प्रकृतिले ब्रह्माण्डलाई जति हेर्न लायकको बनाएको छ उति नै यहाँ बस्ने मानव जीवनलाई पनि उस्तै बनाएको छ। यसैमा केही रत्नहरू छन्, जसले आफ्नो मेहनतले आफ्नो भविष्य मात्र उज्ज्वल पार्दैनन् समाजको निम्ति ऐना बन्ने गर्छन्। यस्तै एक हुन् दक्षिण सिक्किमको मल्लीमा जन्मिएका चर्चित फूटबल खेलाड़ी निर्मल छेत्री। जसले आफ्नो कठिन परिश्रमले फूटबल खेललाई माध्यम बनाएर आफ्नो भविष्य मात्र बनाएनन्, साथमा युवा खेलाड़ीहरूका निम्ति मार्गदर्शक बनेका छन्।
‘‘सपना देख्नुपर्छ तर सपना देखेर सुत्नु हुँदैन’’
सिक्किमबाट अन्तर्राष्ट्रिय स्तरका अब्बल दर्जाका खेलाड़ीहरू जन्माउन उनी व्यस्त छन्। उनी हुन् सिक्किम प्रिमियर लिगका सह-संस्थापक। सिक्किम प्रिमियर लिगको चौथो संस्करण हालमा धमाधम चलिरहेको छ। उनले सिक्किममा फूटबलको विकासका लागि गरिरहेका कार्यलाई सरकारले पनि सहयोग पुर्याएको छ।

सन् १९९० मा साधारण परिवारमा जन्मिएका निर्मल आफ्नै दाजुबाट प्रेरित भएर फूटबल खेलाड़ी बनेका हुन्। सानैमा दाजुको सहयोगी भएर मैदानमा पुगेको उनी बताउँछन्। दाजुले मैदानमा हिर्काएको फूटबलको किक हेर्दा सानो केटो निर्मलको मनभित्र यस्तो किसिमले छाप बस्यो, जसले गर्दा उनले फूटबलबाहेक अन्य केही सोच्न सकेनन्। आफ्नो दृढ़ संकल्प लिएर अघि बढ़ेका निर्मलका निम्ति सन् २००० तिर सिक्किम सरकारले शुरु गरेको ‘सर्च मोर भाइचुङ’ योजना सार्थक बान्यो। सिक्किम सरकारको यो योजना उनको सपना साकार बनाउने आधार बन्यो।
‘सर्च मोर भाइचुङ’ योजनाअन्तर्गत ट्रायल पास गरेपछि सन् २००१ मा उनी नाम्चीको ब्वाइज होस्टलमा पुगे। जहाँ उनले फूटबल खेललाई गहिराइबाट बुझ्नसके। उनले फूटबलको औपचारिक प्रशिक्षण लिँदै खेलका लागि कड़ा मेहनत गरे। बिस्तारै फूटबलबारे धेरै कुरा बुझ्नथाले। होस्टलमै रहँदा सन् २००५ मा अन्डर-१७ मा भारतलाई प्रतिनिधित्व गर्ने मौका पाए। त्यसबेलासम्म निर्मल राम्रा खेलाड़ी बनिसकेका थिए। यहींबाट शुरु भयो उनको फूटबल खेलको रोमाञ्चक यात्रा।
गान्तोकस्थित स्पोर्ट्स एकाडेमी अफ् सिक्किममा आफ्नो खेलको कौशललाई थप निखार्ने अवसर पाए। एकाडेमीमा रहँदा निर्मलले सिक्किमको प्रतिष्ठित ‘चिफ मिनिस्टरर्स गोल्ड कप’ र ‘गभर्नरस् गोल्ड कप’ खेल्ने मौका पाए। गभर्नर्स गोल्ड कप नै उनको फूटबल यात्रामा नयाँ मोड़ बन्नपुग्यो। त्यसबेलाको स्मरण गर्दै उनी भन्छन्, ‘‘सन् २००६ तिर तत्कालीन सिक्किम राज्यका खेलमन्त्री रहेका तथा अहिलेका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा हामीलाई गभर्नरस् गोल्ड कप खेल्ने मौका प्राप्त भयो। जसले हामीलाई केवल खेल देखाउने मौका मात्रै दिएन देशका ठूला ठूला क्लबहरूको नजरमा अघि ल्यायो। यसले हाम्रो फूटबल यात्राको ढोका खोलिदियो। यसैले यो गुणलाई म कहिले पनि बिर्सिने छुइनँ।’’
सन् २००६ देखि एयर इण्डिया एफसीबाट निर्मलको पेशेदार फूटबल खेलको यात्रा शुरु भयो। एयर इण्डिया एफसीमा दुई वर्ष खेले। यसपछि उनको यात्राले तेज रफ्तार लिन थाल्यो, पछि फर्केर हेरेनन्। भारतका नामी क्लबहरू कलकताको इष्ट बेंगलमा (२००८-१२), मोहन बगान, मोहम्मदन स्पोर्टिङ क्लब (१३-१४) मा लोनमा खेले भने डेम्पो एससीलगायतका चर्चित कल्बहरूबाट खेले। यसका साथै उनले पञ्जाब एफसी र सदर्न समिति एफसीमा पनि आफ्नो बहुमूल्य योगदान दिएका छन्। फूटबलमा उनको यात्रा अघि बढ्दै जाँदा भारतमा शुरु भयो फूटबलको ठूलो मञ्च इण्डियन सुपर लिग (आईएसएल)। यसको पहिलो सिजन सन् २०१४-१५ मा केरला ब्लास्टर्स एफसीबाट खेले, सन् २०१६ देखि २०१८ सम्म नर्थइस्ट युनाइटेड एफसीको खेलाड़ी बनेपछि एफसीबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेर फूटबलको संसारमा आफ्नो छुट्टै पहिचान स्थापित गरे।
