एउटी केटी कसरी फूटबलको रेफ्री बन्नसक्छिन् र? भन्ने चुनौतीपूर्ण भनाइ सुन्दै आएकी ३० वर्षिया सुष्मिता राई आज राष्ट्रिय स्तरको रेफ्री बनेकी छिन्। बाबुबाटै प्रेरित भएकी सुष्मिता सजिलैसित रेफ्री बनेकी होइनन्, यसमा उनको दृढ़ संकल्प, धैर्य र मेहनत रहेको छ भने पसिनाका धारा बगाएकी छिन्।
‘‘जबसम्म कठिन मेहनत गरिन्छ, समर्पित भएर बसिन्छ तबसम्म करियर राम्रो छ’’
जितमान राई र रेश्मा राईका छोरी सुष्मितालाई सानैदेखि फूटबलमा रुची थियो। सानो हुँदा साथीहरूसित आफ्नो जन्मथलो दक्षिण सिक्किमको नाम्ची नजिकको गाउँ कामराङमा फूटबल खेल्थिन्। फूटबलमा रुची हुनुको कारण थियो बाबु पनि राम्रा खेलाड़ी थिए। फूटबल खेलाड़ीबाट बाबु रेफ्री बनेका थिए। बाबुसितै फूटबल खेलहरूमा जान्थिन्, र मैदानमा रेफ्री बाबुलाई देख्दा आफू पनि यसै दिशातर्फ लागिन्। उनी भन्छिन्, ‘‘बाबुको पालामा अहिलेको जस्तो खासै सुविधा थिएन।’’ सुष्मिताले सिक्किम राज्यमा फूटबल खेलिन्, खेलाड़ीबाट बाबुजस्तै रेफ्री बन्ने बाटो पहिल्याइन्। नाम्चीको गभर्मेन्ट गर्ल्स सिनियर सेकेण्डरी स्कूलमा १२ कक्षा सकेपछि सन् २०१७ देखि सोझै रेफ्रीको कोर्स शरु गरिन्।
पाँच वर्ष कठिन परिश्रम गरेर उनी रेफ्री बनिन्। रेफ्री बन्नका लागि पहिला सिक्किम फूटबल एसोसिएसन (एसएएफ)को अधीनमा सिक्किम राज्यमा पंजीकरण गरेपछि परीक्षामा बस्नुपर्छ। उनका अनुसार परीक्षा फिटनेस, थियोरी, प्र्याक्टिकल हुन्छ अनि यसमा पास भएपछि आरआईएन (रिन) नम्बर प्राप्त हुन्छ। रिन नम्बर आएपछि अल इण्डिया फूटबल फेडेरेसन (एआईएफएफ)को अधीनमा फेरि परीक्षा हुन्छ। पाँच वर्ष निरन्तर परीक्षामा बस्नुपर्छ। यसमा पनि निरन्तर पास हुनु जरुरी छ, फेल भए पुन: परीक्षा बस्नुपर्छ- स्कूलमा जस्तै।
सुष्मिता भन्छिन्, ‘‘पहिला मैले गर्दा क्याटेगोरी-५ हुन्थ्यो र यसमा पास गरेपछि क्याटेगोरी-४ मा पुग्छ। यसरी नै अघि बढ़्नुपर्छ। क्याटेगोरी-२ नेशनल रेफ्री हो।’’ उनका अनुसार, क्याटेगोरी-६ जुन राज्यमा हुन्छ- अहिले यो क्याटेगोरी-८ भएको छ। क्याटेगोरी-२ पुगेपछि यसमा पनि लेभल छुटिन्छ। क्याटेगोरी-२ को एलिट लेभलले राष्ट्रिय स्तरको ठूलो प्रतियोगिताहरू खेलाउन पाउँछन्। सुष्मिता क्याटेगोरी-२ को एलिट लेभल सन् २०२३ मा पास गरेकी रेफ्री हुन्। एउटा क्याटेगोरी पास गर्नका लागि कम्तीमा एक वर्ष लाग्छ। परीक्षामा पढ़्नुपर्ने बारेमा उनी