Junu Gautam music journey
Junu Gautam music journey

समयले रोके पनि रोकिएन जुनुको संगीत यात्रा

Authored By: सञ्जय प्रधान  

Share this news

नेपाली संगीतको यात्रामा संघर्ष, समर्पण र निरन्तरताको उदाहरण हुन् गायिका जुनु गौतम। मणिपुरको सानो परिवेशबाट शुरु भएको उनको सांगीतिक यात्रा समयका अनेक उतार-चढ़ाव पार गर्दै नेपाली गीत-संगीतको क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। चलचित्र ‘जीवन काँड़ा कि फूल’का गीतबाट चर्चामा आएकी उनले संगीतलाई केवल पेशा होइन, जीवनको अभिन्न हिस्सा बनाएकी छन्।

“मान्छेको जीवनमा सबैभन्दा ठूलो इच्छाशक्ति रहेछ”

मणिपुरको काला पहाड़मा जन्मिएकी जुनु गौतम सानैदेखि गीत-अभिनयमा रुचि राख्थिन्। आलोक गौतम र उमा गौतमकी छोरी जुनु इम्फालको मणिपुर पब्लिक स्कूलमा पढ़्दा गीत गाउन र नाटकमा अघि हुन्थिन्। आमाले साई समितिमा भजन गाउँथिन्, बाबुले गीत लेख्थे, कम्पोज गर्थे र गाउँथे। सानोमा बाबुले कम्पोज गरेका गीतहरू गाउँथिन्। आमाबाबुको प्रभावले बिस्तारै संगीततर्फ पाइला अघि बढ़्यो। मणिपुरमै भातखण्डे संगीत विद्यापीठ लखनऊबाट भारतीय शास्त्रीय संगीतमा चार वर्ष तालिम लिइन्। स्कूलका कार्यक्रममा गीत र नृत्यमा प्रायः प्रथम हुन्थिन्। खेलकुदमा दौड़िन्थिन्, त्यहाँ पनि प्रथम, दोस्रो हुन्थिन्। अहिले उनी संगीत क्षेत्रमा दौड़ लगाइरहेकी छिन्।

सन् १९९८ मा असम राइफल्समा कार्यरत शशि लामासित वैवाहिक बन्धनमा बाँधिइन्। सानै उमेरमा बिहे भएपछि संगीतको यात्रा यस्तै छ वर्ष रोकिएको सम्झँदै हाँस्छिन्। बिहेपछि असम राइफल्समा हुने फ्यामिली वेलफेयरका कार्यक्रमहरूमा गीत गाउँथिन्। असम राइफल्सको राइजिङ डे कार्यक्रम उनको जीवनको पहिलो ठूलो मञ्च बन्यो, जहाँ उनले असमकी लोकप्रिय गायिका रानी हजारिकाजस्ता कलाकारसँग मञ्च साझा गरिन्। त्यस कार्यक्रममा उनले चर्चित हिन्दी गीत ‘आजा रे परदेशी, मैं तो कब से खड़ी…’ गाएर सबैको मन जितिन्। यसअघि श्रीमानले खासै चासो नदेखाए पनि यही कार्यक्रमपछि उनलाई गाउन प्रोत्साहन दिन थाले।

असमबाट श्रीमान सरुवा भएर शिलोङ पुगे र त्यहाँ चार वर्ष बसेको बताउँदै जुनु भन्छिन्, ‘‘असम राइफल्सको शिलोङ ब्याण्ड सबैभन्दा उत्कृष्ट हुन्थ्यो। फ्यामिली वेलफेयरका कार्यक्रममा यही ब्याण्डले बजाउँथ्यो।’’ त्यहाँ गाउँदा जुनु शिलोङ ब्याण्डको नजरमा परिन् र वर्षेनी हुने ‘बिहु’ कार्यक्रममा उनीहरूकै साथमा गाउन थालिन्। ‘बिहु’ कार्यक्रममा उनले असमेली भाषामा गीत गाउँथिन्। यसरी शिलोङ ब्याण्डसँग गाउँदा उनी गायनमा खारिँदै गइन् र मञ्चको अनुभव पनि बढ़्यो। यही ब्याण्डमार्फत सन् २००९ मा उनले गारो भाषामा पहिलोपटक तीनवटा गीत रेकर्ड गरिन्।

