आशा भोसले: नेपाली संसारले बिर्सन नसक्ने स्वर

Authored By: हिमालय दर्पण डेस्क

Share this news

भारतकी कालजयी गायिका आशा भोसले  आज यस भौतिक संसारमा नरहे पनि उनका अमर स्वर सधैंझैं श्रोताहरू बीच गुञ्जिरहने छन्। हिन्दी चलचित्रसँगै नेपाली संगीतसँग पनि उनको सम्बन्ध गहिरो र आत्मीय रह्यो, जसको उदाहरण ‘माइतीघर’का कालजयी गीतहरू ‘…माइती घर माइती घर..’, ‘म प्यार बेचिदिन्छु’ हुन्- आज पनि संसारभरका नेपालीबीच उत्तिकै लोकप्रिय छ। त्यस्तै, चलचित्र ‘बाँसुरी’, ‘प्रेमपिण्ड’का गीतहरूले दशकौं पार गर्दै आफ्नो लोकप्रियता कायम राखेको छ। यस्तो अमूल्य योगदानले आशा भोसलेलाई भारतीय र नेपाली संगीत संसारमा सधैंका लागि अविस्मरणीय बनाएको छ।

 रञ्जित गजमेर: ‘‘मेरो ब्याकबोन नै गइहाल्यो’’

नेपाली संसारका वरिष्ठ संगीतकार रञ्जित गजमेर आशा भोसलेको निधनले अति नै दु:खी छन्। ‘हिमालय दर्पण’सित टेलिफोनमा भएको कुराकानीमा मुम्बईबाट उनी भन्छन्, ‘‘उहाँको निधनले म अति नै दु:खी छु।’’ आशा भोसले र रञ्जित गजमेरबीचको सम्बन्ध दिदी-भाइको थियो। अहिले ८५ वर्ष पुगेका रञ्जित गजमेर आशा भोसलेसित संगीतको क्षेत्रमा काम गरेको सम्झिन्छन्। आशा भोसलेसितको परिचयबारे उनी भन्छन्, ‘‘म आर. डी. बर्मनसित काम गर्थे। आर. डी. बर्मनको गीतहरू आशा भोसलेले गाउनुहुन्थ्यो। सो बेलादेखि हाम्रो परिचय भयो।’’ सन् १९७१ देखि आर. डी. बर्मनसित रञ्जित गजमेरले काम गर्न शुरु गरे। उनी भन्छन्, ‘‘म त्यति बेला मादल लिएर गएको थिएँ, र मादल बजाउँथेँ।’’

‘‘मेरो त ब्याकबोन भनेको उहाँ नै हुनुहुन्थ्यो। परिवारको सदस्य नै थिइन्।’’ -रञ्जित गजमेर

आर. डी. बर्मनसित संगीतको काम गर्दा त्यहीं नै आशा भोसलेसित उनको भेट भएको रञ्जित गजमेर बताउँछन्। आशा भोसलेसितको भेटलाई उनी सम्झिन्छन्, ‘‘उहाँसितको पहिलो भेट असाध्यै रमाइलो भयो।’’ आशा भोसले जस्ती लोकप्रिय गायिकासित काम गर्दाखेरिको अनुभव साझा गर्छन्, ‘‘उहाँसित काम गर्न मलाई सजिलो थियो, कारण हामी परिवार जस्तै थियौं- मलाई भाइ मान्थिन्। उहाँसित गीत गाउनु, कुरा गर्नु सजिलो थियो।’’ आशा भोसलेले आफूलाई सानो भाइलाई जस्तै माया गरेको उनी बताउँछन्। रञ्जित गजमेर सम्झिन्छन्, ‘‘मलाई ‘कान्छा’ भनेर बोलाउनु हुन्थ्यो। आर. डी. बर्मनले राखिदिनुभएको मेरो नाम ‘कान्छा’, सबैले मलाई कान्छा भन्थे।’’

