हुँदा काठमाड़ौं जाने मौका पाए पनि जान पाइनन्। घरको आँगनमा सानो मञ्च बनाएर आमा-बाबु र परिवारका सदस्यहरूअगाड़ि गीत गाउँथिन्। ठूलो मञ्चमा गाउने धोको यसरी पूरा गरेको सम्झिएर हाँस्छिन्। उनी भन्छिन्, ‘‘मैले आफ्नै बलबुत्तामा संगीतको यात्रा शुरु गरेको हो।’’ गीत गाउनु मात्र होइन, उनी नाटकहरू पनि खेल्थिन्।
आफ्नै आत्मविश्वासको भरमा ल्हमु छिरिङ कार्यक्रमहरूमा गाउन पुगिन्। ‘‘कतिवटा कार्यक्रममा बाबु-छोरी जम्काभेट पनि भयो’’, उनी भन्छिन्। कालेबुङ कलेजबाट स्नातक पूरा गरिन् र कलेजका कार्यक्रमहरूमा पनि गाउँथिन्। सांगीतिक यात्रामा पहिलो पटक ठूलो सार्वजनिक मञ्च मेला ग्राउण्डको टुरिष्ट फेस्टिवलमा हिन्दी गीत ‘अजीब दास्तां है ये…’ गाएर आफ्नो दक्षता प्रमाणित गरिन्। कार्यक्रममा ‘मेलोडी मेकर्स’को नजर ल्हमुको प्रतिभामाथि पर्यो। छोरीको समर्पण देखेर बाबुले पनि कार्यक्रमहरूमा लिएर जान्थे।
सन् १९९० तिर साथीहरू मिलेर ‘इन्टोनेशन सिम्फोनी’ ब्याण्ड खोलियो। यसमा थुप्देन भोटिया, फणिन्द्र राई, विजय कालिकोटे, दीपक लकान्द्री, सञ्जय प्रसाद, उर्मिला पल, चाँद, उपेन्द्र घतानी र बबिराज राज घतानी थिए। ब्याण्डले बलिवुडको हिन्दी गीतको कार्यक्रम गर्थ्यो। ल्हमु छिरिङले आशा भोसले र उषा उत्थुपका गीत गाउँथिन्। उत्कृष्ट प्रस्तुतिका कारण दार्जीलिङ, सिक्किम, डुवर्स, भुटानलगायत विभिन्न ठाउँमा ब्याण्डको कार्यक्रम राम्रो चल्थ्यो।
ल्हमु छिरिङ रातारात भाइरल भएकी गायिका होइनन्, वर्षौंदेखिको संघर्ष र रुढ़ीवादी सोचलाई चिरेर अघि बढ़ेकी कलाकार हुन्। संगीतमा उनी सधैं प्रयोगात्मक अभ्यास गर्न रुचाउँछिन्। जहाँ गए पनि त्यहीँको भाषामा गाउने प्रयास गर्छिन्। गायन प्रतिभाकै कारण उनलाई भुटानको राजपरिवारले बोलाउँथ्यो। उनले भुटानमा आउजाउ गर्दै दुई वर्ष जति संगीतको काम गरिन् र जोङ्खा भाषामा धेरै गीत गाइन्। अहिले उनी भन्छिन्, ‘‘त्यो बेला कन्ट्रयाक्ट साइन नगर्नु चाहिँ भूल भएछ।’’ तिब्बती, बंगला, राजवंशी र भोजपुरी भाषामा पनि गीत गाएकी छिन्।
उनले गायनको कुनै औपचारिक तालिम लिइनन्। सानैदेखि संगीतमय वातावरणले उनको नशा-नशामा संगीत बग्यो। सन् २००२ तिर एल्बमका लागि सुपरिचित संगीतकार योगेन्द्र घतानीसित अभ्यास गरिन्। उनी भन्छिन्, ‘‘संगीतको क्षेत्रमा शास्त्रीय संगीत सिक्नु जरुरी रहेछ।’’ योगेन्द्र घतानीको संगीतमा ‘बिर्सु कसरी’ र ‘जन्मेको ठाउँ’ गाइन्, दुवै गीतले राम्रो चर्चा पायो। ‘जन्मेको ठाउँ’ गीतमा बेस्ट सिङ्गर अवार्ड पाइन्। सुपरिचित संगीतकार ब्राइन मोक्तानको संगीतमा ‘धुक चुक धुक चुक’ गीतमा उनले तीनवटा अवार्ड पाइन्। यो गीत ल्हमु छिरिङकी बढ़ीआमा दार्जीलिङ निवासी लेखिका श्रीमती पुष्प राईले लेखेकी हुन्। योगेन्द्र घतानीले ठूलो गुण गरेको उनी सम्झिन्छिन्।