सन् २०१२ मा शिलोङबाट सिलगढ़ी आएपछि कदमतलामा बसाईं शुरु भयो, अहिले उनी परिवारसहित खोपरेल नजिक दीप नगर हाउजिङ सोसाइटीमा बस्छिन्। मदन पुरस्कार विजेता लेखिका झमक कुमारी घिमिरेको पुस्तक ‘जीवन काँड़ा कि फूल’मा आधारित चलचित्रमा पार्श्‍व गायिकाको मौका पाइन्। यसमा उनले प्रकाश शिवाकोटीको शब्द-संगीत रहेको ‘मैले क लेख्न जाने’ र ‘तिमीलाई जस्तै मलाई पनि’ दुईवटा गीत गाएकी छिन्।

‘जीवन काँड़ा कि फूल’ चलचित्रमा गीत गाएपछि उनले नेपाली संगीत संसारमा पहिचान बनाइन्। चलचित्रमा गाउनअघि झमक कुमारी घिमिरेलाई भेट्न निर्देशक बिनोद बिष्ट, मुक्ति बराल, प्रकाश शिवाकोटी र आमासित उनी धनकुटाको कचिड़े गाउँ पुगिन्। त्यहाँ जन्मदेखि नै उभिन, हिँड़्न, बोल्न नसक्ने झमक घिमिरेलाई देख्दा जुनु छक्क परेको बताउँदै भन्छिन्, ‘‘म उनलाई भेट्दा छक्क परेँ, भूइँमा हाँसिरहेकी- दुई खुट्टा जोड़ेर नमस्ते गर्छिन्। हामीले केही बोल्दा उनले खुट्टाले लेखेर जवाब फर्काउने, बोल्न सक्नु हुँदैन- केवल हाँस्छिन् र लेख्छिन्।’’

झमक कुमारी घिमिरेसितको भेटले जुनुलाई नयाँ ऊर्जा र हौसला दियो। ‘‘जीवनमा केही त गर्नुपर्छ, जे पनि गर्न सकिँदो रहेछ र इच्छाशक्ति सबैभन्दा ठूलो रहेछ भन्ने लाग्यो मलाई। मान्छेको जीवनमा सबैभन्दा ठूलो इच्छाशक्ति रहेछ’’, सो भेटघाटलाई उल्लेख गर्दै जुनु भन्छिन्, ‘‘जीवन काँड़ा कि फूल भने जस्तै हामीले आफ्नो जीवनलाई जस्तो सोच्छौं त्यस्तै हुँदो रहेछ। उनलाई भेटेपछि मैले महसुस गरेर आएँ। उनले त प्रश्‍न गरेकी छिन् नि जीवन काँड़ा कि फूल भनेर, तर जीवनलाई काँड़ा सोच्ने कि फूल त्यो हाम्रै सोचाइमाथि निर्भर गर्दो रहेछ।’’

यो चलचित्रमा गाउनअघि एउटा बंगला गीत र नेपाली म्युजिक भिडियोका लागि ‘कानमा आइ खुसुक्कै बोल्नेलाई’ गीत गाइन्। चलचित्रभन्दा पहिला यो गीत रेकर्ड भए पनि पहिला चलचित्र रिलिज भयो। दुई-तीनवटा असमेली गीत पनि रेकर्ड गरेकी छिन्। चलचित्रपछि साहित्यकारहरूसँग उनको सम्पर्क बढ़्यो। उनी भन्छिन्, ‘‘मैले आफ्नो भाषा शैली, बोल्ने र शब्द उच्चारणमा सुधार गर्दै गएँ। मनमा आएका भावनाहरू पोख्दै लेख्ने पनि भएँ।’’ अब उनको एउटा कविता संग्रह प्रकाशनका लागि तयार छ।