आफ्नो खेलको कौशलले निर्मलले अन्डर-१७, अन्डर-१९ र अन्डर-२३ राष्ट्रिय टोलीमा सामेल भएर भारतको प्रतिनिधित्व गरिसकेका छन्। उनले सन् २०११ मा दिल्लीमा आयोजित एसएएफएफ च्याम्पियनसिपमार्फत सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले विश्वकप छनोट, एएफसी च्यालेन्ज कप, नेहरू कप र एसएएफएफ च्याम्पियनसिपजस्ता प्रतियोगिताहरूमार्फत देशको प्रतिनिधित्व गर्दै फूटबलमा गहिरो छाप बसाल्न सफल भएका छन्।
निर्मलको सहभागितामा रहँदा भारतले एसएएफएफ च्याम्पियनसिप (२००९ र २०११) जितेको थियो भने सन् २०१२ मा नेहरू कप पनि जितेको थियो। क्लब स्तरमा उनले आई-लिग उपविजेता, फेडेरेशन कप विजेता, कोलकाता लिग च्याम्पियन जस्ता थुप्रै सफलता हात पारेका छन्। फूटबल प्लेयर्स एसोसिएसन अफ् इण्डियाका बोर्ड सदस्य तथा सिक्किम राज्यका अध्यक्षसमेत रहेका उनी सिक्किम प्रिमियर लिगका सह-संस्थापक र ‘फिट इण्डिया’ अभियानका एम्बासेडर हुन्।
आफ्नो कड़ा मेहनतले यहाँसम्म पुगेको बताउँदै निर्मल भन्छन्, ‘‘मेरो सफलताको बीस प्रतिशत ट्यालेण्ट हो भने अस्सी प्रतिशत मेरो कड़ा मेहनतको फल हो। यसैले म भन्छु मेहनत गर्नेहरूको भविष्य केही दिन अँध्यारो भए पनि समग्रमा उज्ज्वल हुन्छ।’’ पहाड़मा खेलको भविष्य निक्कै उज्ज्वल देख्ने निर्मलले केवल फूटबलमा मात्र नभएर समग्र खेलहरूमा नै खेलाड़ीहरू जन्माउने ठूलो सपना बोकेका छन्। सिक्किमका तरुणदीप राईजस्तै अन्य ओलम्पिकका खेलाड़ीहरू जन्माउने सोचले सिक्किम सरकारको सहकार्यमा निर्मललगायतका टोलीले काम शुरु गरिसकेको उनी बताउँछन्।
युवाहरूलाई प्रेरणास्वरूप उनी भन्छन्, ‘‘यस क्षेत्रमा धेरै ठूलो ठूलो अवसरहरू छन्, तर मेहनत गर्नेहरूको कमीले त्यो अवसर खाली रहन्छ। यसैले म युवाहरूलाई भन्छु तपाईंहरू अनुशासित भएर कड़ा मेहनतको साथमा त्याग गरेर कुनै खेल क्षेत्रमा लाग्नुहोस्- सफलता अवश्य प्राप्त हुन्छ।’’ ‘‘सपना देख्नुपर्छ तर सपना देखेर सुत्नु हुँदैन’’ भन्ने सुझाव उनी सधैं युवाहरूलाई दिन्छन्। सिक्किम सरकारले खेलप्रति देखाएको चासो र कार्यका कारण आउँदो दिनहरूमा सिक्किमले खेलका धेरै क्षेत्रमा राम्रा राम्रा खेलाड़ीहरू पाउने ठूलो आशा उनी राख्छन्। पढ़ाईका साथ साथ छोराछोरीहरूको इच्छाशक्तिमाथि अविभावकहरूले ध्यान दिनुपर्ने उनको सुझाव छ। सिक्किम क्रान्तिकारी मोर्चाको खेल प्रकोष्ठका सक्रिय सदस्य रहेका निर्मलले आफू भन्दा धेरै नामीदामी पेशेदार खेलाड़ीहरू आफ्नो क्षेत्रमा जन्माउने ठूलो परिकल्पना लिएर यस क्षेत्रमा लागिपरेर काम गर्दै आइरहेका छन्।
अन्ततः निर्मल छेत्री केवल एक सफल फुटबल खेलाड़ी होइनन्, उनी संघर्ष, अनुशासन र समर्पणको जीवित उदाहरण हुन्। उनले आफ्नो यात्रामार्फत एउटा सन्देश दिएका छन्- सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्न निरन्तर मेहनत गर्नेहरू नै सफल बन्छन्। आज उनी स्वयं एउटा प्रेरणा बनेर सिक्किमका कयौं युवाहरूको भविष्य उज्यालो बनाउने अभियानमा लागिरहेका छन्। सानो ठाउँबाट उठेको प्रतिभाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्नसक्छ भन्ने उनको योगदानले प्रमाणित गरेको छ।












