गोर्खा राष्ट्रिय मुक्ति मोर्चा समरीक शाखाको आयोजनामा सम्पन्न विशेष सभामा विभिन्न राजनीतिक दल परित्याग गर्दै २२ घर परिवार गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा औपचारिक रूपमा सामेल भएका छन्।
कार्यक्रम समरीक शाखा सभापति पन्जो तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभामा पोख्रेबुङ चामुङ समष्टि अध्यक्ष निगम कार्कीको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा विभिन्न भ्रातृ संगठन, युवा संगठन, गोरायो तथा भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। सभामा वक्ताहरूले गोर्खा समाजको राजनीतिक, सामाजिक तथा संवैधानिक अधिकार सुनिश्चित गर्न एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नै जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका थिए।
नवप्रवेशी परिवारहरूलाई पार्टीको हरियो झण्डा तथा खादा ओढाएर औपचारिक स्वागत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले गोर्खा एकता, पहिचान तथा स्थायी राजनीतिक समाधानको पक्षमा दृढतापूर्वक आवाज उठाएका थिए। कार्यक्रमको सञ्चालन समरीक शाखा सचिव श्री नन्दराज भर्तीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन दार्जीलिङ ब्राञ्च सदस्य राजेन्द्र गिरीले गर्नुभएको थियो।












