भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको प्रदेश परिषद् सभामा विशेष सफल छात्र हरूलाई अभिनन्दन सहित अमलीघाटमा सम्पन्न भयो, मुख पत्र ‘रैथाने’ रजत जयन्ती विशेषांक प्रकाशित गरिने भएको जानकारी।
भारतीय गोर्खा परिसंघ (भा.गो.प.) असम राज्य समितिको प्रदेश परिषद् सभा (State Council Meet) आइतबार मोरिगाउँ जिल्लाको आम्लिघाटस्थित क्याफे मोन्जाइ असम पर्यटनको सभा कक्षमा सम्पन्न भयो। सभाको अध्यक्षता भा.गो.प. असम राज्य समितिका अध्यक्ष श्री अमर अधिकारीले गर्नुभएको थियो भने सञ्चालन मूलसचिव नन्द किराती देवानले गर्नुभएको थियो। कार्यक्रम भारतीय गोर्खा परिसंघ, मोरिगाउँ जिल्ला समितिद्वारा आयोजना गरिएको थियो। सभामा उत्तर–पूर्व क्षेत्रीय अध्यक्ष डा. दिलीप क्षेत्री, परिसंघका संरक्षक श्री लक्ष्मी भारद्वाज तथा भारतीय गोर्खा महिला परिसंघकी राष्ट्रिय संयोजक श्रीमती लक्ष्मी सुबेदी पर्यवेक्षकका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रदेश परिषद सभाले सर्वसम्मत रूपमा भारतीय गोर्खा परिसंघ, असम राज्य समितिको ७औं त्रैवार्षिक अधिवेसन आगामी २४ र २५ अगस्ट २०२६ मा लखीमपुर जिल्लामा बलिदान दिवस तथा आम सभासँगै आयोजना गर्ने निर्णय गरेको छ। अधिवेसनको स्वागतकारिणी समिति गठनका लागि अध्यक्ष श्री अमर अधिकारीको नेतृत्वमा प्रतिनिधिमण्डल १७ मइमा लखीमपुर भ्रमण गर्ने निर्णय पनि गरिएको छ। सभाले विश्वनाथ जिल्ला समितिको पुनर्गठन प्रक्रिया दुई साताभित्र सम्पन्न गर्ने निर्णय गर्दै कार्यकारी अध्यक्ष श्री ठन्दी नेवारको नेतृत्वमा टोली गठन गरेको छ। टोलीलाई उत्तर–पूर्व क्षेत्रीय अध्यक्ष डा. दिलीप क्षेत्रीको परामर्श रहनेछ भने अखिल असम गोर्खा छात्र संघ (AAGSU) का पूर्व मूलसचिव तथा वरिष्ठ समाजसेवी श्री राजेन शर्माले मार्गदर्शन गर्नुहुने बताइएको छ। विश्वनाथ जिल्ला भा गो प का पर्यवेक्षक डा. दीपेन्द्र खनाललाई सम्बन्धित पक्षसँग समन्वय गर्न जिम्मेवारी दिइएको छ। भारतीय गोर्खा परिसंघको आधिकारिक मुखपत्र ‘रैथाने’ लाई रजत जयन्ती विशेषांकका रूपमा अधिवेसन साथै बलिदान दिवसमा प्रकाशन तथा लोकार्पण गर्ने निर्णय गरेको छ। यसका लागि नन्द किराती देवानको नेतृत्वमा सम्पादकीय समिति गठन गरिएको छ। समितिमा बिमल प्रधान, खिलानाथ अधिकारी, डा. टिकेन्द्र कुमार क्षेत्री तथा धन प्रसाद लिम्बूलाई विभिन्न सम्पादकीय जिम्मेवारी दिइएको छ। डा. इन्द्रप्रभा देवी, डा. अमृत कुमार उपाध्याय तथा डा. सुकमाया लामालाई सम्पादकीय सल्लाहकार चयन गरिएको छ। रैथाने प्रकाशन समितिको अध्यक्ष श्री अमर अधिकारी तथा संयोजक डा. राजु सुब्बा रहनुहुनेछ।
प्रदेश परिषद् सभाले मार्घेरिटाका श्री भास्कर शर्मा तथा बारछल्लाका श्री रितु बरन शर्मालाई विधायक (MLA) निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा समुदायका मुद्दाहरू असम विधानसभामा प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरेको छ। त्यसैगरी सभाले डा. हिमन्त विश्व शर्मालाई भारतीय जनता पार्टी विधायक दल तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) को नेता चयन भएकोमा बधाई ज्ञापन गर्दै उहाँको नेतृत्वमा समावेशी विकास, न्याय तथा सबै समुदायको कल्याण सुनिश्चित हुने अपेक्षा व्यक्त गरेको छ। ड° हिमन्त विश्व शर्माले दोस्रो पटक असमको मुख्य मन्त्रीको रूपमा मंगलबार गुवाहाटीको पशु चिकित्सा विज्ञान महाविद्यालय प्राङ्गण खानापढा मा सपथ लिनु हुने छ।
यसैबीच, अधिवेसन तथा साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर प्रत्येक जिल्लामा ‘गोर्खा जन जागरण नागरिक सभा’ आयोजना गरिने निर्णय पनि बैठकले गरेको छ। यसको शुभारम्भ उत्तर असम भ्रमणमा रहेको भा.गो.प. अधिवेसन विशेष टोलीद्वारा १७ मइ २०२६ देखि धेमाजी जिल्लाबाट गरिने जानकारी दिइएको छ।
भा गो प मोरिगाउँ जिल्ला समितिको उद्योगमा सम्पन्न भा गो प प्रदेश परिषद सभामा कृति छात्र छात्रालाई विशेष रूपमा अभिनन्दन गरी समर व्यक्तित्व बाट समाज जीवन सहितको शिक्षा मूल्य विषयमा वक्तव्य राखियो। असम नेपाली साहित्य सभाका शिक्षा सचिव धन छेत्रीको गरिमामय उपस्थिति रहेको सभामा अनेसास का कार्यकारिणी सदस्य कृष्णलाल शर्मा, असम गोर्खा सम्मेलन मोरिगाउँ जिल्ला समितिका सभापति नारायण शर्मा, अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय कार्यकारिणी सदस्य कमल ढकाल, मोरिगाउँ जिल्ला AAGSU का सभापति पदम थापा साथै कार्वि आङलङ जिल्ला भा गो प का नेतृ रेणु पाण्डे अतिथिको रूपमा उपस्थित थिए । साथै स्थानीय गोर्खा महिला समितिका सदस्यहरू र धेरै छात्र हरुको उपस्थिति रहेको थियो।
त्यसैगरी भारतीय गोर्खा परिसंघ, मोरिगाउँ जिल्ला समितिका अध्यक्ष नारायण थापाले धन्यवाद ज्ञापन गरेको सभामा स्वागत भाषण मूलसचिव गंगाराम ढुंगेल ले गर्नुभो जसमा जिल्ला का आजीवन सदस्य लगायत जिल्ला समितिका पदाधिकारी बैठकमा उपस्थित हुनुहुन्थ्यो। प्रदेश परिषद सभाको निर्णय सम्बन्धी जानकारी सहायक मूलसचिव डा. राजु सुब्बाले सार्वजनिक गर्नुभएको हो।












