सानो प्रयासबाट गाउँको भविष्य बुन्दै प्रदीप सुब्बा

Authored By: सञ्जय प्रधान  

Share this news

प्राकृतिक सौन्दर्यबीचमा बसेको पश्‍चिम सिक्किमको सोमबारेबाट ४० वर्षीय प्रदीप सुब्बाले चिया खेतीलाई नयाँ उचाइतिर लैजाने प्रयास गरिरहेका छन्। सानो स्तरमा शुरु गरेको चियाबारीलाई उनले आधुनिक सोच, अध्ययन र निरन्तर मेहनतका साथ विस्तार गरिरहेका छन्। ‘व्हाइट क्लाउड सिक्किम अर्ग्यानिक टी’ नामबाट विभिन्न प्रकारका चिया उत्पादन गर्दै उनले गाउँमै रोजगारी सिर्जना गर्ने र आफ्नो ठाउँलाई देश-विदेशमा चिनाउने सपना बोकेका छन्।

 “दृढ संकल्प, लगन र कडा मेहनतका साथ काम गर्नुपर्छ। एकपल्ट दु:ख गरेको छ भने एक दिन न एक दिन सुख पाउँछ, राम्रो भएर जान्छ

बिर्खसिंह सुब्बा र लालमाया लिम्बूका छोरा प्रदीपलाई पहिला चिया खेतीमा खासै रुचि थिएन। सानो हुँदा पेशादारी काममा चासो रहेको उनी बताउँछन्। नाम्ची पब्लिक स्कूलमा पढ़ेपछि उनले १२ कक्षा सोरेङ सिनियर सेकेण्डरी स्कूलबाट पूरा गरे। त्यसपछि दार्जीलिङको सन्त जोसेफ कलेजबाट स्नातक र सिक्किम मणिपाल इन्स्टिच्युट अफ् मेडिकल साइन्सबाट एमएस्सी गरे। बाबुले बीएसएफबाट सेवानिवृत्त भएपछि सोमबारेदेखि माथि थामबोङमा करिब तीन ऐकरमा सन् १९९५ देखि सानो चिया खेती शुरु गरे। प्रदीपको बाल्यकाल पनि सोमबारेकै प्राकृतिक वातावरणमा खेल्दै-कुद्दै थामबोङमा चियाबारीलाई हेर्दै बित्यो। चिया खेतीमा खासै रुचि नभए पनि बाबुले गरेको खेतीलाई उनले नजिकबाट हेरे।

उनी सोमबारे सिनियर सेकेण्डरी स्कूलमा साइन्सका  शिक्षक हुन्। बाबुले सानो रुपमा चिया खेती शुरु गर्दा टिमी चियाबारीबाट विरुवा ल्याएर रोपेको प्रदीप बताउँछन्। बाबुले यसलाई बिस्तारै बढ़ाउँदै तीन ऐकरमा फैलाए र आफैं विरुवाहरू तयार गरे। बाबु केही अस्वस्थ भएपछि अघि बढ़ाउन गाह्रो भयो। खेती मास्सिएर जाने देखेपछि प्रदीप यसलाई विस्तार गर्न अघि आए। सन् २०१६-१७ देखि चिया खेतीको जिम्मेदारी सम्हाल्न शुरू गरेको उनी बताउँछन्। चिया खेतीको ज्ञान उनले बाबुबाट सिके। बाबुले विरुवाहरूबारे धेरै सिकाए। प्रदीपले बाबुले गरेको काम हेरेर धेरै कुरा प्राकृतिक रूपमा सिकिसकेका थिए। उनले सानो स्तरबाट पुनः विस्तार गर्दै अघि बढ़ाए। काम गर्दै जाँदा अनुभव बढ़्दै गएपछि किताबहरू पढ़्दै, इन्टरनेट, युट्युबमा हेर्दै अध्ययन गर्दै घण्टौं समय लगाएर आवश्यक कुराहरू लेखेर राख्न थाले।