रञ्जित गजमेर भन्छन्, ‘‘बाँसुरी चलचित्रको लागि गीत गाउन अनुरोध गरेको थिएँ, उहाँले  एकैपल्टमा हुन्छ भन्नुभयो। उहाँले ‘झझल्को लिएर आएछ सावन’ गाउनुभयो। यसपछि अर्को गीत उदित नारायण झासित ‘मिरमिरे साँझमा सिमसिमे पानी…’ गाउनुभयो।’’ आशा भोसलेले आफ्नो संगीतमा दश बाह्रवटा जति गीत गाएको उनी बताउँछन्। उनका अनुसार, आशा भोसलेसित संगीतको काम गर्न धेरै सजिलोसित थियो। उनी भन्छन्, ‘‘उहाँ असाध्यै राम्रो हुनुहुन्थ्यो, खुला हृदय भएकी। सबैसित राम्रो काम गर्ने, राम्रो बोल्ने, मिलनसार थिइन्। मेरो गीतहरू गाउनुहुन्थ्यो। उहाँले धेरै राम्रो राम्रो गीतहरू गाउनु भएको छ। मेरो सम्मान कार्यक्रममा मसित काठमाड़ौं पनि जानुभयो। त्यस सम्मान कार्यक्रममा दुई दिन बस्नुभयो। मलाई धेरै माया गर्नुहुन्थ्यो’’, आज उनी आफूलाई माया गर्ने दिदी आशा भोसलेलाई सम्झिन्छन्।

नेपाली संगीतसित आशा भोसलेको गहिरो सम्बन्ध छ। रञ्जित गजमेर भन्छन्, ‘‘नेपाली संगीत वहाँले औधी नै मन पराउनुहुन्थ्यो।’’ आशा भोसलेको निधनमा गहिरो दु:ख प्रकट गर्दै उनी भन्छन्, ‘‘मेरो त ब्याकबोन भनेको उहाँ नै हुनुहुन्थ्यो। परिवारको सदस्य नै थिइन्, काम नहुँदा फोन गरेर के कसो छ सोध्नुहुन्थ्यो, अब त ब्याकबोन नै गइहाल्यो। म एकदमै दु:खी छु।’’ ८५ वर्षको उमेरमा पनि रञ्जित गजमेर संगीतको कार्यमा व्यस्त छन्। उनको संगीत भएको तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड़’ नेपाली नयाँ वर्ष (१५ अप्रेल)मा रिलिज भएको छ।

शम्भुजित बास्कोटा: ‘‘उहाँलाई मिस गरिरहेको छु’’

चलचित्र ‘प्रेमपिण्ड’को गीत ‘गैरी खेतको शिरै हान्यो’ आशा भोसलेले गएकी यो अर्को सर्वाधिक लोकप्रिय गीत हो। विश्‍वभरका हरेक नेपालीमाझ बजिरहने गीत हो। यस गीतका स्रष्टा हुन् नेपाली संसारका लोकप्रिय संगीतकार-गायक-गीतकार शम्भुजित बास्कोटा। संगीत संसारले एक महान् गायिकालाई गुमाएको उनी महसुस गर्छन्। संगीतले नै उनले आशा भोसलेलाई नाजिकबाट चिन्ने अवसर पाए। हिमालय दर्पणले फोनमार्फत काठमाड़ौंमा कुरा गर्दा शम्भुजित बास्कोटा भन्छन्, ‘‘मैले उहाँलाई मिस गरिरहेको छु।’’

‘‘उहाँको आवाजले संसारलाई ठूलो गुण लगाएको छ भने नेपाली समाजमा पनि ठूलो गुण लगाउनु भएको छ’’ -शम्भुजित बास्कोटा

मुम्बई जान अघि नै काठमाड़ौंमा आशा भोसलेसित शम्भुजित बास्कोटाको भेट भएको थियो। ‘‘कामको सिलसिलामा मुम्बई जाँदा घरमै बोलाउनुभयो। नेपाललाई माया गर्नुहुन्थ्यो।’’ मुम्बईमा आशा भोसलेसितको भेटलाई शम्भुजित बास्कोटा सम्झिन्छन्, ‘‘मुम्बईमा वहाँको प्रभु कुञ्जमा माथिल्लो तलामा लताजी, बीचमा आशाजी र तल्लो तलामा उषाजी बस्नुहुन्थ्यो। त्यहाँ बसेर कुरा गर्‍यौं- गीतहरू सुन्नुभयो।’’ गीत सुनेपछि आशा भोसलेले शम्भुजित बास्कोटाको गीत कम्पोजिसन मन पराइन्, र रेकर्डिङको कुरा अघि बढ़्यो। शम्भुजित बास्कोटा भन्छन्, ‘‘सहकार्यमा दिदीसित मेरो राम्रो सम्बन्ध भयो। पहिला दुईवटा गीत गाउनुभयो।’’ आशा भोसलेले गाएकी उनको गीत चलचित्र ‘चेलीबेटी’को ‘एउटा मान्छे मनपर्छ’ र ‘तिम्रो आँखाको सागरमा’ले खुबै राम्रो चर्चा पायो।