काठमाड़ौंका गीतकार अरुण तिवारीको शब्द र निर्वाण योञ्जनको संगीतमा ल्हमु छिरिङले गाएकी ‘आमा’ उत्कृष्ट गीत हो। नेपालका सुपरिचित गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका गीत पनि उनले गाएकी छिन्। उनले गाएकी लोकगीत ‘फर्कि आउन विदेशी दाजै’ चर्चित बन्यो। यसमा उदय तामाङको शब्द-संगीत तथा निलम मोक्तानको संगीत संयोजन रहेको छ। उदय तामाङका अन्य गीतहरू पनि गाएकी छिन्। सन् २०१३ मा ‘फर एभर यियर्स’ एल्बम निकालिन्। ल्हमु छिरिङ भन्छिन्, ‘‘सबै किसिमको गीत गाउँछु, तर मलाई मेलोडी गीत मनपर्छ।’’
बिहे भएपछि केही समय संगीतको यात्रा रोकियो, तर श्रीमान डोग्याल छिरिङ र ससुरालीघरको प्रेरणा र हौसलाले संगीतको रफ्तार अझ अघि बढ़्यो। उनका श्रीमान राम्रा चित्रकार हुन्। संगीत क्षेत्रमा छोरा-बुहारीबाट धेरै सहयोग पाएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘मलाई संगीतको क्षेत्रमा कुनै रुकावट छैन। बिहेपछि मेरो बाटो खुलेको जस्तै भयो।’’ बिहेपछि उनले धेरै सम्मान र अवार्ड पाइन्। सन् २०२४ मा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङबाट सम्वर्द्धना प्राप्त गरिन् भने सोही वर्ष गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनबाट ‘छुजाङ डुक्पा स्मृति पुरस्कार’ले सम्मानित भइन्।
सन् २००४ तिर ल्हमु छिरिङ र रेबिका लेप्चाले गाएको ‘कैंची मारी फरिया’ निकै चलेको गीत हो। गीतकार उज्ज्वल बम्जनको शब्द, अजय राईको संगीत र फणिन्द्र राईको संगीत संयोजनमा ‘चनमति’ गीत गाएकी छिन्। यो गीत गाउँदा अनौठो टिप्पणीहरू पनि सुनिन्। गोस्पेल गीतहरू पनि उनले धेरै गाएकी छिन्। सन् १९९६ तिर नेपाली संसारका वरिष्ठ संगीतकार-गीतकार-गायक गोपाल योञ्जनको संगीतमा उनले गोस्पेल साथै अन्य गीत गाएकी छिन्।
ल्हमु छिरिङको आफ्नै संगीतमा नयाँ म्यूजिक भिडियो छिट्टै आउने तयारीमा छ। यसमा उनले नेपालका लोकप्रिय गायक प्रमोद खरेलसँग गाएकी छिन् भने संगीत संयोजन सुपरिचित संगीतकार सचिन सिंहले गरेका छन्। आफ्नो संगीतको यात्रामा कालेबुङका उद्घोषक शुभ प्रधानको मार्गनिर्देशनलाई उनी बिर्सिन नसक्ने बताउँछिन्। वरिष्ठ साहित्यकार स्व० सानु लामा (पद्मश्री)को शब्द र सुपरिचित संगीतकार मधुसूदन लामाको संगीतमा उनले गाएकी गीत अब आउने तयारीमा छ। गायक-संगीतकार विपिन स्याङ्देनको संगीतमा पनि उनले तामाङ सेलो गाएकी छिन्।
संगीतको क्षेत्रमा छोरीहरूमाथिको पहिला र अहिलेको सोचबारे उनी भन्छिन्, ‘‘पहिला र अहिले आकाश-पातालको फरक छ। पहिला ट्यालेन्ट भए पनि बाहिर निस्किन पाउँदैन थिए। अहिले सोसल मिडियामा धेरै प्लेटफर्म छन्। छोराछोरीमा ट्यालेन्ट छ भने आमाबाबुले नै रियालिटी शोमा लैजान्छन्। अहिले सोचमा धेरै परिवर्तन आएको छ।’’ ‘‘अहिले धेरै स्कोप छ, रियालिटी शोहरूले धेरै माथि लैजानसक्छ’’, उनी भन्छिन्। संगीतका दिग्गजहरूबाट ज्ञान लिएर ठूला शोहरूमा सहभागी बने संगीतलाई करियर बनाउन सकिने उनको विचार छ।
संघर्ष, समर्पण र सुरिलो यात्राले सजिएको ल्हमु छिरिङ भुटियाको सांगीतिक यात्रा आज पनि निरन्तर अघि बढ़िरहेको छ। पहाड़को संगीतलाई नयाँ पुस्तासम्म पुर्याउँदै उनले आफ्नो स्वरमार्फत कला र संस्कृतिको उज्यालो फैलाइरहेकी छन्।












