Suraj Gajmer music journey Darjeeling
Suraj Gajmer music journey Darjeeling

बाँसुरीको मधुर सुरसँगै बगेको सुरजको सांगीतिक यात्रा

Authored By: सञ्जय प्रधान  

Share this news

दार्जीलिङको सांगीतिक वातावरणमा जब बाँसुरीको मधुर धुन गुञ्जिन्छ, धेरैलाई सहजै सम्झना आउने नाम हो- सुरज गजमेर। आफ्नो संगीतको यात्रामा नेपाली संगीतका हजारभन्दा धेरै गीतहरूमा बाँसुरीको सुर घोल्दै उनले श्रोताको मन मात्र होइन, नेपाली संगीतको धुनमै आफ्नो पहिचान कोरेका छन्। निरन्तर साधना र समर्पणका साथ अघि बढ़ेको उनको यात्रा दार्जीलिङ पहाड़मै बसेर बाँसुरीको संरक्षण र प्रवर्द्धनतर्फ सक्रिय छ।

बाँसुरी सिक्न आए म सिकाउने छु, तर यसको लागि समर्पण हुनुपर्छ अनि पढ्नु पनि पर्छ

स्व० एल बी गजमेर र स्व० पूर्णिमाया गजमेरका छोरा सुरज गजमेर संगीतमय पारिवारिक वातावरणमा हुर्किएका होइनन्। दार्जीलिङको लासा भिल्लामा जन्मिएका सुरज दार्जीलिङकै म्युनिसिपल ब्वाइज हाई स्कूलमा पढ़ेका हुन्। सानैदेखि संगीतमै लाग्ने लक्ष्य थियो। उनी भन्छन्, ‘‘सानो हुँदा पनि मेरो दिमागमा संगीत नै गुन्जिरहेको हुन्थ्यो।’’

सन् १९८३ मा ज्याकी श्रफ र मीनाक्षी शेषाद्रीद्वारा अभिनीत सुपरहिट हिन्दी चलचित्र हिरोको गीत ‘…मौत ना आई तेरी याद क्यों आई हाय लम्बी जुदाईलोकप्रिय बनेको थियो। पाकिस्तानकी लोकप्रिय गायिका रेश्माको स्वरले जसरी सबैको मन छोएको थियो, त्यसैगरी यस गीतमा बजेको बाँसुरीको धुनले सबैको मन छोएको थियो। यही धुनले यस्तै नौ वर्षका कलिला सुरजको मनमा गहिरो प्रभाव पार्‍यो्। त्यसैबाट प्रेरित भएर उनले कलिलै उमेरमा बाँसुरी बजाउन शुरु गरे। आफैं सिक्दै जाँदा गाउँघरका संगीतप्रेमी साथीहरूसँग भेटघाट हुँदै उनी बाँसुरी बजाउन अझ निपुण बन्दै गए। सानै उमेरमा विभिन्न संघ-संस्था र क्लबका सांगीतिक कार्यक्रमहरूमा बाँसुरी बजाउन थाले।

बाँसुरी बजाउँदै सांगीतिक यात्रा अघि बढ़ाउँढ़्दै संगीत प्रतियोगिताहरूमा सहभागी बने। सन् १९९० को प्रारम्भमा आकाशवाणी खरसाङमा बाँसुरी वादक सुदीप च्याटर्जी आउँदा सुरजले उनलाई भेट्न पाएनन्। सुदीप च्याटर्जीसित सिलगढ़ीमा भेट गरे, अनि उनीसित भारतीय शास्त्रीय संगीतमा तीन वर्षको औपचारिक तालिम लिए। औपचारिक तालिम लिनुअघि नै उनी गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङद्वारा आयोजित संगीत प्रतियोगितामा विजयी बनिसकेका थिए। दार्जीलिङका प्रतियोगितामा चियाबारी र गाउँ-बस्तीबाट टोलीहरू आउँथे। त्यस्ता टोलीहरूमा बाँसुरी वादक नहुँदा सुरजले बजाइदिन्थे।