‘‘सानो हुँदा चियाको भ्याल्यू थाहा थिएन’’, प्रदीप भन्छन्, ‘‘अलिक ठूलो भएपछि चियापत्तीको व्यवसाय राम्रो देखें। यसबाट आफ्नो गाउँ-ठाउँलाई चिनाउने र रोजगार सिर्जना हुनसक्ने रहेछ भन्ने बुझें।’’ उनी अझ भन्छन्, ‘‘मैले काम गर्दा त्यो मलाई मात्र हुन्छ, र मैले चियाको एउटा सानो उद्योग खोल्दा त्यसमा अरु पनि सहभागी बन्न सक्छन्।’’

अहिले एकातिर शिक्षण पेशाबाट विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेका छन् भने अर्कोतिर चिया खेती उनको जीवनशैली बनेको छ। करिब तीन ऐकरमा शुरू गरेको चिया खेतीमा आफैं विरुवा रोप्दै विस्तार गरी अहिले करिब नौ ऐकरमा फैलाएका छन्। यहाँ उत्पादित चियाको नाम ‘व्हाइट क्लाउड सिक्किम अर्ग्यानिक टी’ राखेका छन्।

राम्रो गुणस्तरीय चिया तयार गर्न सानो मशिन राखेर आफ्नै सानो कारखाना स्थापना गरेका छन्। यो सानो कारखानाबाट उनले आफ्नो गाउँ र सिक्किमको लागि ठूलो सपना देखेका छन्। अहिले ब्ल्याक टी, व्हाइट टी-सिल्भर निड्ल्स, ग्रीन टी, फर्स्ट फ्लश, सेकेण्ड फ्लश, अटम फ्लश, समर फ्लश उत्पादन गर्छन्। यी सबै आकर्षक प्याकेटमा प्याक गरिन्छ। उनका अनुसार मार्चदेखि नोभेम्बरसम्म पत्ती टिप्ने काम हुन्छ। त्यसपछि चियाबारीको व्यवस्थापन गरिन्छ। अहिले उनको चिया खेतीमा करिब १४ जना जोड़िएका छन्।

चिया उद्योगबारे उनले कुनै औपचारिक तालिम लिएका छैनन्। काम गर्दै सिके अनि सिक्किमकै टीमी चियाबारीमा गएर धेरै जानकारी लिए। उनी भन्छन्, ‘‘अझ प्रिमियम बनाउन मैले सिक्नलाई सहयोग मागें। पहिला त ब्ल्याक टी मात्र थियो अहिले नयाँ नयाँ निकाल्न थालेको छु। काम गर्दै जाँदा नवीन सोचहरू आउन थाल्यो।’’

पहिला ब्ल्याक टी निकालिन्थ्यो, प्रदीपले व्हाइट टी-सिल्भर निड्ल्स निकाले। नयाँमा उनले अर्को चिया गुराँससित मिसाएर बनाएका छन्, जसको नाम ‘रोढो ब्ल्याक टी’ राखेका छन्। यसबारेमा उनी भन्छन्, ‘‘यसमा औषधीय फाइदा हुन्छ- यसमा गुराँसमा हुने गुण र ब्ल्याक टीमा हुने गुण आउँछ। मैले औषधीय फाइदाको लागि ब्लेन्ड गरेको हो।’’ उनका अनुसार यसले एन्टी- अक्सिडेन्टको काम साथै पाचन प्रणालीलाई सहयोग गर्छ। उनले लेमन जिन्जर ब्ल्याक टी पाउचमा (टी ब्याग) निकालेका छन्। ‘‘ब्ल्याक टी मात्र खाए औषधीय लाभ पाइन्छ। ग्रीन टीको औषधीय लाभ राम्रो छ’’, उनी भन्छन्।

