सिक्किम इन्सपायर्स आईईआईएपी कन्वर्जेन्सद्वारा जिल्ला प्रशासनिक केन्द्र, ग्रामीण विकास विभाग तथा पर्यटन एवं नागरिक उड्डयन विभागको सहकार्यमा आज जिल्ला प्रशासनको सम्मेलन हलमा चालकहरूका लागि जिम्मेवार तथा दिगो पर्यटन बिषय एकदिने जिल्ला स्तरीय सचेतना तथा जनजागरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको मुख्य उद्देश्य स्थानीय चालकहरू तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूलाई जिम्मेवार पर्यटन, सडक सुरक्षा, सरसफाइ, स्वास्थ्य सचेतना तथा पर्यटक आतिथ्यसम्बन्धी विषयमा जागरूक गराउनु रहेको थियो। जिल्लामा दिगो पर्यटनलाई अझ सुदृढ बनाउन सकियोस् भन्ने उदेश्यको साथमा
ग्रामीण विकास विभागका अध्यक्ष नारायण खातीवाडा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा विशेष रूपमा सहभागी रहेको कार्यक्रममा अतिरिक्त जिल्ला पाल तृप्ति हाङ्मा सुब्बा, अतिरिक्त जिल्ला विकास सुरत कुमार गुरुङ, मुख्यमन्त्रीका विशेष कार्य अधिकारी दिगम गुरुङ, मुख्य चिकित्सा अधिकारी डा. नामग्याल भुटिया खण्ड विकास अधिकारी गेजिङ गराप भुटिया, खण्ड विकास अधिकारी चोङराङ गीता कुमारी गुरुङ बजार अधिकारी डी.आर. शर्मा सहायक पर्यटन निर्देशक ग्याम्स्तो टी. भुटिया, विभिन्न विभागका अधिकारीहरू, व्याख्याताहरू क्योङ्सा वरिष्ठ माध्यमिक विद्यालयकी प्रधानाध्यापक पंचायत प्रतिनिधिहरू तथा ठूलो संख्यामा स्थानीय चालकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायण खातीवाडाले जिल्लामा स्वच्छता सुरक्षा अनुशासन तथा जिम्मेवार पर्यटन प्रवर्द्धनमा सबैको महत्वपूर्ण भूमिका रहेको बताए। उनले चालकहरूलाई समाजका जिम्मेवार प्रतिनिधि बनेर सुरक्षित तथा नैतिक सवारी सञ्चालन गर्न आग्रह गर्दै जनजीवनको सुरक्षा र सहज यातायात व्यवस्थापनमा चालकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। सभामा
जिल्ला पाल तेन्जिङ डी. डेन्जोङ्पाले आफ्नो मन्तव्यमा दिगो पर्यटनको मापदण्ड कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै सिक्किम आउने पर्यटकहरूको अनुभवलाई सकारात्मक बनाउन चालकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्राविधिक सत्रमा विभिन्न विभागका स्रोत व्यक्तिहरूले पर्यटन तथा जनहितसँग सम्बन्धित विविध विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए।
मुख्य चिकित्सा अधिकारी डा. नामग्याल भुटियाले प्राथमिक उपचार सीपीआर प्रक्रिया तथा सामान्य रोग र आकस्मिक स्वास्थ्य समस्याको पहिचानबारे जानकारी दिए दिदै चालक तथा पर्यटन सेवा प्रदायकहरूका लागि आकस्मिक अवस्थाको तयारी अत्यन्त आवश्यक रहेको बताए।
मोटर वाहन विभागका निरीक्षकद्वारा सडक सुरक्षा तथा सुरक्षा मापदण्डसम्बन्धी सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो जसमा सुरक्षित सवारी सञ्चालन यात्रुको सुरक्षा तथा यातायात नियमको पालना गर्नुपर्ने विषयमा विशेष जोड दिइयो।
व्यावसायिक चालक तथा यात्रा सामग्री निर्माता राज कुमार लिम्बूले आफ्ना अनुभव साझा गर्दै सहभागीहरूलाई व्यावसायिक व्यवहार आतिथ्य भावना तथा सिक्किम पर्यटनको सकारात्मक छवि प्रस्तुत गर्न प्रेरित गरे।
सरसफाइ तथा फोहोर व्यवस्थापन विषयमा छेतेन ताशी भुटियाले पर्यटकीय स्थलहरूमा स्वच्छता उचित फोहोर व्यवस्थापन तथा वातावरणीय जिम्मेवारीबारे महत्वपूर्ण जानकारी दिए।
उप-पर्यटन निर्देशक मनोज कुमार छेत्रीले चालक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूबीच जिम्मेवार पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै पर्यटन क्षेत्रको दिगो विकासका लागि यस प्रकारका कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा अन्तरक्रियात्मक प्रतिक्रिया सत्र पनि सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूले पर्यटन सेवा सडक पहुँच तथा आफ्ना अनुभव र चुनौतीहरू साझा गरेका थिए। कार्यक्रमलाई थप प्रेरणादायी तथा मनोरञ्जनात्मक बनाउँदै हास्यकलाकार-सहचालक बीरेन प्रधानले चालकहरूलाई सिक्किम पर्यटनका जिम्मेवार प्रतिनिधि बन्न आह्वान गरे यसअघि जिल्ला शिक्षा तथा तालिम संस्थान, गेजिङका विद्यार्थीहरूले प्रस्तुत गरेको लघु नाटकले उपस्थित सबैलाई जनचेतनाको सशक्त सन्देश दिएको थियो। कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र तथा किट वितरण गरिएको थियो।