सन् १९८८ तिर सुरज र साथीहरू मिलेर ब्याण्ड सुर सन्ध्याखोलेका थिए। यसमा सुरजले बाँसुरी बजाउँथे भने रुद्रमणिले भायोलिन र किबोर्ड, सुनिल दर्नालले नाल-ढोलक, कमल बराइलीले ड्राम्स-प्याड, जोशन परियारले लिड गिटार, स्व० सुनिल सेवा माइकलले कङ्गो बजाउँथे।

सन् १९९० को शुरुवातमै रबिन छेत्रीको एल्बम क्लासिकका गीतहरूमा सुरजले पहिलोपटक बाँसुरी बजाएर स्टुडियोमा रेकर्ड गरे। सुरजको बाँसुरीको धुनले सबैको ध्यान खिचेपछि प्रमुख बाँसुरी वादकको लहरमा उभिए। प्रायः हरेक गीत रेकर्ड हुँदा उनले बाँसुरी बजाउन थाले। धेरै स्टुडियोहरूमा रेकर्ड हुने गीतहरूमा बाँसुरी वादकका रूपमा उनको माग बढ़्न थाल्यो।

बाँसुरीको धुन गुन्जिँदै जाँदा उनी व्यस्त बाँसुरी वादक बने। दार्जीलिङमा भएको सांगीतिक कार्यक्रममा नेपाली संसारका कालजयी संगीतकार-गायक-गीतकार स्व० अम्बर गुरुङ, वरिष्ठ गायकद्वय फत्तेमान राजभण्डारी र दीप श्रेष्ठका कार्यक्रममा उनले बाँसुरी बजाए। दार्जीलिङका कालजयी गायक स्व० कुमार सुब्बा साथै पेमा लामा, पवन गोले, उदय सोताङ-मनिला सोताङ, कुन्ती मोक्तानका कार्यक्रमहरूमा पनि बजाए। धेरै दिग्गज गायक-गायिकासँग उनले मञ्च साझा गरेका छन्। सन् २००८ मा लोकप्रिय हिन्दी गायक स्व० जुबिन गर्गको असममा भएको लाइभ कार्यक्रममा पनि सुरजले बाँसुरी बजाएका थिए।

पहिलाको रेकर्डिङबारे उनी सम्झिन्छन्- पहिला रेकर्डिङ गर्दा गायक-गायिका र वाद्यवादक सबै सँगै हुन्थे, भेटघाट हुन्थ्यो र पारिवारिक वातावरण बन्थ्यो। तर प्रविधिको द्रुत विकासले हिजोआज त्यस्तो हुँदैन। हिजोआज एकजना गायकले संसारको कुनै पनि कुनाबाट गीत गाएर स्टुडियोमा पठाउन सक्छन्, र त्यस्तै कुनै वाद्यवादकले बाँसुरी वा भायोलिन बजाएर रेकर्ड गरेर पठाउन सक्छन्। यसरी नै सुरजले बलिवुडका लोकप्रिय गायिका अल्का याग्निक, कविता कृष्णमूर्ति र शानका गीतमा बाँसुरी बजाएका छन्। अहिलेको प्रविधिका कारण उनीहरूसित सुरजको भेट भएन।

सुरज भन्छन्, ‘‘पहिला रेकर्डिङ गर्दा सबै सँगै हुन्थे। बीचमा केही बिग्रिए फेरि शुरुदेखि टेक वान, टेक टु हुन्थ्यो। हिजोआज त्यस्तो हुँदैन, एउटाले अर्कोलाई देख्दैन पनि भेट पनि हुँदैन। आफू गएर ट्रयाकमा बजाएपछि सकिहाल्छ। अनलाइन गर्दा पनि हुन्छ। पहिलाको जस्तो रमाइलो पारिवारिक सम्बन्ध भने हुँदैन।’’

