भाजपाको संकल्प-पत्र अनि भाजपाका वरिष्ठ नेता अमित शाहले दार्जिलिङ पहाड़को जनताको निम्ति दिएको वयानमाथि – विनय तामाङले दिए प्रतिक्रिया भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रिय गृहमन्त्री अमित शाहले हिज मात्रै ” अखण्ड बंगालको एकतालाई अक्षुण्ण राख्दै दार्जीलिङ पहाडको स्थायी राजनैतिक समाधानको आकांक्षा पुरा गर्ने” भनी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । गृहमन्त्रीको यो वयान दार्जीलिङ पहाडका सोझा जनतालाई चुनावको अघि पुनः एकपटक ठग्ने र सत्ताको रोटी सेक्ने कुटिल चाल मात्र हो।एकातिर बंगाल विभाजन हुँदैन भन्ने र अर्कोतिर दार्जीलिङ पहाडको निम्ति स्थायी राजनैतिक समाधान गर्दै जनआकांक्षा पुरा गर्छौं भन्नु विरोधाभासपुर्ण छ। जनताले मागेको स्थायी राजनैतिक समाधान केवल दार्जीलिङ पहाडको निम्ति मात्र होइन – सिलगढी तराई डुवर्स लगायत सम्पुर्ण भारतमा बसोबासो गर्ने सम्पुर्ण जातिको निम्ति हो । आज गोर्खाल्याण्ड भनेर भन्न नसक्नु के वाध्यता छ ? आज बङालभित्र नै स्थायी राजनैतिक समाधान भन्नुमा के अर्थ लुकेको छ ? कतै एउटै म्यानमा दुईवटा तलवारहरू अटाउन खोजेका त होइनन् भाजपाका शीर्ष नेताले ? भाजपाले विगत १७ वर्षदेखि राजनैतिक समाधानको नाममा दार्जीलिङ पहाड तराई डुवर्स अनि गोर्खाजातिलाई झुक्याउँदै आइरहेको छ- हिज संकल्प-पत्र जारी गर्दा अमित शाहको बयानले त्यसलाई पुनः प्रमाणित र पुष्टि गरेको छ। हिजको अमित शाहको वयान संवैधानिक मार्ग हो कि राजनैतिक दाउपेच हो ? गृहमन्त्रीले कुन संवैधानिक मार्ग-को कुरा गरेका हुन् ? यदि भाजपा गोर्खाल्याण्डप्रति इमानदार छ भने संसदमा बिल ल्याउन कसले रोकेको छ ? बंगालको क्षेत्रीय अखण्डताको कुरा गरेर गृहमन्त्रीले दार्जीलिङ पहाडका जनताको भावनामाथि अझ खेलबाड गरिरहेको छ। अमित शाह आफैले कालेम्पोङमा दिएको भाषण यति छीटो विर्सेको ? अमित शाहको विगतमा कालेम्पोङमा दिएको वचन र हिजको वयानमा अन्तद्वन्द स्पष्ट देखिएको छ। यसैले यो केवल चुनाव जित्ने “जुमला” बाहेक अरू केही होइन। भाजपाको संकल्प-पत्र अनि अमित शाहको वयानमा दार्जीलिङ पहाडका भाजपाई नेताहरू अनि भाजपा गठबन्धनका नेताहरू किन मौन छन् ? अमित शाहको यो बयानले पहाडका भाजपा समर्थक र सहयोगी दलहरूलाई ऐना देखाइदिएको छ। अब उनीहरूले यसै चुनावमा जनताको अघि स्पष्ट पार्नुपर्छ कि उनीहरू बंगालभित्रै कै व्यवस्थामा खुम्चिएर बस्न तयार भएका हुन् त् ?
हाम्रो माग र गन्तव्य स्पष्ट छ। हामीलाई अल्मल्याउने भाषा होइन, ठोस कार्य योजना चाहिएको हो। गोर्खा जातिको पहिचान र सुरक्षाका लागि बंगालको भौगोलिक सीमाभन्दा बाहिरको व्यवस्था नै अन्तिम विकल्प हो। अमित शाहको बयानले दार्जीलिङ पहाड तराई डुवर्स अनि गोर्खाको स्वाभिमानलाई चोट पुर्याएको छ। भाजपाले दार्जीलिङ पहाड तराई अनि डुवर्सका जनतालाई सधैं “भोट बैंक” मात्र सम्झेको छ। अब समय आएको छ कि दार्जीलिङका पहाड तराई डुवर्सका जनताले यस्ता भ्रमपूर्ण र जालझेलपुर्ण राजनीतिलाई चिन्नुपर्नेछ। हामीले अब एक स्वरमा एक आवाजमा भन्न नै पर्छ – “बंगालको “एकता र अखण्डता”को नाममा गोर्खा जातिको “अस्तित्व र स्वाभिमान” मेट्न दिने छैनौं।”