आफ्नो चिया खेती पूर्ण रुपमा जैविक प्रणाली रहेको प्रदीप बताउँछन्। सन् २००९ मा सिक्किमले जैविक अभियान शुरु गर्न अघि नै उनका बाबुले सन् १९९५ मै चिया खेती जैविक प्रणालीबाट शुरु गरेका थिए। उनी भन्छन्, ‘‘बाबुले त्यति बेला भन्नुहुन्थ्यो- एकदिन अर्ग्यानिकको भ्याल्यू आउँछ है। त्यति बेला हामी सानै थियौं।’’

चिया खेतीलाई विस्तार गर्न थुप्रै चुनौतीहरू सामना गर्नुपर्ने उनी बताउँछन्। यसको व्यवस्थापनको लागि मुख्य रुपमा आर्थिक चुनौती रहेको उनको भनाइ छ। कामदारहरूको कमी अर्को चुनौती रहेको छ। उनी अझ भन्छन्, ‘‘चियाबारीको व्यवस्थापनमा निक्कै चर्को पर्छ, कारण झारपातहरू मार्न केमिकल्सहरू प्रयोग गर्दैनौं। सबै झारहरू हातले काटेर नै सफा गर्नुपर्छ। व्यवस्थापनमा खर्च बढ़ी हुन्छ, तर मूल्य चाहिँ अर्ग्यानिककै जस्तो पाउँदैनौं।’’

उनका चियापत्ती किन्ने ग्राहकहरू सिक्किमभित्रै छन्। वाणिज्य तथा उद्योग विभागले व्यापार विस्तार गर्न बी-टु-बी (एउटा कम्पनीलाई अर्को कम्पनीसँग व्यापारका लागि जोड़्ने) को अवसर दिने गरेको उनी बताउँछन्। सरकारी सहयोगबारे उनी भन्छन्, ‘‘मशिनहरू स्थापित गर्दा एमएसएमईबाट केही सहयोग पाएँ। राज्यको वाणिज्य तथा उद्योग विभागले अवसर दिन्छ- बी-टु-बीका लागि उद्यमीहरूलाई दिल्ली, मुम्बई, कलकता लैजान्छ।’’ यस्तै अवसरमा दिल्लीतिर जाँदा कहिले विदेशी ग्राहक पनि भेट्छन्। ट्रेड फेयरहरूमा ‘व्हाइट क्लाउड सिक्किम अर्ग्यानिक टी’ राख्छन्।

भविष्यमा चिया खेती अझ बढ़ाउने सोचमा छन् प्रदीप। ‘‘माग बढ़े स्थायी कर्मचारी राख्छु, गाउँकाहरूलाई तालिमका लागि पठाएर यसलाई अझ राम्रो बनाउने इच्छा छ’’, उनी भन्छन्। चियाबारीको बीचबीचमा गुराँसहरू रोपेका छन्, जुन फुल्दा त्यहाँको सौन्दर्य मनमोहक हुन्छ। त्यही बाटो भएर जाँदा पर्यटकहरू गाड़ीबाटै रमाउँदै फोटो खिच्छन्।

‘‘उद्यमका लागि आउँदा छोटो अवधिका लागि आएर हुँदैन-पूर्ण रूपमा ध्यान केन्द्रित गर्नुपर्छ। मैले एउटा प्रोडक्ट बनाएर प्याकिङ गरेर बेचें भने मनमा धेरै शान्ति हुन्छ। मलाई मेरो गाउँको नाम पनि राख्नु छ। दृढ़ संकल्प, लगन र कड़ा मेहनतका साथ काम गर्नुपर्छ। एकपल्ट दु:ख गरेको छ भने एक दिन न एक दिन सुख पाउँछ, राम्रो भएर जान्छ’’, नयाँहरूलाई प्रेरित गर्दै प्रदीप भन्छन्।

प्रदीप सुब्बाको चिया खेती केवल व्यवसाय होइन, आफ्नो गाउँको पहिचान र सम्भावनालाई उजागर गर्ने प्रयास पनि हो। लगन, धैर्य र नयाँ सोचका साथ उनले देखाएको बाटोले गाउँमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।

 


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