शम्भुजित बास्कोटा मुम्बई जाँदा आशा भोसलेसित भेट गर्थे। उनी भन्छन्, ‘‘चेलीबेटी चलचित्रमा महान् गायिकाले दुईवटा गीत गाउनुभयो। बसेर सिकाउन पाइयो- एकजना प्रोफेसनल कप्मोजरको हैसियतमा इज्जत दिनुभयो। उहाँ एकदमै डाउन टु अर्थ लाग्यो मलाई- दिदी जस्तो। कहिले भन्नुहुन्थ्यो मेरो लागि गीत ल्याएनौ? कहिले स्टुडियोतिर भेट हुन्थ्यो। हँसिलो स्वभावकी थिइन् र सहकार्य गर्दा सजिलो हुन्थ्यो।’’ उनी अझ भन्छन्, ‘‘फेरि हामीले ‘प्रेमपिण्ड’को गीत ‘गैरी खेतको शिरै हान्यो’ रेकर्ड गर्‍यौं। यो गीत गाउने क्रममा हामीले शब्द उच्चारणको बारेमा पनि छलफल गर्‍यौं।’’ ‘गैरी खेतको शिरै हान्यो’- यो गीतले नेपाली संगीत संसारमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। तीन दशक नाघिसक्दा पनि यो गीतको लोकप्रियता निरन्तर चलिरहेको छ। यो गीत रेकर्ड गर्दाखेरिको समयलाई उनी सम्झिन्छन्, ‘‘यो गीत रेकर्ड गर्दा आशाजीकी श्रीमान आर.डी. बर्मन पनि आइपुग्नु भएको थियो स्टुडियोमा। आशाजी र वहाँका श्रीमानले यस गीतको कम्पोजिसनको प्रशंसा गर्नुभएको थियो।’’ यस गीतको लागि आशा भोसले र शम्भुजित बास्कोटालाई नेपालको प्रतिष्ठित अवार्ड ‘नेपाल मोशन पिक्चर अवार्ड’ प्राप्त भएको थियो। उनी भन्छन्, ‘‘आशा दिदीले मेरो चारवटा गीत गाउनुभयो। उहाँसित काम गरेको सम्झना रहिरह्यो।’’

शम्भुजित बास्कोटा भन्छन्, ‘‘आशाजी अन्य भाषाका गीतहरू एकदमै छिटो सिक्न प्रतिभाशाली थिइन्। शब्द उच्चारणहरू सिक्न धेरै कोशिश गर्नुहुन्थ्यो। गीत गाउन लगाएर सिकाउन लगाउनुहुन्थ्यो। म बम्बई (मुम्बई)मा बसेर काम गरेको भए दिदीसित धेरै नजिक हुने थिएँ, तर म बम्बई बसिनँ। उहाँ अति नै साधारण हुनुहुन्थ्यो। मैले उहाँकी दिदी लताजीसित पनि भेट गर्ने अवसर पाएँ, र नेपालको बारेमा कुरा गरें। वहाँहरू तीनै दिदीबहिनीले नेपाली गीतहरू गाउनुभयो। उहाँको आवाजले संसारलाई ठूलो गुण लगाएको छ भने नेपाली समाजमा पनि ठूलो गुण लगाउनु भएको छ’’, उनी भन्छन्।

अन्ततः आशा भोसले केवल एक महान् गायिका मात्र होइनन्, उनी संगीतको युग नै हुन्। उनको स्वरले भाषा, देश र पुस्ताको सीमाना पार गर्दै करोड़ौँ मनहरूमा अमिट छाप छोड़ेको छ। उनका गीतहरू सधैं गुञ्जिरहनेछन्- र यही नै उनको साँचो अमरत्व हो।

 


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