दुई दशकको सांगीतिक यात्रामा जुनुले दर्जनौं गीत गाइसकेकी छिन्। उनका गीतहरू युट्युबमा पाइन्छन्। उनले नेपाली संसारकी वरिष्ठ संगीतकार-गीतकार-गायिका शान्ति ठटालसँग गीत गाएकी छिन्, जसको रेकर्डिङ भइसकेको छ- अब निस्किन बाँकी छ। लोकप्रिय गायक दीप श्रेष्ठसित गाएकी ‘रानी महल’ गीतले राम्रो चर्चा पायो। यसबाहेक राजेश पायल राई, स्वरूपराज आचार्य, निशान्त भट्टराईलगायत अन्य कलाकारसँग पनि गाएकी छिन्। संगीतकारहरूमा राजु सिंह, शक्ति बल्लभ, नवीन श्रेष्ठका गीतहरू पनि गाएकी छिन्। उनले तीज र भैलेनी गीतहरू पनि गएकी छिन्।

नेपाली चलचित्रकी लोकप्रिय नायिका करिश्मा मानन्धर को-प्रोड्युसर रहेकी म्यूजिक भिडियोमा ‘एकै पलको माया’ युगल गीत उनले भीम बीसीसित गाएकी छिन्। करिश्मा मानन्धर सरल स्वभावकी प्रेरणादायी रहेको जुनु बताउँछिन्। ‘जीवन काँड़ा कि फूल’ चलचित्रको गीतबाट उनलाई पाँचतारे होटलहरू र राष्ट्रिय नाँचघरजस्ता ठूला मञ्चमा गाउने अवसर मिल्यो। धनकुटाको कार्यक्रममा पनि उनले गाइन्। ‘‘कार्यक्रमहरूमा गीत गाउँदा आफू पनि रोएकी छु अनि अरूलाई पनि रुवाएकी छु मैले’’, उनी भन्छिन्।

‘‘छोराछोरीसितै आफैलाई पनि हुर्काएकी मान्छे म’’, दुई छोरी र एक छोराकी आमा जुनु हाँस्दै भन्छिन्। श्रीमानले धेरै हौसला दिने गरेको उनी बताउँछिन्, ‘‘रेकर्डिङमा जाँदा श्रीमानले यसपाली हिट गीत गाएर आउनु है भन्नुहुन्छ। उनले स्वतन्त्रता दिएका छन्- यस्तो पाउन भाग्य लिएर आउनुपर्छ।’’ जुनुले गीत लेख्छिन् र संगीत कम्पोज गर्छिन्। उनकै शब्द-संगीतमा बनेको ‘साथी मैले तिमीलाई पाएँ’ गीतमा सानी छोरी श्रद्धा लामाले अभिनय गरेकी छिन्। नवीन श्रेष्ठको शब्द, जुनुको संगीतमा असमकी नवोदित गायिका टिंकु देवीले गाएकी छिन्।

‘जीवन काँड़ा कि फूल’सम्म आइपुग्न उनले कड़ा संघर्ष गरिन्। संगीत क्षेत्रमा आफूलाई होच्याउने तिता कुरा पनि सुन्नुपरेको उनी सम्झिन्छिन्। उनी भन्छिन्, ‘‘अहिले मलाई जस्तै परिस्थिति आए पनि केही फरक नपर्ने भएकी छु।’’ उनी घरगृहस्थीमा व्यस्त रहँदै संगीतलाई निरन्तरता दिइरहेकी छिन्। ‘‘यसको लागि राम्रोसित व्यवस्थापन मिलाउनुपर्छ’’, उनी भन्छिन्।

संघर्ष, धैर्य र निरन्तर मेहनतले जुनु गौतमले आफ्नो सांगीतिक यात्रालाई अगाड़ि बढ़ाइरहेकी छन्। पारिवारिक जिम्मेवारीसँगै संगीतप्रतिको उनको समर्पणले देखाउँछ- सपना पूरा गर्न चाहना र लगन भए बाटो आफैं खुल्दै जान्छ। आज पनि उनी नयाँ गीत, सिर्जना र अनुभवमार्फत नेपाली संगीतमा आफ्नो योगदान निरन्तर दिइरहेकी छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