सुरज गजमेरले आफ्नो सांगीतिक यात्रामा हजारभन्दा धेरै गीतहरूमा बाँसुरी बजाएका छन्। कयौं गीत, भजन, ईसाई भजनहरूमा बाँसुरीको सुरिलो धुन दिएका छन्। धेरै गायक-गायिकाहरूका गीत र भजनहरूमा उनले बजाएका छन्, ती सबैका नाम यहाँ उल्लेख गर्न छुट्टै सूची नै बन्नसक्छ। दार्जीलिङ पहाड़, सिक्किम, सिलगढ़ीका स्टुडियोहरूमा साथै काठमाड़ौंमा नेपाली संसारका कालजयी संगीतकार-गीतकार-गायक स्व० गोपाल योञ्जनको स्टुडियोमा पनि रेकर्ड गरिसकेका छन्।

दुई दशकअघि सिक्किमको एसके अडियो भिजनको निर्माणमा सुरजको बाँसुरीको धुन मात्र भएको क्यासेट एल्बम गहिरो गहिरो सागर जस्तैनिस्किएको छ। यसमा आठवटा लोकप्रिय नेपाली गीतहरूलाई बाँसुरीको धुनमा प्रस्तुत गरेका छन्। सन् २०१७ मा आकाशवाणी खरसाङद्वारा पहिलोपटक आयोजित लोकगीत प्रतियोगितामा उनी बाँसुरी वादक थिए। यसमा उनको बाँसुरीले धमनीकै काम गरेको थियो। हाल उनी जीटीएको सूचना तथा सांस्कृतिक विभागमा बाँसुरी वादकका रूपमा कार्यरत छन्।

चार दशककै हाराहारीमा पुगेको सांगीतिक यात्रामा उनले थुप्रै तितामिठा अनुभव बटुलेका छन्। अन्य बाजाहरूको तुलनामा दार्जीलिङमा बाँसुरी बजाउनेहरूको संख्या धेरै छैन। उनी भन्छन्, ‘‘बाँसुरी सिक्न आए म सिकाउने छु, तर यसको लागि समर्पण हुनुपर्छ अनि पढ़्नु पनि पर्छ।’’ यसलाई पनि करियरको रूपमा अप्नाउन सकिन्छ भन्ने उनको भनाइ छ।

हिजोआज प्रविधिको विकासले एउटै कि-बोर्डबाट बाँसुरी, गिटार, भायोलिनलगायत थुप्रै बाजाहरूको आवाज निस्किन्छ। यसले बाँसुरीजस्ता मूल बाजालाई असर पर्छ कि पर्दैन? उनी भन्छन्, ‘‘डिजिटल र ओरिजिनल श्रोताको कानमा लागिहाल्छ। मूल बाजालाई जित्ने हुँदैन।’’

बाँसका, स्टील (कि भएको)का अनि चिनियाँ बाँसुरीहरू उनी बजाउँछन्। पच्चीस वर्षदेखि उनी हिमाली भेकको चर्चित ब्याण्ड कार्निभलसित संलग्न छन्। उनी आकाशवाणी खरसाङका बी ग्रेडपास गरेका बाँसुरी वादक हुन्। दार्जीलिङ पहाड़, सिलगढ़ी, सिक्किम, कलकता, मुम्बई, राजस्थान, असम, भुटान, नेपालका कार्यक्रमहरूमा उनले प्रस्तुति दिइसकेका छन्।

सुरजले बाँसुरी लोक आधुनिकमा मात्र होइन दार्जीलिङ पहाड़का पप र रक ब्याण्डहरू रिइन्कार्नेशन, मन्त्र, चक्रसित पनि बजाए। उनले पपमा आधारित संगीत कम्पोज गर्छन्, तर अहिले रेकर्ड गर्ने हतारमा छैनन्। उनले दार्जीलिङलगायत विभिन्न ठाउँका धेरै संगीतकारहरूसित काम गरिसकेका छन्।

सुरज गजमेरको बाँसुरीले नेपाली संगीतलाई सुरिलो बनाइरहेको छ। दार्जीलिङ पहाड़मै बसेर उनले बाँसुरीको संरक्षण र नयाँ पुस्तालाई प्रेरणा दिने काम गरिरहेका छन्। उनका मधुर सुरहरू संगीतप्रेमीहरूको मनमा सधैं गुन्जिरहनेछन्।

 


Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