भन्छिन्, ‘‘यसमा फूटबलको १७ वटा लज्-हरू सबै पढ़्नुपर्छ। वर्षेनी हाम्रो लज् बदली हुन्छ, त्यो पनि पढ़्नुपर्छ। यो नयाँ लज् प्राय: अगस्ततिर लागु हुन्छ- भारतभरिमा। यो बोर्डमाथि निर्भर हुन्छ। गत वर्षदेखि गोलकिपरले आठ सेकेण्ड मात्र गोली हातमा राख्न पाउने भएको छ। समातेको आठ सेकेण्डभित्रमा गोली फ्याँकीसक्नुपर्छ। यस्तो रुलहरू बदली भइरहन्छ।’’
रेफ्रीको परीक्षाको लागि वर्षको अन्ततिर एआईएफएफले एउटा मिति दिन्छ, र रेजिस्ट्रेशन भएपछि परीक्षाको तयारी हुन्छ। क्याटेगोरी-३ सम्मको परीक्षा सबै राज्यमै हुन्छ, एआईएफएफबाट परीक्षाको लागि प्रतिनिधि पठाइन्छ। सुष्मिताका अनुसार, क्याटेगोरी-२ पुगेपछि नामको सूची आउँछ- यसको लागि राज्यमा तीन महिनाभित्रमा राज्यको स्टेट एसोसिएसनको अधीनमा २५ देखि ३० म्याच खेलाएको हुनुपर्छ। यो सबै पूरा गरेपछि परीक्षाको लागि जानुपर्छ। सुष्मिताले कलकता र ग्वालियरबाट परीक्षा पास गरेकी हुन्।
सुष्मिताले नेशनल रेफ्री बन्नअघि गान्तोकमा एसएफएको अधीनमा हुने ‘सी’ डिभिजनको लिग फूटबलबाट रेफ्रीको कार्यभार शुरु गरेकी हुन्। सन् २०१७ को अन्तदेखि उनले फूटबल म्याच खेलाउन शुरु गरेकी हुन्। सन् २००३ मा नेशनल रेफ्री बनेपछि गोवामा भएको नेशनल गेम्सको फूटबल म्याचहरू सफलतापूर्वक खेलाइन्। खेलो इण्डियामा हुने युथ गेम्स, यूनिभर्सिटी गेम्स, ट्राइबल गेम्सहरू तमिलनाडु, गुवाहाटी, लखनउ, पञ्जाबतिर फूटबल म्याचहरू सबै खेलाइन्। भारतको नेशनल च्याम्पियनसिपमा केटीहरूको फूटबल म्याचहरू खेलाइन्। केटीहरूको लागि आयोजना हुने भारतको शीर्ष लिग इण्डियन वुमेन्स लिग (आईडब्ल्यूएल) को म्याचहरू खेलाउँछिन्। सिक्किम राज्यमा हालैमा हुँदै गरेको सिक्किम प्रिमियर लिग (एसपीएल) खेलाइन्। गत वर्ष ‘चीफ मिनिस्टर्स गोल्ड कप’ पनि खेलाइन्। एसएफएको लिग म्याचहरू पनि खेलाउँछिन्।
फूटबलमा रेफ्रीको भूमिका निर्वाह गर्नु सजिलो हुँदैन। खेलको अवधिभरि नै खेलाड़ी, प्रशिक्षक, दर्शकहरूको दबाव र चुनौतीहरू सामना गर्दै मानसिक दबाव झेल्नुपर्ने हुन्छ। घरेलु मैदानमा हो भने चुनौती झनै बढ़ी हुन्छ। सबै चुनौती र दबावहरूलाई सुष्मिताले धैर्यतापूर्वक सन्तुलनमा राख्छिन्। खेलको मैदान बाहिर खेलाड़ी उनका साथी पनि हुन्छन्, तर मैदानभित्र खेलको अवधिभरी उनी केवल रेफ्री मात्र हुन्छिन्, र आफ्नो कर्तव्य निर्वाह गर्छिन्। सुष्मिता एकजना छोरी भएकी हुनाले पहिला निक्कै चुनौतीहरू सामना गरिन् भने ‘‘केटीले गर्न सक्दैन- किन गरेको?’’ भन्ने भनाइहरू पनि सुनिन्। ‘‘जीवनमा अन्य धेरै अवसरहरू पनि हुन्छन्, तर किन रेफ्री नै चयन गरेको?’’ भन्ने प्रश्नहरू पनि उनको अघि खड़ा भयो।
जीवनको गोरेटोमा उतारचढ़ाव देख्दै आएकी सुष्मिताले धेरै चुनौती र संघर्षहरू देख्दै आएकी हुन्। बाबुको संघर्षलाई देखिन्, महसुस गरिन् अनि बाबुको सपना पूरा गर्न नाम्चीबाट गान्तोक पुगिन्। आज उनले बाबुको सपना पूरा गरेर भारतको राष्ट्रिय स्तरको रेफ्री बनिन्। यो उपलब्धिबाट गाउँ-समाज सबै खुशी भएको उनी बताउँछिन्। राष्ट्रिय स्तरको रेफ्री बन्न सजिलो छैन अनि रेफ्री बनेपछि फिटनेसलाई बढ़ी ध्यान दिनुपर्छ। उनका अनुसार, वर्षेनी रेफ्रीको फिटनेस जाँच हुन्छ। फिटनेसमा फेल भए एक वर्ष म्याच खेलाउन पाउँदैन। उनी भन्छिन्, ‘‘यसको लागि जहिले पनि फिट रहनुपर्छ।’’
फूटबल खेल हुँदा कुनै बेला विवादस्पद निर्णय पनि लिनुपर्छ, अनि अर्को कुरा रेफ्रीले आँखा देखेन, चेप्यो भन्ने हल्ला धेरै उच्च स्वरमा सुनिन्छ। यस्तो स्थितिमा रेफ्रीमाथि मानसिक दबाव पर्नु स्वाभाविक हो। सुष्मिताले यस्ता दबावहरू सजिलैसित झेल्छिन्। उनी भन्छिन्, ‘‘हामी मानसिक रुपमा स्वस्थ रहन्छौं- आफूलाई मानसिक रुपले तयार राख्छु। सबैभन्दा मुख्य कुरा भनेको धर्य हो। हामी दबावमा पर्नु हुँदैन। स्थिति हेरेर सम्हाल्छौं।’’ अन्तर्राष्ट्रिय स्तरको खेलमा उनले हालैमा साउथ एशियन फूटबल फेडेरेसन (एसएएफएफ)को अण्डर नाइनटिन फूटबल पोखरामा खेलाइन्। यसमा उनी बंगलादेश, नेपाल, भुटानबीच भएको खेलमा रेफ्री थिइन्।
केटीहरूका लागि रेफ्रीको करियारबारे सुष्मिता भन्छिन्, ‘‘यसमा करियर र भविष्य राम्रो छ। अहिले खेलमा पनि राष्ट्रिय स्तरमा केटीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताहरू बढ़्दै गइरहेको छ। वर्षमा बाह्र महिनै प्रतियोगिताहरू हुँदैछ। जबसम्म कठिन मेहनत गरिन्छ, समर्पित भएर बसिन्छ तबसम्म करियर राम्रो छ।’’ आफूलाई रेफ्रीको रुपमा यस्तो बताउँछिन्, ‘‘म मैदानमा कड़ा छु।’’
सुष्मिता राईको यात्रा केवल व्यक्तिगत सफलताको होइन, यो दृढ़ इच्छाशक्ति, निरन्तर मेहनत र समाजका सीमित सोचलाई चुनौती दिने प्रेरणादायी उदाहरण हो। केटीले सक्दैन भन्ने धारणालाई गलत सावित गर्दै उनले देखाइन्- सपना ठूलो हो भने बाटो आफैं खुल्दै जान्छ।












